२९ जेठ २०८३, शुक्रबार
मेयरका योजना

सय वर्षपछि पनि जनताले सम्झिने खालका काम गरेर विराटनगरको मुहार फेर्छु : मेयर कोइराला [अन्तर्वार्ता]

जेठ ९, २०७९
सय वर्षपछि पनि जनताले सम्झिने खालका काम गरेर विराटनगरको मुहार फेर्छु : मेयर कोइराला [अन्तर्वार्ता]

राजनीतिक र औद्योगिक शहरका रूपमा चिनिएको १ नम्बर प्रदेशको राजधानी विराटनगरले २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट लामो राजनीतिक पृष्ठभूमि बोकेको परिवारका नागेश कोइरालालाई मेयर बनाएको छ । विराटनगरको बागडोर ३१ वर्षपछि कोइराला परिवारको हातमा आएको छ ।

विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाका भावी योजना र उनले खेल्ने भूमिका विषयमा गरिएको कुराकानीको सम्पादित अंश –
 
समृद्ध विराटनगर बनाउने भनेर भोट माग्नुभयो, अब जितिसकेपछि तपाईंले बनाउने भनेको समृद्ध विराटनगर कस्तो हो ?

– विराटनगर बनाउन मेरो महत्त्वाकांक्षी योजना त्यस्तो छैन । विराटनगरलाई समृद्ध, सुरक्षित, हरित नगरीको रूपमा विकास गर्छु । शुद्ध खानेपानी, शिक्षामा सबैको पहुँच पुग्ने गरी काम गर्नेछु । पारदर्शिता भन्ने कुरा मलाई ठूलो लाग्छ । जनताले देख्ने गरी पारदर्शिता र सुशासन कायम गरी कम गर्नेछु । मैले गरेका काम जनताले १०० वर्षपछि पनि सोचून् भन्ने लाग्छ ।

नगर सभामा अल्पमतमा पर्नुभएको छ, काम गर्न त गाह्रो नै पर्ला नि ?

– अल्पमत र बहुमत भन्ने कुरा नै आउँदैन । हिजोसम्म हामी फरक–फरक पार्टीबाट जितेका थियौं, आज हामी सबैका भइसक्यौ । जनताले वडा तथा नगरको विकास गर्नू भनेर पठाएका हुन् । अन्य फरक पार्टीबाट जितेर आउनुभएका साथीहरू पनि विराटनगरकै विकास गर्नका लागि भनेर आउनुभएको हो । अल्पमत र बहुमत भन्नेले हामीलाई खासै फरक पार्दैन । मेयर, उपमेयर, वडाध्यक्ष लगायत सबै निर्वाचित साथीहरूको अबको एउटै एजेन्डा भनेको समृद्ध महानगर बनाउने भन्ने मात्रै हो । दलभन्दा माथि उठेर हामी काम गर्छौं । 

निवर्तमान मेयर भीम पराजुलीका कामलाई कतिको निरन्तरता दिनुहुन्छ ?

– निरन्तरता दिने र नदिने भन्ने कुरा नै हुँदैन । मसँग महत्त्वाकांक्षी योजना केही पनि छैनन् । खोला तटबन्धन गर्नेभन्दा अरु महत्त्वाकांक्षी योजना केही पनि छैनन् । नागेश कोइरालाको कार्यकालमा भएको काम भनेर १०० वर्षपछिका पिँढीले पनि थाहा पाउने गरी काम गर्ने लक्ष्य बनाएको छु ।

महानगरलाई सबल, समृद्ध बनाउन पहिला विज्ञहरूको टोली बनाउँछु । उहाँहरूको सरसल्लाह र सुझाव अनुसार काम गर्छु । विराटनगरका जनताका लागि आवश्यक योजना छ भने निरन्तरता नै हुन्छ, हुँदैन भन्ने छैन ।

समृद्ध विराटनगर बनाउन तपाईंको पहिलो निर्णय के हुन्छ ?

– मैले चुनावमा जनताको घरदैलोमा जाँदा पनि भनेको थिएँ – करको दर घटाउँछु, दायर बढाउँछु भनेर पहिलो निर्णय नै त्यही गर्छु । विराटनगरमा घर छ भन्ने बित्तिकै धनी छ, जति पनि कर तिर्न सक्छ भन्ने छैन । कतिलाई वर्षमा ५० हजार कर तिर्न पनि समस्या छ । ठूला घर भए पनि आम्दानीको स्रोत नभएकाहरू धेरै छन् । पहिलो कार्यपालिकाको निर्णयमा नै कर घटाउने निर्णय गर्छु । विज्ञहरूको सरसल्लाह बमोजिम करको दायरा बढाउँछु ।

विराटनगरको सबैभन्दा ठूलो समस्या डुबान हो । भोट माग्न जाँदा पनि डुबानमुक्त बनाउँछु भन्नुभएको छ । अब जनताले  डुबानमुक्त हुन कति समय पर्खनुपर्छ ?

– तपाईंले सोध्नुभएको प्रशन सही हो, डुबानको समस्या सबैभन्दा ठूलो छ । पानीको निकास नभएकाले पनि यो समस्या आउने गर्छ । यो समस्या समाधान गर्न हाम्रो मात्रै स्रोतसाधनले भ्याउँदैन, प्रदेश र संघ सरकारबाट बजेट ल्याएर पनि यो काम गर्नुपर्छ भन्ने मेरो योजना छ ।

विराटनगरवासीलाई सधैं स्वास्थ्यमा पहुँच पुर्‍याउनका लागि महानगरपालिकाको आफ्नै मेट्रो अस्पताल बनाउने योजना पनि छ ।  

विराटनगर औद्योगिक शहर पनि हो तर धेरै उद्योगधन्दा बन्द छन् । उद्योगधन्दाका लागि के कस्ता योजनाहरू ल्याउनुहुन्छ ? 

– विराटनगर राजनीतिक र औद्योगिक शहर हो । विराटनगरका उद्योगधन्दाले नेपालकै आर्थिक क्षेत्रमा ठूलो फड्को पनि मारेको छ । १२ हजारका हाराहारीमा साना उद्योगहरू थिए तर अहिले ६ हजारका हाराहारीमा मात्रै सञ्चालनमा रहेको मैले बुझेको छु । किन उद्योगधन्दा बन्द हुँदैछन् ? ती उद्योगधन्दा बन्द हुँदा धेरैको रोजगारी गुमेको छ । देशमा रोजगारी नपाएकै कारण धेरै युवाहरू विदेशतिर जानुपरेको छ । 

फोहोर व्यवस्थापन कसरी गर्नुहुन्छ ?

– डम्पिङ साइट खोजेर फोहर फाल्नु मात्र फोहोरको व्यवस्थापन होइन, हामी फोहोरको ‘रिसाइकल’ गरेर त्यसबाट आम्दानी गर्ने कार्यक्रम ल्याउनेछौं ।

५ वर्षपछिको विराटनगर कस्तो हुन्छ त ?

– तपाईं आफू घरबाट बाहिर निस्किँदा कस्तो विराटनगर होस् भन्ने सोच्नुहुन्छ ? त्यस्तै हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्