२० असार २०८३, शनिबार
स्थानीय चुनाव

बधाई छ थपलिया, धन्यवाद देउवा !

‘चुनावमा कसैको जीतहार होला, तर लोकतन्त्रको विजय भएको छ’
बैशाख ३०, २०७९
काठमाडौं
बधाई छ थपलिया, धन्यवाद देउवा !

तमाम अन्योल र आशंकाबीच शुक्रवार स्थानीय तह निर्वाचनको मतदान सम्पन्न भएको छ । एकाध ठाउँमा भएका झडपबाहेक प्रायः मतदान शान्तिपूर्ण भएको छ । 

प्रचण्ड गर्मी र झरीको पर्वाह नगरी मतदाताले आफ्नो विवेकको मत बाकसमा खसालेका छन् । 

मतपेटिकालाई गणनास्थलसम्म सुरक्षित ढंगले पुर्‍याउने र मतगणना सम्पन्न गरेर निर्वाचितलाई प्रमाणपत्र दिएपछि निर्वाचन प्रक्रिया सम्पन्न हुनेछ । 

स्थानीय तहको निर्वाचन समयमा हुने नहुनेमा कयौं आशंका थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आजसम्म पनि ठट्टा चलेको थियो । मतदान गरेपछि देउवाले ठट्टा गर्दै भनेका थिए, ‘चुनाव हुँदैन भनेर आशंका गर्ने ओलीले पनि भोट हाल्नुभयो होला !’ जवाफमा ओलीले भनेका छन्, ‘देउवाले वैशाख ९ गतेसम्म पनि चुनाव सार्न प्रस्ताव गर्नुभएको थियो ।’

सत्ता गठबन्धनकै कतिपय दलहरू स्थानीय चुनावभन्दा पहिला प्रतिनिधि सभा निर्वाचन गर्ने अडानमा थिए । तर गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव पहिला गर्ने अडान लिए । यसमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडान पनि सहायक रह्यो । सरकारले चुनावको मिति घोषणा गर्‍यो, निर्वाचन आयोगले तयारी पूरा गर्‍यो र शुक्रवार मतदान सम्पन्न भयो । 

गत माघ २४ गते सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्दा धेरैले निर्वाचन हुनेमा सन्देह व्यक्त गरेका थिए । मिति घोषणा भएपछि पनि अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) प्रकरणले चुनावमा सन्देह पैदा गरेको थियो । तर, एमसीसीको भाँजोमा चुनाव परेन ।

निर्वाचन आयोगले चुनावको तयारी सम्पन्न गर्ने बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफूलाई चुनावमा सहभागी गराउन सरकारसँग आग्रह गरेको थियो । विप्लवलाई सहभागी गराउने नाममा चुनाव टार्न खोजिएको भनेर विपक्षी दलले आशंका गरेका थिए । जे होस्, चुनाव सार्ने षडयन्त्रको कारक विप्लव बनेनन् ।  

देउवा उत्तीर्ण भएको दोस्रो परीक्षा

वि.सं. २०५९ सालमा चुनाव गराउन नसकेको भन्दै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले अक्षम घोषणा गरी अपदस्थ गरेका थिए ।

२०५९ सालमा शुरू भएको प्रतिगमनको शृङ्खलालाई निरन्तरता दिँदै २०६१ सालमा फेरि एकपटक देउवालाई अपदस्थ गरेर राजाले प्रत्यक्ष शासन शुरू गरे ।

दरबारले अक्षम घोषणा गरेको दुई दशक बितिसक्दा समेत देउवामाथि ‘प्रजातन्त्र दरबारमा बुझाएको’ र चुनाव गराउन अक्षम रहेको भन्ने आरोप लाग्ने गरेको छ । देउवालाई अक्षम घोषणा गर्ने राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको पनि डेढ दशक पूरा भएको छ । त्यो बेला अर्को कोही बहादुर भएको भए पनि चुनाव गराउने परिस्थिति थिएन, किन्तु देउवामाथि आरोप लगाउने गरिएको छ । 

