
हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयरमा निर्वाचित भएकी हुन् । यसैगरी उपमहानगरको उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनामा लामाले २३०८० मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका अनन्त पौडेलले २०९०८ मत मत प्राप्त गरे । यो जितसँगै लामा बागमती प्रदेशको एकमात्र उपमहानगरको पहिलो महिला मेयरको हुन पुगेकी छन् । त्यस्तै राप्रपाका मेयरका उम्मेदवार दिपक सिंहले २०५३१ मत मात्र प्राप्त गर्दै फेरि पराजित हुन पुगे । सिंह यसअघि भएका संसदीय निर्वाचनमा र उपमहानगरको निर्वाचनमा पनि पराजित भएका थिए ।
त्यस्तै उपमेयर तर्फ नेपाली कांग्रेसका राजेश बानियाँले ३३११४ मत प्राप्त गर्दा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले २४३२८ मत प्राप्त गरिन् । उता राप्रपाको तर्फबाट उपमेयरको उम्मेदवार इन्दिरा न्यौपानेले ५५९७ मत मात्र प्राप्त गरेर तेस्रो भइन् । उनी २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा पनि पराजित भएकी थिइन् । हेटौंडामा कुल १ लाख ५ हजार ५ सय ७३ मतदाता रहेकोमा ७३ हजार ५ सय १५ मत खसेको थियो ।
एमालेको लाल किल्ला तोडियो
२०७५ सालको स्थानीय चुनावमा हेटौंडा उपमहानगरलाई नेकपा एमालेले लाल किल्लाको रूपमा स्थापित गरेको थियो । त्यसअघि हेटौंडामा २०४६ सालको बहुदलीय व्यवस्थापछि भएका दुवै निर्वाचनमा एमालेले जितेको थियो । २०४९ र २०५४ सालका दुवै चुनावमा बागमतीका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल मेयर भएका थिए भने २०७४ सालको निर्वाचनमा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछार्दै एमालेका हरिबहादुर महतले मेयर र मीना कुमारी लामाले उपमेयरमा जितेका थिए ।
को हुन् मेयरमा निर्वाचित मेयर मिना लामा ?
बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुष २७ गते हेटौंडा ११ नवलपुरमा उनको जन्म भएको थियो । लामाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो । २०५६ सालबाट विद्यार्थीबाट उनको राजनीतिमा यात्रा सुरु भयो । हेटौंडा ११ नवलपुर स्थित त्रिभुवन माविबाट एसएलसी पास गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम.ए. र हरी खेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी.सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडि बढिन् ।
२०४२ मा अनेरास्ववियू मकवानपुरको जिल्ला कोषाध्यक्ष भइन् । उनले २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरेकी थिइन् । त्यसैगरि २०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव,२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिती मकवानपुरको उपाध्यक्ष समेत भइन् । त्यसलगत्तै २०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा निर्वाचित भइन् । नेकपा एमाले विभाजन भएसँगै उनी नेकपा एकीकृत समाजवादी लागेकी थिइन् । लामा मकवानपुरकी नेकपा एकीकृत समाजवादी उपाध्यक्ष समेत हुन् ।