२१ असार २०८३, आइतबार

रोकिएन राजस्व छलीका शृंखला

जेठ १०, २०७९
रोकिएन राजस्व छलीका शृंखला

राजस्व अनुसन्धान विभागले राजस्व छल्ने विरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।

यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले उच्च अदालत पाटनमा दायर गरेको सो मुद्दामा निरज ट्रेडर्स एन्ड सप्लायर्स र राज ट्रेडर्स कम्पनीमार्फत राजस्व छली गरेको पाइएको हो । उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई राजस्व छलेको विभागको आरोप छ ।

अनुसन्धानका क्रममा उनीहरूले मालवस्तु तथा ढुवानीका साधन अनगुमन प्रणालीमा एकपटक प्रविष्ट भएको सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई मालवस्तु ढुवानी गरी काठमाडौं ल्याई बिक्रीवितरण गरेको पाइएको हो । यसैगरी नेपाल सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर छली गरेको देखिएको विभागले जनाएको छ ।

विभागले यस्तो कार्यमा पर्सा जिल्ला घर भई भरतपुर चितवनमा व्यवसाय गर्दै आएका निरज ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपाइटर श्रीराम ठाकुर र सोही सप्लायर्सका सञ्चालक जटाशंकर जैसवाल रहेको बताएको छ । उनीहरूले कर छली गर्ने उद्देश्यले जालसाजीयुक्त नक्कली तथा झुटो मूल्यअभिवृद्धि कर बिजक खरिद गरी ऐन तथा नियमानुसार तिर्नुपर्ने कर नतिरी राजस्वट चुहावट गरेको विभागको दाबी छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को प्रथम संशोधनसहितको कानुनबमोजिम उनीहरू विरुद्ध त्यसबापत हुन आउने मूअकरतर्फ २ करोड ४१ लाख ३५ हजार ९ सय ४१ र आयकरतर्फ ५ करोड ५७ लाख १६ हजार ६ सय १२ सहित कुल बिगो हुन आउने ७ करोड ९८ लाख ५२ हजार ५ सय ५३ को शतप्रतिशत जरिमाना गरी १५ करोड ९७ लाख ५ हजार १ सय ६ रुपैयाँबराबरको मागदाबी गरिएको विभागले जनाएको छ ।

यसैगरी, महोत्तरीको गौशाला नगरपालिका–१ स्थायी घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने राज ट्रेडर्स नामक फर्मका प्रोप्राइटर राजकिशोर सिंह कुशवहा, सोही ठाउँका पुष्करकुमार सिंह र महोत्तरीको गौशाला नगरपालिका–१० स्थायी घर भएका भविचन महत्तो कोइरीले भारितीय चिनी अवैध रूपमा चोरीपैठारी गरी राजस्व छलेको अभियोगमा छलिएको राजस्व र त्यसको शतप्रतिशत जरिमानासहित ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँ असुलको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

२८ पटकसम्म कागजात सच्याई भारतीय चिनी चोरीपैठारी गर्ने राज ट्रेडर्सका तीनै जनाविरुद्ध विभागले राजस्व चुहावटसम्बन्धी ऐनअनुसार कायम बिगो १ करोड ८६ लाख २९ हजार ३१ रुपैयाँको शतप्रतिशत जरिमानासहित ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको बताएको छ ।

यसअघि पनि विभागले विभिन्न तरिका अपनाएर करोडौं रुपैयाँ राजस्व छलीमा संलग्नविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरेको जनाएको छ । । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्