चुनाव गराउन अक्षम रहेको भन्ने आरोप देउवाले २०७४ सालमै खण्डन गरिसकेका हुन्, प्रतिनिधि सभा निर्वाचन गराएर । सत्तासाझेदार माओवादी केन्द्रले ‘छापामार शैली’मा एमालेसँग तालमेल गरेको अवस्थामा कांग्रेसले चुनावमा हार्छ भन्ने जान्दाजान्दै देउवाले चुनाव गराएर लोकतन्त्रलाई ट्र्याकमा ल्याउन भूमिका खेलेका थिए । पार्टीलाई हराएर भए पनि देशलाई अगाडि बढाएका थिए, देउवाले ।

त्यही सर्वस्वीकार्य नेतृत्वका कारण आफैँले ५ वर्ष प्रतिपक्षमा बस्छु भनेको दल कांग्रेसले फेरि सरकारको नेतृत्व गर्ने र संविधान कार्यान्वयन गर्ने अवसर पायो । सरकारमा गएर उत्कृष्ट पफर्मेन्स देखाउन नसके पनि स्थानीय तहको चुनाव सम्पन्न गरेर देउवाले लोकतन्त्रलाई चलायमान बनाएका छन् । ‘चुनाव गराउन अक्षम’ भनेर लागेको आरोप देउवाले व्यवहारबाटै खण्डन गरेका छन् । संविधान कार्यान्वयन गर्न खेलेको भूमिकाप्रति प्रधानमन्त्री देउवालाई धन्यवाद भन्नैपर्छ । 

स्थानीय निर्वाचनको सफलतापछि अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पनि समयमै सम्पन्न गर्नु सरकारको दायित्व हुनेछ । तोकिएको समय अर्थात् आगामी मंसिरसम्ममा प्रतिनिधि सभाको निर्वाचन गराउने कुरामा देउवाले सम्झौता गर्ने छैनन् भन्ने अपेक्षा राखौं । 

बधाई थपलिया

प्रमुख निर्वाचन आयुक्त बन्नुअघि दिनेश थपलियाले निजामती प्रशासनमा एक अब्बल प्रशासकको परिचय बनाएका थिए । प्रमुख निर्वाचन आयुक्तको भूमिकामा स्थानीय तहको निर्वाचन उनका लागि परीक्षाको विषय थियो । रेफ्री सक्षम भएन भने खेल फेयर हुँदैनथ्यो । राम्रो गीतकार समेत रहेका थपलिया आफ्नो तेस्रो परिचयमा समेत कुशल देखिएका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराएर थपलियाले आफूलाई निर्वाचन आयुक्तहरूमध्ये अब्बलको सूचीमा समावेश गरेका छन् । आचारसंहिता उल्लंघनमा पूर्वप्रधानमन्त्री समेतलाई स्पष्टीकरण सोधेर आयोगले अडान राखेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न गराएर थपलिया लगायतको टीमले राष्ट्रप्रति गुन लगाएको छ । चुनाव सम्पन्न गराएकोमा उनलाई बधाई दिनैपर्छ ।

दलको जीतहार, लोकतन्त्रको विजय !

मतदाताले प्रयोग गरेको विवेकको मतको गणना अबको केहीबेरमा शुरू हुँदैछ । दलीय व्यवस्था र प्रतिस्पर्धात्मक चुनावमा जीतहार स्वाभाविक हुन्छ । आजको चुनावमा कुनै दलले जित्ला या हार्ला बेग्लै कुरा हो, देश र लोकतन्त्र विजयी भएको छ । 

राम्रो काम गरेको दललाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित गरेर मतदाताले आफ्नो मत प्रकट गरेका छन् । यो जनमतलाई आधार बनाएर दलहरूले भविष्यमा आफूलाई सुधार्दै राम्रो काम गर्ने अपेक्षा गरौं । 

चुनावमा सक्रियतापूर्वक सहभागी हुने दलहरू तथा मतदाता र यसलाई सुरक्षित एवं उल्लासमय वातावरणमा सम्पन्न गराउन भूमिका खेल्ने कर्मचारीहरू, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू पनि धन्यवादका पात्र छन् ।

salt training

कमेन्ट गर्नुहोस्