
आज (शुक्रवार) भएको स्थानीय निर्वाचन अन्तर्गतको हेटौंडा उपमहानगरपालिकाको निर्वाचनको मतगणना शुरू आजै रातिबाट हुने भएको छ ।
कुल १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेको उपमहानगरमा १९ वटा वडा रहेको छ । उपमहानगरको कुल मतदाता संख्याको अनुमानित ६५ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
उनले भने ‘सबै वडाहरूबाट क्रमश मतपेटिका आउने क्रम जारी छ ।’
सबै मतपेटिका आइसकेपछि मात्र मतदान भएको संख्या यकिन हुने बताए । त्यस्तै आजै राति करिब १०–११ बजेबाट हेटौंडा २ स्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालयमा मतगणना शुरू गर्ने तयारी रहेको समेत उनले बताए ।
बागमती प्रदेशको एक मात्र उपमहानगरको नेतृत्वको लागि मुख्यतया ३ पक्षीय भिडन्त रहेको छ ।
केन्द्रीय गठबन्धन दलका नेतृत्वको सहमति अनुसार गठबन्धन दलले उपमहानगरको नेतृत्वको लागि नेकपा (एकीकृत समाजवादी) तर्फबाट मेयरमा मिना लामा र कांग्रेसको तर्फबाट उपमेयरमा राजेश बानियाँ चुनावी मैदानमा रहेका छन् ।
यस्तै नेकपा एमालेको तर्फबाट मेयरमा पूर्व संविधान सभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले चुनावी मैदानमा रहेका छन् । त्यस्तै राप्रपाको पनि मेयरमा दिपकबहादुर सिंह र उपमेयरमा इन्दिरा डल्लाकोटी चुनावी मैदानमा रहेका छन् ।
विगतमा भएका निर्वाचनलाई फर्केर हेर्दा नेकपा एमालेले २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुई वटा निर्वाचन २०४९ र २०५४ सालमा विजयी भएको थियो ।
राज्य संघीयता आएसँगै २०७४ मा भएको पहिलो निर्वाचनमा पनि एमाले विजयी भएको थियो ।
गत स्थानीय निर्वाचनमा उपमहानगरको १९ वडाहरू मध्ये १२ वटा वडामा एमाले विजयी भएको थियो ।
नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र २ वटा वडामा विजयी भएको थियो ।
त्यसैले पनि नेकपा एमालेले आफनो विरासतलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा होमिएको थियो ।
उता सत्तारुढ गठबन्धन दल नेकपा एमालेको किल्लाको रुपमा रहेको उपमहानगरलाई भत्काउने रणनीतिका साथ अघि बढेको थियो ।
त्यस्तै यो पटक राप्रपाले पनि गठबन्धनमा भएको बेमेलको फाइदा उठाउने रणनीतिका साथ चुनावी मैदानमा होमिएको छ ।