२९ असार २०८३, सोमबार

माओवादीको अग्निपरीक्षाः

कात्तिक २०, २०७४
माओवादीको अग्निपरीक्षाः

बाह्र बुँदे सम्झौता मार्फत माओवादी पार्टी खुल्ला राजनीतिमा आएको हो । ०६४ सालको संविधानसभा चुनावमा माओवादी पार्टी पहिलो दलको रुपमा स्थापित भयो । गणतन्त्र नेपालको प्रथम कार्यकारी प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भए । प्रचण्ड प्रधानमन्त्री भएपछि मुलुकका यावत राष्ट्रिय समस्याको समाधान हुने जनताले अपेक्षा गरेका थिए । माओवादी नेतृत्व संग जनताका धेरै आशा थिए । जनयुद्धको समयमा जनतालाई आशा भरोसा दिलाएर पहिलो बनेको माओवादी नेतृत्व सरकारमा पुगेपछि सिमित नेताले मात्र जनताका अपेक्षा अनुसार काम गरे । नेताहरूको आन्तरिक संघर्षको असर पार्टीको संगठनमा देखियो । शान्ति प्रक्रियामा आएको दशक नपुग्दै माओवादी आन्दोलनमा बिवाद आयो र पार्टी फुट्यो । फुटको असरले दोस्रो संविधानसभाको चुनावमा पार्टी तेस्रो स्थानमा झर्यो । कमजोर संगठनका बाबजुत पनि माओवादी पार्टीले स्थानीय तहको चुनावमा तेस्रो स्थान हासिल गर्यो ।

स्थानीय निर्वाचनमा पाएको सफलताबाट माओवादीले सन्तुष्टी लिने अवस्था भने छैन । स्थानीय तहको चुनाव माओवादीका निम्त जीत र हार दुवै हो ।

नेताहरूमा जनयुद्धको समयको आदर्शमा स्खलन आएको देखिदैछ । पुराना राजनीतिक दलमा इमान रहेन, आदर्श भएन बैकल्पिक राजनीतिको वकालत गरेको माओवादीले कालान्तरमा तिनै दलको ब्यवहार अनुसरण गर्नु कति जायज होला ?

संसदवादी दलका नेताहरु जस्तै चुनावको बेला जनतासंग भोट माग्न जाने अरु वेला नेताहरु सहरमा बस्ने, गाऊंमा पार्टीका आधार इलाका निम्न वर्गका जनताको सम्वन्धलाई चटक्क विर्सने प्रबृत्ती माओवादी पार्टीमा हावी हुँदैछ ।

लेखक अाचार्य


जसको परिणाम वर्तमान स्थानीय चुनावको नतिजामा ब्यक्त भएको छ । कुनै बेला कांग्रेस एमाले भन्दा ठूलो दल एक दशकमै कांग्रेस र माओवादीको आधा आकारमा खुम्चिन बाध्य भएको छ । माओवादी पार्टीलाई सुद्रीढिकरण गर्न नेता कार्यकर्ताहरू संगठन निर्माणको चरणमा जुट्न आवश्यक छ ।

राजनीतिक छलफल बहस जीवन्त पार्टीमा सधै आबस्यक हुने गर्दछन । राजनीतिको कोर्ष फेरीए पछि पार्टीमा बहस स्वाभावीक हुन्छ । तर आजको आवश्यकता संगठन निर्माणमा प्रमुख हुन आउंछ । निकट भविष्यमा प्रदेश र संसदको चुनाव हुँदैछ । स्थानीय तहको नतिजालाई मध्यनजर गर्दै अवका छलफल बहस संगठन निर्माणमा केन्द्रित हुनु पर्छ ।

माओवादी पार्टीको समस्या चुनाव चिह्न हैन, नेताहरू शहरबाट गाउँ नफर्किनु हो । शहरको बिकास गाउँमा पुर्याउन नसक्नु हो । शहर र गाउँ जोड्ने पुल बन्न नसक्नु हो । माओवादी नेताहरु सामाजिक भन्दा पनि व्यक्तिगत जीवनमा हराउनु हो । कतिपय माओवादी नेताहरुले आफ्नो बर्गीय धरालत बिर्सनु क्रान्तिमा आस्था राख्नेहरुका लागी दुखद हो । त्यही चुनाव चिह्न (गोलाकारभित्रको हँसिया हतौडा) लिएरै माओवादी पहिलो पार्टी बनेको हो ।

संगठन निर्माणमा माओवादी पार्टी नेतृत्वले निर्मम कदम चलाउन आवश्यक छ । निरन्तरता, क्षमता र आवश्यकतालाई आधार मानेर संगठन संचालनको नयां बिधि र पद्धती बिकाश गर्न जरुरी देखिएको छ । नेता बिशेषको नजिक बनेर फाइदां लिने यस्तो पबृत्तिलाई न्युनिकरण गर्न युवाहरूले खवदारी गर्न जरूरी छ । सुदृढ पार्टी निर्माणको लागी आलोचना र आत्मआलोचना आवश्यक छ । गुट र उपगुटलाई आधार मान्दै मूल्याङ्कन गर्नु जायज होईन । सय भारी खर काट्ने र पोल्नेलाई एउटै मुल्याङ्कन हुनु न्याय होईन ।

