०७ साउन २०८३, बिहीबार
युक्रेन युद्ध

युक्रेन युद्धको गम्भीर पाटो: उच्च प्रविधियुक्त रुसले किन जोगाउन सकेन ठूला सैन्य अधिकृत ?

जेठ २४, २०७९
युक्रेन युद्धको गम्भीर पाटो: उच्च प्रविधियुक्त रुसले किन जोगाउन सकेन ठूला सैन्य अधिकृत ?
Photo: AP

आइतवार (मे ५मा) रुसी सेनाका मेजर जनरल रोमन कुतुजोभ युक्रेनविरुद्धको युद्धमोर्चामा मारिएका छन् । 

कुतुजोभ डोनेत्स्क जनमिलिसियाको प्रथम आर्मी कोर्प्सका कमान्डर थिए । लुगान्स्क जनगणतन्त्रको निकोलाएभ्का बस्ती नजिक युद्धका दौरान उनको मृत्यु भएको हो । मृत्युको विस्तृत विवरण उपलब्ध गराइएको छैन । 

कुतुजोभले सिरियाली भूमिमा गरिएका अनेकौं सैन्य कारवाहीमा सहभागिता जनाएका थिए । उत्कृष्ट सैन्य बहादुरी देखाएबापत कुतुजोभलाई विभिन्न सम्मान र विभूषणले सम्मानित गरिसकिएको छ । 

पाँच दिनअघि (जुन २मा) रुसी वायुसेनाका सेवानिवृत्त मेजर जनरल कानामात बोताशेभ पनि लुगान्स्क जनगणतन्त्रको आकाशमा सैन्य कारवाहीको क्रममा मारिएको खबर आएको थियो । 

रुसी सैन्य संवाददाताहरूका अनुसार, बोताशेभले युक्रेनमा लडिरहेका रुसी सैनिकहरूको एक आक्रमण टुकडीलाई उद्धार गर्दै थिए । उनले निकै तलबाट विमान उडाउँदै युक्रेनी सेनामाथि प्रहार गरेका थिए ।

युक्रेनी सेनाको घेराबन्दीमा परेका रुसी सैनिकहरूलाई घेराबाट भाग्न बोताशेभले सहायता गरेका थिए । आक्रमणका क्रममा उनको विमान एन्टी एयरक्राफ्ट क्षेप्यास्त्र हानेर खसाइएको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बोताशेभलाई मरणोपरान्त ‘हिरो अफ रसिया’बाट विभूषित गरेका थिए । 

रुसलाई गुप्तचरी तथा गोप्य र उच्च प्रविधियुक्त सैन्य सञ्चारको अग्रणी मुलुक मानिन्छ तर युक्रेनमा उसको सञ्चार विफल भएर जनरलहरू धमाधम मारिँदा विश्वभरिको सैन्य समुदाय आश्चर्यमा परेको छ । रुसको सैन्य सूचना आदानप्रदान क्षमतामा गोप्यता नरहेको यसबाट स्पष्ट हुन्छ ।

युक्रेनविरुद्धको सैन्य कारवाहीमा क्रममा अहिलेसम्म पाँचजना रुसी जनरलहरू मारिएको पुष्टि भइसकेको छ । उता युक्रेनले चाहिँ रुसका २० भन्दा बढी जनरलहरू मारिएको दाबी गरेको छ । तर मरेका भनिएका कतिपय रुसी अधिकृतहरू पछि जिउँदै भेटिएर तस्वीर समेत सार्वजनिक भएकाले युक्रेनको दाबीलाई पूरै पत्याउन नसकिने स्थिति छ ।

समग्रतामा रुसका लगभग ४०० सैन्य अधिकृतले युक्रेनमा ज्यान गुमाइसकेको र तीमध्ये एकतिहाइ मेजर, लेफ्टिनेन्ट कर्नेल र कर्नेल भएको रुसी सञ्चारमाध्यम मिडियाजोनाले खबर दिएको छ ।

रुसले अहिलेसम्म लडेको कुनै एक युद्धमा यति धेरै उच्च दर्जाका सैन्य अधिकृतहरू शहीद भएका थिएनन् । कसरी यस्तो स्थिति आयो भनी सैन्य वृत्तमा विश्लेषण गर्न थालिएको छ । 

