०६ साउन २०८३, बुधबार

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान शुरू गर्ने तयारी

साउन ६, २०८३
काठमाडौं
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान शुरू गर्ने तयारी

दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच आज मन्त्रालयमा विस्तृत छलफल भएको छ।

दाइजो प्रथाविरुद्धको राष्ट्रिय जनचेतना अभियान मधेश प्रदेशबाट प्रारम्भ गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने सहमति भएको छ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह तथा नागरिक समाजको सक्रिय सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।

मन्त्री सीता बादीले दाइजो प्रथा केवल कानूनी नभई सामाजिक चुनौती भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम तथा समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन् । उनले कानूनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा व्यवहारगत परिवर्तन ल्याउने अभियानलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने बताइन् ।

उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट शुरू हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको बताइन् ।

भेटका क्रममा दाइजो प्रथा अन्त्यका लागि कानूनी व्यवस्था थप प्रभावकारी बनाउने, जनचेतनामूलक अभियानलाई संस्थागत रूपमा अघि बढाउने तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

दाइजोमुक्त नेपाल निर्माणतर्फको साझा राष्ट्रिय अभियानका रूपमा यस पहललाई अघि बढाउने विषयमा दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्