
नेकपा एमालेविरुद्ध सत्तारूढ गठबन्धनका जिल्ला तहका नेताहरूले अर्घाखाँचीमा तीनै तहको निर्वाचनमा तालमेल गर्ने घोषणा सबैभन्दा पहिला गरे । केन्द्रमा गठबन्धनको सहमति नहुँदै अर्घाखाँचीमा तालमेलबारे घोषणा भइसकेको थियो ।
३ नगरपालिकासहित ६ स्थानीय तह रहेको अर्घाखाँचीमा आफ्ना उम्मेदवारलाई जिताउन नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी जिल्लामै खटिए, उनले दौडधुप बढाए ।
रायमाझीको दौडधुप र खटाइले जिल्लामा एमालेको साख जोगाएको एमाले नेताहरू बताउँछन् । देशभर एमाले कमजोर हुँदा अर्घाखाँचीमा शक्ति आर्जन गरेसँगै टोपबहादुरको चर्चा बढेको छ ।
यसअघि एउटा पालिका मात्र जितेको एमालेले अर्घाखाँचीमा कांग्रेसको किल्ला भत्काउँदै ३ पालिकामा जीत निकालेर एमालेलाई पहिलो शक्ति बनाएको छ । ५ दलीय गठबन्धनको घेराबन्दी, पार्टी विभाजनको मनोविज्ञानका बाबजुत स्थानीय तह निर्वाचनमा एमाले अर्घाखाँचीले ल्याएको जनमत टोपबहादुर सहितका नेताहरूको दृढ र प्रभावकारी नेतृत्वको कारण सम्भव भएको एमाले जिल्ला तहका नेताहरू बुझाइ छ ।
कांग्रेसले आफ्नो आधार क्षेत्र भन्दै आएको सन्धिखर्क नगरपालिका समेत एमालेले खोसेको छ । एमालेले जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा प्रमुख/उपप्रमुख, मालारानीमा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र पाणिनी गाउँपालिकामा पनि अध्यक्ष/उपाध्यक्षमा जीत निकाल्यो । त्यसका अलाबा छत्रदेव गाउँपालिकामा उपाध्यक्ष र सितगंगा नगरपालिकामा उपप्रमुखमा जीत निकाल्दा गठबन्धन तर्सिएको छ । ६१ वडा रहेको जिल्लामा एमालेले ३३ वटामा जीत निकाल्यो ।
नेकपा माओवादी केन्द्र छाडेर १ वर्षअघि एमाले रोजेका रायमाझीले जिल्लामा एमालेलाई मुख्य शक्तिकेन्द्रको रूपमा स्थापित गर्दा गठबन्धन असफल भएको भन्दै जिल्लाका नेताहरूले राजीनामा दिएका छन् ।
कांग्रेस लुम्बिनी प्रदेश सचिव समेत रहेका अर्घाखाँचीका नेता विष्णु मुस्कान र कांग्रेस पाणिनी गाउँपालिका सभापति धर्मराज घिमिरेले पार्टीका उम्मेदवार असफल बनाउन पार्टीबाट उल्टो खेल रचिएको भन्दै राजीनामा दिएका छन् ।
बलियो संगठनिक संरचना र जिल्लाको समग्र विकासको अगुवा एमाले रहेकाले एमालेले जिल्लामा बलियो जीत निकालेको सन्धिखर्कका मेयर कृष्णप्रसाद श्रेष्ठले बताउँछन् । ‘निस्वार्थ जनताको सारथि एमाले हो । यो गठबन्धनका त झण्डा एकातिर कार्यकर्ता अर्कोतिर छन् । यसले केही अर्थ राख्दैन,’ श्रेष्ठले भने ।
जिल्लाका एमालेका अर्का नेता तथा पूर्व पत्रकार सहयोगी बिसीले टिकट वितरणमा सुझबुझ अपनाउँदै निर्वाचनको बेला कार्यकर्ताको लोभलाग्दो सक्रियताले एमालेले सफल रूपमा चुनाव जितेको बताए । जिल्लाबाट रायमाझीले ३ पटक लगातार निर्वाचन जितेर ‘ह्याट्रिक’ गरेका छन् । उनले २०६४, २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जितेका थिए ।
अर्घाखाँची कांग्रेस सभापति केशव श्रेष्ठले गठनबन्धनमा अन्तर्घात हुँदा कांग्रेसले ठूलो पराजय भोग्नुपरेको बताए । ‘अहिलेको मत परिणाम हेर्दा जनताले परिवर्तन खोजेको जस्तो देखियो तर हामीले केन्द्रमा गठबन्धन नहुँदै जिल्लामा तालमेल गर्ने सहमति हुँदा पनि यति ठूलो पराजय भोग्नु ठूलो त्रुटि हो । यसको निर्मम समीक्षा हुन्छ,’ सभापति श्रेष्ठले भने ।
श्रेष्ठले थपे, ‘केही पालिकामा हाम्रा साथीहरूले उम्मेदवारलाई नै हलुवा बनाइदिने काम गरे । जसले गर्दा एमालेभन्दा बलियो भएको ठाउँमा पनि पराजय भोग्नुपर्ने अवस्था आयो । ल भन्नुस् पार्टीभित्रबाटै यो त कमजोर उम्मेदवार हो भन्नेपछि कसरी जित्न सक्छन् त ?’ अहिलको पराजयलाई कांग्रेसले साख गुमाएको अर्थमा लिन नहुने सभापति श्रेष्ठको भनाइ छ ।
नेकपा माओवादी केन्द्र अर्घाखाँचीका सहइन्चार्ज ठाकुर विकले आन्तरिक अन्तर्घातका कारण गठबन्धन कमजोर हुन पुगेको बताए । ‘पहिलो आन्तरिक अन्तर्घात, दोस्रो ओभर कन्फिडेन्ट र तेस्रो एमालेले जनतालाई आर्थिक प्रलोभनमा पार्यो, जसले गर्दा हामीले ठूलो क्षति भोग्नुपर्यो,’ विकले लोकान्तरसँग भने ।
अर्घाखाँचीमा भूमिकास्थान नगरपालिकाको उपमेयर र ४ वडा मात्र माओवादी जित्न सक्यो भने नेकपा एकीकृत समाजवादीले कहीँ पनि जित्न सकेन । निर्वाचनको परिणामबारे गठबन्धनले छिट्टै समीक्षा गर्ने विकको भनाइ छ । अर्घाखाँची कांग्रेसका प्रभावशाली नेताहरू पुष्पा भुसाल लगायतको क्षेत्र हो ।
माओवादी छाडेर एमालेमा लागेपछि विपक्षीले नेता रायमाझीलाई अन्तिम सांसद बनेको टिप्पणी समेत गर्ने गरेका थिए तर मतदाताले भने एक्लो पारिएको एमालेलाई पहिलो शक्ति बनाए ।
माओवादी सशस्त्र द्वन्द्वका कमाण्डर र २०६४ सालपछि चुनावी लडाइँका सफल योजनाकार रायमाझीले यसपटक स्थानीय निर्वाचनमा पनि आफ्नो चमत्कार देखाएर ५ दलीय गठबन्धनसँग बाजी मारेका छन् ।