युद्धको अग्रपंक्तिमा रुसी जनरलहरू मारिनु भनेको उनीहरू तल्लो दर्जाका सैनिकहरूसँगै खटिएका छन् भन्ने अर्थ लाग्छ । अर्थात्, उनीहरू आफू चाहिँ सुरक्षित स्थानमा बसेर आदेश दिने अनि तल्लो दर्जाका सैनिकलाई बलिको बोको बनाउने गर्दैनन् । 

उता युद्धमा खटिएका युक्रेनी सेनाका जवानहरूले आफूलाई सैन्य कमान्डले छोडेर गएको भनी बिलौना गरेका बग्रेल्ती भिडियोहरू सार्वजनिक भएका छन् । 

रुसी कमान्डरहरू युक्रेन आक्रमणलाई गति दिनका लागि अग्रपंक्तिमा खटिएको पश्चिमी अधिकारीहरूको विश्वास छ भनी बीबसीका सुरक्षा संवाददाता गोर्डन कोरेरा लेख्छन् । उनका अनुसार, यी कमान्डरहरूले युद्धभूमिमा आफ्नो व्यक्तित्व लाद्न खोजेका छन् तर त्यसो गर्दा उनीहरू ठूलो जोखिममा परेका छन् ।

अन्य सैन्यविद्हरू पश्चिमी सेनाको तुलनामा रुसी सेनाका अधिकृतहरूलाई अग्रमोर्चामा बढी जान लगाइने गरेकाले उनीहरूको मृत्युसंख्या उच्च रहेको बताउँछन् । बेलायती थिंकट्यांक रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका सैन्य विश्लेषक साम क्य्रानी–इभान्सका अनुसार, जनरलहरू तल्लो अधिकृतबाट सूचना पाएनन् भने आफैं युद्धभूमिमा पुग्ने गर्छन् । 

त्यसो त उच्च दर्जाका सैनिकहरू ठूलो संख्यामा मारिनुमा रुसी सेनामा जनशक्तिको कमी रहेको संकेत पनि दिने सैन्य विश्लेषकहरू बताउँछन् । पर्याप्त सैनिक परिचालन नगरी उच्च दर्जाका सैनिकहरूलाई पनि लड्न पठाउँदा रुसले सैन्य कारवाहीका लागि ‘रिइन्फोर्समेन्ट’ गर्न नसकेको देखिन्छ ।

अनि युक्रेनी सेनालाई रुसीहरूका बारेमा अमेरिकाले उपलब्ध गराएको गोप्य सूचनाले पनि रुसी जनरलहरूको मृत्युमा योगदान गरेको देखिएको छ । द न्युयोर्क टाइम्समा जुलियन ई बार्न्स, हेलेन कूपर र एरिक स्मिटले तयार पारेको रिपोर्टमा उल्लेख गरिएअनुसार, बाइडन प्रशासनले युद्धभूमिको तात्तातो (रियलटाइम) सूचना युक्रेनी सेनालाई उपलब्ध गराउने गरेको छ । 

अमेरिकाले रुसी सेनाको चलायमान जंगी अड्डाको ठेगाना तथा अन्य जानकारी युक्रेनलाई उपलब्ध गराइरहेको छ । त्यसका आधारमा युक्रेनी सेनाले रुसका उच्च दर्जाका सैनिकहरूलाई तारो बनाइरहेको हो । 

अमेरिकी सूचनाका साथै युक्रेनीहरूको आफ्नै सूचनाले पनि रुसी जनरलहरूलाई निशाना बनाउन मद्दत गरिरहेको छ । उनीहरू रुसी सेनाका अधिकृतहरूको संवाद गोप्य रूपमा (इन्टरसेप्ट) सुनेर आर्टिलरी तथा अन्य माध्यमले आक्रमण गरी रुसी अधिकृतहरूलाई मारिरहेका छन् । 

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग निकट रहेका एक अधिकारीले द वाल स्ट्रीट जर्नललाई बताएअनुसार, रुसका सैन्य अधिकृतहरूलाई तारो बनाउनका लागि युक्रेनले गुप्तचर टोली खटाएको छ । ती गुप्तचरहरूको सूचनाका आधारमा सेनाले युद्धको अग्रमोर्चामा रहेका रुसका कमान्ड तथा नियन्त्रण इकाइहरूमाथि गोलीबारी गरिरहेका छन् । 

अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ ग्रेग मायरका अनुसार, रुसले अत्यन्तै सामान्य तथा इन्क्रिप्सन नगरिएको रेडियो कम्युनिकेसन गर्ने गरेकाले युक्रेनी तथा अन्य पक्षले रुसी सैनिकहरूको संवाद सुन्न सकेका हुन् । 

