
डोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै चालकसहित १३ जना घाइते भएका प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप आफैं अनियन्त्रित भई सडकबाट करिब २०/२५ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जीपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको मृत्यु भएको छ ।
उक्त जीपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको भने उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।