१३ असार २०८३, शनिबार

विराटनगरमा मेयरमा ३१ र उपमेयरमा ४४ प्रतिशत मत बदर

जेठ २, २०७९
विराटनगरमा मेयरमा ३१ र उपमेयरमा ४४ प्रतिशत मत बदर

विराटनगर/ विराटनगरमा मत बदर अघिल्लो चुनावमा जस्तै देखिएको  छ  । 

 अघिल्लो निर्वाचनमा २४ दशमलव ०७ प्रतिशत मत बदर भएको विराटनगरमा अहिले जारी मतगणनामा मेयर पदमा  ३१ दशमलव ४८ प्रतिशत र उपमेयरको ४४ दशमलव १२ प्रतिशत मत बदर भएको छ । 

 महानगरमा सोमवार दिउँसो २ बजेसम्म १६ हजार ३ सय ४४ मत गणना हुँदा मेयर पदमा ५ हजार १ सय ४६ र उपमेयर पदमा ७ हजार २ सय ११ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । 

मेयर पदमा बदर भएको सबैभन्दा बढी मत विराटनगरको १७ नम्बर वडामा रहेको छ  ।

विराटनगर १७ मा मेयर पदमा १ हजार ७ सय १ मत, विराटनगर १ मा ५५४ मत, २ मा ३०१ मत, १६ मा ७५६ मत, १८ मा ९८१ र १९ वडामा ८५३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै उपमेयर पदमा पनि विराटनगर १७ मा सबैभन्दा बढी मत बदर भएको छ । १७ मा १ हजार ७ सय ६१, विराटनगर १ मा ९५६,  विराटनगर २ मा ५३५, विराटनगर १६ मा १ हजार १ सय २, विराटनगर १८ मा १ हजार ३ सय १६ र विराटनगर १९ मा १ हजार ५ सय ३८ मत बदर भएको छ  । 

सोमवार विराटनगर महानगरपालिकाको १६, १७ र १९ वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । विराटनगर १६ मा वडाअध्यक्ष पदमा  २६७ मत, १७ मा २५४ र विराटनगर १९ नं. वडामा ३ सय ८ मत बदर भएको सूचना अधिकारी बुढाथोकीले बताए ।

महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १ सय ४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात ८९ हजार ६ सय ७८ मत खसेको छ ।

अघिल्लो निर्वाचनमा महानगरमा रहेको कुल मतदाता १ लाख १३ हजार ७ सय ६१ मध्ये ८० हजार ६ सय ८९ मत खसेको थियो । त्यसमध्ये १९ हजार ४ सय १९ मत बदर भएको थियो ।

महानगरको मेयरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा, राप्रपाका प्रह्लाद साह, जसपा परित्याग गरी स्वतन्त्रबाट उमेश यादवलगायत १३ जना उम्मेदवार उठेका छन् । 

उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादव, एमालेकी शिल्पा निराला कार्की, राप्रपाकी बिन्दा लुइँटेल आचार्य, स्वतन्त्रमा माओवादी केन्द्रकी नमिता न्यौपाने, कांग्रेसकी गंगा सुवेदीलगायत १४ जना उम्मेदवार छन् । 

गठबन्धनमा मतबदरको सख्या बढि रहेको छ । उम्मेदवार नभएको पदमा समेत धेरै मत परेको छ । विराटनगरमा कांग्रेसको उपमेयर, जसपको मेयर माओवादी तथा एकीकृत समाजवादीमा मेयर उपमेयर छैनन् ।

मेयरमा र उपमेयरमा फरक फरक पाटीका भएकाले भोट सुरक्षित गर्नका लागि समेत कार्यकर्तालाई उनीहरुले आ आफ्नै पाटीमा भोट हाल्न लगाएको गठबन्धन भित्र नै गुनासो छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रदेश १ स्थित १४ जिल्लास्थित १३७ पालिकामा ६ दशमलव ४४ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।

अघिल्लो निर्वाचनमा यस प्रदेशस्थित १३७ पालिकामा कुल २६ लाख ६५ हजार ८३३ मतदातामध्ये १९ लाख २० हजार ९०८ जनाले मतदान गरेका थिए ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा यस प्रदेशस्थित १४ जिल्लामध्ये सबभन्दा बढी भोजपुरमा १३ दशमलव १२ प्रतिशत र सबभन्दा कम ताप्लेजुङमा १ दशमलव १६ प्रतिशत मत बदर भएको थियो ।

यस प्रदेशस्थित १३७ पालिकामध्ये सबभन्दा बढी मोरङको विराटनगर महानगरमा २४ दशमलव ०७ प्रतिशत र सबभन्दा कम ताप्लेजुङको फुङलिङ नगरपालिकामा ०.२२ प्रतिशत मत बदर भएको आयोगको तथ्यांकले जनाएको छ ।

यसपटकको स्थानीय तहको निर्वाचनका लागि सात वटै प्रदेशमध्ये सबभन्दा बढी ३३ लाख ४७ हजार ३८४ मतदाता रहेको प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगरपालिका, ८८ गाउँपालिका र १ हजार १५७ वडा छन् ।

salt training

कमेन्ट गर्नुहोस्