![‘इम्बोस्ड नम्बर’ जडानको उर्दीले गुर्जुधाराको हिलोमा देखिएको त्यो आतंक [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Imbosd_Thumb_dVymFj0URP.jpg)
यातायात व्यवस्था विभागले २०७८ कात्तिक २२ गते जारी गरेको सूचनाअनुसार २०७८ मंसिर १ गतेदेखि नयाँ सवारी दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर हुनुपर्ने व्यवस्था गरिएको थियो । उक्त सूचना अनुसार सोही वर्षको १ फागुनदेखि सवारी नामसारी गर्दा र १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर लिनुपर्ने अनिवार्य व्यवस्था भएको थियो ।
यातायात व्यवस्था विभागले बागमती प्रदेशका लागि ललितपुरको एकान्तकुनामा चारपांग्रे र काठमाडौंको गुर्जुधाराबाट मोटरसाइकलमा इम्बोस्ड नम्बर जडान गर्ने व्यवस्था गरेको थियो । सवारी दर्ता जहाँ हुन्छ, त्यहीँबाट इम्बोस्ड पनि लिने व्यवस्था विभागले गरेको थियो तर चर्काे आलोचना भएपछि हाललाई इम्बोस्ड जडान कार्य स्थगित गरिएको छ ।
सरकारले इम्बोस्ड नम्बरलाई सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भने पनि कर उठाउन मात्रै लिएको नीति भनेर आलोचना भएको थियो ।
इम्बोस्ड नम्बर जडान गर्न मंगलवार ललितपुरबाट आएका सेवाग्राही सरोज शाक्यले भने, ‘यहाँ सबैतिर अस्तव्यस्त छ, यस्तो तरिकाले १ हप्ताभन्दा बढी समय लाग्ने देखिन्छ ।’
कार्यालयमै भेटिएका सेवाग्राही बद्री पोखरेलले भने, ‘यो सरकारले चुनावमा भएको खर्च उठाउन र आफ्ना कार्यकर्ता पोस्नका लागि अचानक ल्याएको नियम हो ।’



कीर्तिपुरबाट आएकी अर्की सेवाग्राही इन्द्रकलावती खत्रीले भनिन्, ‘चारैतिर दलाल नै दलाल पछि लागेर हैरान भएको छ, कहिले कता पठाएको छ, कहिले कता ! सबै अस्तव्यस्त छ । आज पनि इम्बोस्ड नम्बर प्लेट पाइएला जस्तो छैन । यो सरकारले हामी सर्वसाधारणलाई धेरै दुःख दिइरहेको छ ।’

इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले ताकेता गरे पनि कर्मचारी अभाव, इम्बोस्डलाई भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) मा नजोडिएको, नम्बर प्लेटमा गुणस्तर समेत नभएको गुनासो सम्बोधन हुन सकेको छैन ।
इम्बोस्ड नम्बर प्लेट राख्न २ पांग्रे (मोटरसाइकल/स्कुटर) लाई २ हजार ५००, ३ पांग्रेलाई २ हजार ९०० रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तो नम्बर जडान गर्न साना ४ पांग्रेलाई ३ हजार २०० र ठूला सवारीसाधनलाई ३ हजार ६०० रुपैयाँ तोकिएको छ ।