०६ साउन २०८३, बुधबार

जेठो केन्द्रमा दिनभर ध्यान साधना

कात्तिक २०, २०७४
जेठो केन्द्रमा दिनभर ध्यान साधना

काठमाडौं, ३१ असार - जीवन योग प्रयोगशाला कोटेश्वर केन्द्रमा शनिबार दिनभर एकदिने ध्यान साधना कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षकहरु दुर्गा मगर, देवनाथ सिंह, वीरबहादुर कार्की र अमृतेन्दु कर्णले सञ्चालन गरेको कार्यक्रममा ५० जनाभन्दा बढी साधक सहभागी थिए ।

प्रशिक्षक देवनाथ सिंहले भने, ‘रमेश नेपाल र एल पि भानु शर्मा गुरुदेवहरुका साथै ईश्वरको कृपाले कोटेश्वर केन्द्रमा पहिलोपटक दिनभरको कार्यक्रम गर्न पाएका छौं । कोटेश्वर महादेवको पावन भूमिको सान्निध्यमा दिनभर साधना गराउन सक्ने प्रबल शक्ति र आशीर्वाद गुरुदेवहरुबाट लिएर कार्यक्रम थालेका हौं ।’

सिंहले मनमा खुसी कहाँबाट आउँछ भन्ने रोचक चर्चा गर्दै कुनै चीजवस्तुलाई देखेर नभई खुसी आफैंभित्र हुने र ध्यानबाट खुसी सदाका लागि उजागर गर्न सकिने सोदाहरण अनुभव प्रस्तुत गरेका थिए ।

त्यस्तै, अर्का प्रशिक्षक वीरबहादुर कार्कीले हामीले जे सोच्छौं, जे बोल्छौं र जे गर्छौं ती सबै कर्म हुने भन्दै सोच पनि सकारात्मक राख्न साधकहरुलाई प्रेरणा दिए ।

जे सोच्छौं, त्यसको प्रभाव कर्ममा पनि पर्ने भन्दै खराब सोच पनि खराब कर्म गर्नुजस्तै खतरनाक हुने उल्लेख गर्दै उनले मनसा, वाचा, कर्मणा सदा जीवनमा सकारात्मक नै रहँदा फल पनि सकारात्मकै प्राप्ति हुने उल्लेख गरे ।

अरुलाई परिवर्तन गर्ने सामथ्र्य हाम्रो हातमा नरहेको भन्दै प्रशिक्षक कार्कीले साधनाबाट आफू भने सकारात्मक रुपमा परिवर्तन हुन सकिने बताए । यसैगरी, प्रशिक्षक अमृतेन्दु कर्णले जीवन विज्ञानमा वीज प्राणायाम अर्थात् लामो र गहिरो श्वासको ठूलो महत्व रहेको उल्लेख गर्दै यसबाट शरीरका सातै चक्रको साधना हुने चर्चा गरे ।

वेदादि शास्त्र पढ्नु महत्वपूर्ण रहेको भन्दै उनले त्योभन्दा पनि बढी आफूलाई पढ्नु महत्वपूर्ण हुने उल्लेख गर्दै साधनाबाट आफैंलाई पढ्न थालेपछि आफू पृथ्वीमा किन आएको रहेछु भन्ने कारण थाहा हुनुका साथै बाहिरी रुपमा बल र भित्रबाट पूरै शान्ति र आनन्द आउने उल्लेख गरेका थिए । त्यसैले जे खोज्नु छ आफैंभित्र खोज्न पनि साधकहरुलाई उनले प्रेरणा दिए ।

अध्यात्मका विषयमा केही समय साधकहरुसँग ऊहापोह गरेका कर्णले उपनिषद्हरु पनि सन्तहरुका बीचको अन्तर्संवादबाटै बनेको प्रकाश पारेका थिए । त्यस्तै, प्रशिक्षक दुर्गा मगरले संसारका सबै वस्तु चलायमान रहेको उल्लेख गर्दै हामीभित्र रहेका सकारात्मक, नकारात्मक भावहरुलाई साक्षी रुपमा हेर्नु ध्यान रहेको उल्लेख गरे ।

उनले ध्यानी मान्छे चलायमान र मिहिनेती हुने पनि स्पष्ट गरे । साधनाबाट रोग निको हुनु त सामान्य विषय मात्रै भएको उल्लेख गर्दै उनले ऊर्जावान् हुनु ठूलो कुरा भएको भन्दै व्यक्ति साधनाबाट ऊर्जावान् हुन सक्यो भने उसमा देशलाई मात्र नभएर विश्वलाई नै प्रकाशित गर्न सक्ने क्षमता आउने बताएका थिए ।

प्रशिक्षक मगरले दिनभर साधनामा सहभागी साधकहरुका साथै सहकर्मी प्रशिक्षकलाई धन्यवाद र बधाई दिँदै दिनभरको ध्यान साधना सद्गुरुदेवद्वय रमेश नेपाल र भानु शर्माको असीम कृपाकै कारण निर्विघ्न र उत्साहजनक रुपमा सम्पन्न भएको चर्चा गरे । साथै, उनले पहिलो पटकको साधनामै धेरै संख्यामा साधकहरु उपस्थित भएकोमा आफू ज्यादै हर्षित भएको पनि बताए ।

शरीरभित्र आउँदै जाँदै गर्ने श्वासको सदा खूब–खूब याद गर्न साधकहरुलाई प्रेरणा दिएका उनले छिट्टै नै कोटेश्वर केन्द्रले उद्यमशीलतालगायत विभिन्न विषयमा नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिएका थिए । सबै प्रशिक्षकहरुले विभिन्न आसन, प्राणायाम र ध्यानका विधिहरुका साथै गीत र नृत्यको समेत प्रयोग गरी साधकहरुलाई खुसी र आनन्दित तुल्याएका थिए ।

दिनभरको ध्यानसाधनाबाट लाभान्वित भएका साधकहरुले दिन बितेको पत्तै नपाएको अनुभव सुनाएका थिए । साधनाबाट लाभाविन्त भएका साधकहरुमध्ये जयआमा, मञ्जिल सापकोटा, दीपक न्यौपाने, अनिता पन्त, प्रकाश रेग्मी, कैलाश श्रेष्ठ, कमला लामिछानेलगायतले आ–आफ्ना अनुभव सुनाएका थिए । स्मरणीय छ, जीवन योग प्रयोगशाला कोटेश्वर केन्द्र ‘जीवन विज्ञान प्रतिष्ठान’कै सबैभन्दा जेठो शाखा हो ।

salt training

कमेन्ट गर्नुहोस्