शान्ति प्रक्रिया आएको एघार वर्षको अन्तरालमा पनि माओवादी अझै पनि संगठन बिस्तार र सुदृडीकरणको चरणमा रहेको छ । युद्ध लड्ने नभई जनताको विश्सास जित्दै आर्थिक विकासको नेतृत्व लिनेखालको हुनु जरुरी छ । स्थानीय स्तरमा आफ्नै सिर्जनशिलता र बिवेक प्रयोग गरि जनताका समस्या तुरून्त समाधान गर्ने जनपक्षीय नेता हुन जरूरी छ । यसो हुदाँ दिर्घकालीन रूपमा पार्टीको जग निर्माण हुन्छ ।

यसले आगामी चुनावहरूमा माओवादी नेता कार्यकर्ताको उज्वल भविष्य निर्माण हुनेछ । बिगतमा जस्तो माओवादी पार्टी संगठन पिरामिड शैलीको बनाउन आवश्यक छ । वर्तमान समयमा माओवादी केन्द्रको छाता आकारको संगठन बन्नु उचित होईन । केन्द्र देखी स्थानिय तह सम्म सानो सङ्ख्याका समिति निर्माण गर्नु पर्छ । पहिलो संविधानसभाको चुनाव सानो समितिले निर्णय गरेर लडेको थियो सफल पनि भयो ।

पार्टीको विधान एकातिर छ,केन्द्रीय समितिमा करिव चार हजार जना सदस्य छन् । यति धेरै नेता हुदां पनि स्थानीय तह चुनावको परिणामले पार्टीलाई तेस्रो स्थानमा पुराउनु ४ हजार केन्द्रीय सदस्यको अपमान हो । अव चुनावमा नेताहरू आफ्नो ठाऊँमा को कति खट्नु भयो, संमीक्षा गर्न जरूरी छ । कम्युनिष्ट पार्टीले शक्तीशाली अनुशासन आयोग निर्माण गर्दछन । माओवादीमा अराजकता मौलाएको बेला अनुशासन आयोग बारे कार्यकर्ता चिन्तीत देखीएका छन् ।

माओवादीलाई जनताले दलाल, घुसखोर, फटाह र सामन्त जस्तो देख्न चाहेका छैनन् । देश र जनताका समस्या समाधान गर्ने क्रान्तिकारी पार्टीको रुपमा जनताले माओवादीको भूमिका चाहेका छन् । माओवादी नेताहरूले जन चाहनालाई मध्यनजर गर्दै विलाशी जीवन त्याग गर्दै रुपान्तरण हुन आवश्यक छ ।

माओवादी नेतृत्वले जनयुद्धको उद्देश्य र मर्म विर्सनु हुदैन । जव सम्म नेताहरू रूपान्तरण हुदैनन्, माओवादी पार्टी निरन्तर ओरालो लागी नै रहन्छ । माओवादी पार्टी गठन र विघटनको वहसमा भन्दा सुदृढ संगठन निर्माण गर्न नेताहरूका आन्तरिक गृहकार्यमा जुट्नु उत्तम हुनेछ ।

सांगठानिक अराजकता बाट पार्टीलाई छिटो मुक्त गर्न अध्यक्ष प्रचण्डको पहलले मात्र संभव छ । महाधिवेशन वा राष्ट्रिय सम्मेलन गरि बिधान अनुसार पार्टी संचालन गर्न आवश्यक छ ।


अध्ययन, अनुसन्धान र तथ्यको आधारमा गरिने तर्कले सशक्त पार्टी निर्माण हुन्छ । माओवादी पार्टी बैचारीक राजनीतिक रूपमा भुत्ते जस्तो भएको अवस्थामा छ । स्कुलीङ विभाग क्रियासिल हुनु पर्ने देखिन्छ । माओवादी पार्टीलाई समग्र राष्ट्रका युवाहरूको आकर्षणको केन्द्र बनाउने सिर्जनशिलता नेताहरू ले मनन गरे सुदृढ पार्टी अवश्य बन्नेछ ।

नेपालको परम्परागत सामन्तवादी चिन्तनमा आधारित शासन ब्यवस्थामा आमुल परिवर्तन माओवादी जनयुद्ध संभव तुल्याएको हो । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी र धमर्मनिरपेक्षता लगायत समाजवादी ब्यवस्था नयाँ संविधानमा संस्थागत बन्नु माओवादी पार्टी संग आफ्ना राजनीतिक एजेन्डा सुरक्षित हुनु हो ।

मुलुकमा राजनीतिक स्थायित्व चाहीएको छ, त्यसको निम्त प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको शासकीय स्वरुप अपनाउन जरुरुी छ । पूर्ण समानुपातीक व्यबस्थापिका र प्रत्यक्ष निर्वाचित कार्यकारीले मात्र देशलाई राजनीतिक स्थायित्व दिनेछ । पार्टीको बैठकमा समृद्ध मुलुक निर्माण बारे छलफल हुन जरूरी छ । विगत बाट पाठ सिक्दै आगामी दिनहरूमा माओवादी नेता कार्यकर्ताले यी बिषयमा बिहङ्गम बहश गर्न जरूरी छ ।

तस्वीरः न्यूज एक्स

(आचार्य माओवादी निकट अखिल क्रान्तिकारीसंग आबद्ध छन्)

salt training

कमेन्ट गर्नुहोस्