
स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो ।
पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट एक सय ५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी अस्पतालले बिमाबापतको रकम प्राप्त गरेका छन् ।
सरकारले अघिल्लो वर्षको बक्यौता बिमा रकमसमेत भुक्तानी हुनेगरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटकपटक गरी रु एक अर्ब तीन करोड पठाएपछि स्वास्थ्य बिमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो । स्वास्थ्य बिमा बोर्डबाट सार्वजनिक गरिएको जानकारीअनुसार दुई दिनअघि मात्र विपन्न वर्गलक्षित रु ३२ करोड ६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको छ ।
बोर्डका वरिष्ठ मेडिकल सुपेरिटेन्डेन्ट डा पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बिमाबापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिए ।