२९ जेठ २०८३, शुक्रबार

कैलालीमा जिसस पदाधिकारीको लागि रेशम चौधरीको पार्टी फकाउँदै मुख्य दल

जेठ १५, २०७९
कैलालीमा जिसस पदाधिकारीको लागि रेशम चौधरीको पार्टी फकाउँदै मुख्य दल

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि राजनीतिक दलको ध्यान जिल्ला समन्वय समितितिर केन्द्रित भएको छ ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र समितिको पहिलो बैठक बस्नुपर्ने भएकाले राजनीतिक दलभित्र छलफल शुरू भएको हो । 

सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार कैलाली जिल्लामा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नागरिक उन्मुक्ति पार्टी बन्न सफल भएको छ ।

कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समितिको प्रमुखमा आ–आफ्नो दाबी प्रस्तुत गर्दै छलफल अगाडि बढाएका हुन् । दलहरू एकले अर्कालाई मनाउने कसरतमा जुटेका छन् । 

रेशम चौधरीको योजना अनुसार हालै गठित नागरिक उन्मुक्ति पार्टी जिल्लाको १३ स्थानीय तहमध्ये ४ स्थानीय तह प्रमुखमा जितेपछि ठूलो दलको रुपमा स्थापित भएको छ । 

स्थानीय तह विर्वाचनको मत परिणाम अनुसार भने कैलालीमा कांग्रेसले ८ जना जना प्रमुख तथा उपप्रमुख र सदस्यहरूको हिसाबले कांग्रेस ठूलो दल हो । 

नागरिक उन्मुक्तिले ७, नेकपा एमालेले ५, माआवादी केन्द्रले ४, एकीकृत समाजवादी र स्वतन्त्रले १/१ प्रमुख जितेका हुन् ।

अन्य राजनीतिक दलले नागरिक उन्मुक्तिलाई प्रमुख दिएर भागबन्डा मिलाउने कसरतमा जुटेको पाइएको छ ।

तर नेपाली कांगेसले ठूलो दलको हैसियतमा रहेको र गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने बताएको छ । 

सम्पन्न निर्वाचनमा गठबन्धनभित्र सबैभन्दा कमजोर भूमिका रहेको भन्दै आलोचना खेप्दै आएको कांग्रेसले विगतको कमजोरी सच्याउँदै गठबन्धनको मर्म अनुसार बढ्ने भन्दै सहकर्मी दलहरूलाई फकाउन शुरू गरेको छ ।

यहाँ जम्मा मतभार २६ रहेकोले कांग्रेसले गठबन्धन दलकै सहाराले समिति बनाउन बहुमत पुग्दैन । जुनकारण स्वतन्त्र उम्मेदवार निर्णायक देखिएकोले कांग्रेस स्वतन्त्र जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको मतको समेत अपेक्षा गरिरहेको छ ।

कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले स्थानीय तह निर्वाचनमा केही कमजोरी भए पनि विगतका ती कमजोरी सच्याउँदै गठबन्धनको मर्म अनुसार अगाडि बढ्ने बताए ।

राष्ट्रिय राजनीतिलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताउँदै जिल्लामा पनि हाल स्थापित दल र स्वतन्त्र जितेका प्रमुखलाई मिलाएर जानुपर्नेमा उनले जोड दिए ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले आफूहरूलाई कांग्रेसले उपप्रमुख दिएर समिति गठनको प्रस्ताव अगाडि सारेको बताए । तर आफूहरूको दाबी प्रमुखमा रहेको र संख्यात्मक रुपमा कांग्रेस ठूलो दल भएकोले कांग्रेससँग छलफल चलिरहेको बताए ।

प्रारम्भिक छलफल भइसकेको तर कांग्रेसले निर्णय अझै दिन नसकेको भए पनि जिससमा आफूहरूको अन्य दलभन्दा कांग्रेससँगको समीकरण नै सहज हुने उनको भनाइ छ ।

नेपाल संविधानको धारा २२० अनुसार जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न एक जिल्ला सभा तथा जिल्ला समन्वय समिति रहने व्यवस्था छ । 

जसमा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य हुन्छन् ।

जसका गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बस्नुपर्ने हुन्छ ।

जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तिमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्