त्यससँगै रुसीहरूले युक्रेनमा आफ्नो मोबाइल फोन ल्याएको थाहा पाएपछि युक्रेनीहरूले रुसी नेटवर्क अवरुद्ध गरिदिए । अनि रुसी सैनिकहरूले युक्रेनी नागरिकको मोबाइल फोन खोसेर संवाद गर्न थाले । युक्रेनी मोबाइललाई इन्टरसेप्ट गर्न युक्रेनी सैनिकहरूलाई सजिलो भयो । 

युक्रेनी सञ्चार उपकरणहरूलाई क्षेप्यास्त्र प्रहार गरेर रुसले ध्वस्त पारेको भए यो समस्या आउने थिएन होला । तर रुसले युक्रेनी भूभाग ओगटेर बस्दा पछि सञ्चार उपकरणहरू उपयोगी हुनेछन् भनी तिनको विनाश नगरेको हुन सक्ने सैन्य विश्लेषकहरूको अनुमान छ ।

रुसलाई गुप्तचरी तथा गोप्य र उच्च प्रविधियुक्त सैन्य सञ्चारको अग्रणी मुलुक मानिन्छ तर युक्रेनमा उसको सञ्चार विफल भएर जनरलहरू धमाधम मारिँदा विश्वभरिको सैन्य समुदाय आश्चर्यमा परेको छ । रुसको सैन्य सूचना आदानप्रदान क्षमतामा गोप्यता नरहेको यसबाट स्पष्ट हुन्छ ।

युक्रेनविरुद्धको रुसी सैन्य कारवाही सुस्त हुनुमा जनरल तथा उच्च दर्जाका अन्य सैन्य अधिकृतको मृत्यु पनि महत्त्वपूर्ण कारण हुन सक्छ । सैन्य अधिकृतको मृत्यु भएपछि नयाँ कमान्ड स्ट्रक्चर बनाउन समय लागेकाले युद्धमा ढिलो प्रगति भएको विश्लेषकहरूको अभिमत छ ।

त्यसो त युक्रेनले पनि भारी संख्यामा शीर्ष सैन्य अधिकृत तथा जवानहरू गुमाइसकेको छ । तर उसले आफ्ना मारिएका सैनिकको संख्या निकै घटाएर प्रस्तुत गर्ने गरेको छ अनि उसको कुरा पश्चिमी सञ्चारमाध्यमहरूले जस्ताको त्यस्तै दोहोर्‍याउने गरेका छन् । 

त्यति हुँदाहुँदै पनि युक्रेनभन्दा कैयौं गुणा शक्तिशाली रुसले आफ्ना शीर्ष सैन्य अधिकृतहरूको ज्यान जोगाउनका लागि पर्याप्त प्रयास गर्न नसक्नु ठूलै कमजोरी हो । सेनाको जनरल नै मारिँदा युद्धको गति सुस्त बन्छ र सैन्य इकाइ हतोत्साहित समेत हुन्छ । 

अनि सामान्य सैनिकको मृत्यु जस्तो गरी कमान्डरको मृत्युको समाचार लुकाउन पनि गाह्रो हुन्छ । रुसी जनरलहरूको मृत्युको खबरले युक्रेनी प्रतिकारलाई थप गति दिइरहेको बताइन्छ ।

उच्च दर्जाका सैन्य अधिकृतहरूको मृत्युका विषयमा रुस दोधारमा परेको सैन्य विश्लेषकहरू बताउँछन् । रुसीहरू सेना तथा सर्वसाधारणको हौसला कायम राख्नका लागि मृत्युको दुःखद समाचार लुकाउन पनि चाहन्छन् तर सैन्य अधिकृतहरूले युद्धभूमिमा देखाएको बहादुरीको सार्वजनिक उत्सव पनि मनाउन खोज्छन् । यस दुविधाले रुसी सेनालाई तनाव दिइरहेको बताइन्छ । 

युक्रेनविरुद्धको रुसी सैन्य कारवाही सुस्त हुनुमा जनरल तथा उच्च दर्जाका अन्य सैन्य अधिकृतको मृत्यु पनि महत्त्वपूर्ण कारण हुन सक्छ । सैन्य अधिकृतको मृत्यु भएपछि नयाँ कमान्ड स्ट्रक्चर बनाउन समय लागेकाले युद्धमा ढिलो प्रगति भएको विश्लेषकहरूको अभिमत छ ।

salt training

कमेन्ट गर्नुहोस्