०७ साउन २०८३, बिहीबार
अर्थतन्त्र

अर्थतन्त्रको कमजोर चित्रः महँगी अचाक्ली, डलर सञ्चिति साढे ६ महिनाको आयात धान्न सक्ने मात्रै

जेठ २७, २०७९
अर्थतन्त्रको कमजोर चित्रः महँगी अचाक्ली, डलर सञ्चिति साढे ६ महिनाको आयात धान्न सक्ने मात्रै

देशको अर्थतन्त्र वैशाखसम्म पनि सुधार भएको छैन ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिना (वैशाख)सम्मको तथ्यांक हेर्दा अर्थतन्त्र अझै कमजोर हुँदै गएको देखिएको हो । 

गत महिना भन्दा विदेशी विनिमय सञ्चिति यो महिनामा करीब २१ अर्ब रूपैयाँले घटेको छ । यो अवधिसम्म आइपुग्दा महँगी करीब ८ प्रतिशत नजिक पुगेको छ ।

वैशाखसम्ममा महँगीदर ७.८२ प्रतिशत पुगेको छ । यो महँगी दर अहिलेसम्मकै बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तो महँगी गत वर्षको वैशाखमा जम्मा ३.६५ प्रतिशत मात्रै थियो । अघिल्लो महिना चैतसम्ममा भने ७.२८ प्रतिशत थियो । 

नेपालमा महँगी बढ्नु र विदेशी मुद्रा सञ्चिति घट्नु र शोधनान्तर घाटा बढ्नु अर्थतन्त्रका लागि राम्रो नभएको अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । उनले भने, ‘महँगीदर विश्वव्यापी रूपमै बढेको हुँदा त्यसको असर नेपालमा पनि परेको हो ।’

महँगीदर बढ्नुमा नेपालको आन्तरिक कारण मात्रै नभएर रसिया–युक्रेन युद्धसहित वाह्य कारण भएको उनको भनाइ छ । महँगीदर अमेरिका, युरोपमा पनि ८ प्रतिशत पुगेकोले नेपालमा पनि पछिल्लो समय महँगी बढ्नुलाई सामान्य नै मान्नुपर्ने बुझाइ थापाको छ । 

विदेशी मुद्रा सञ्चिति घट्ने क्रम अझै नरोकिएको भए पनि रेमिट्यान्समा सुधार हुने संकेत भने देखिएको छ । यसले आगामी २/३ महिनामा अर्थतन्त्र सुध्रँदै जान सक्ने सम्भावना बाँकी नै रहेको उनको भनाइ छ । 

अर्थशास्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भने महँगीदर रोकिने गतिमै नरहेको तर्क गर्छन् । अन्तर्राष्ट्रिय कारणले बढेको यो महँगीदर दोहोरो अंकमा पुग्ने देखिएको उनको अनुमान छ । ‘केही महिनामा नै महँगीदर १० प्रतिशत पुग्यो भने अन्यथा नमाने हुन्छ,’ उनले भने । 

आयात बढ्नु र विदेशी मुद्राको सञ्चिति कम हुनु, ५.५७ महिनाको मात्रै आयात धान्ने क्षमतामा आउनु, शोधनान्तर घाटा बढेर दुई खर्ब ८८ अर्ब पुग्नु अर्थतन्त्रको लागि राम्रो संकेत नभएको तर्क क्षेत्रीको छ ।

रेमिट्यान्समा झिनो सुधार र निर्यातबाहेक सबै सूचक नकारात्मक

चालू आर्थिक वर्षको १० महिनामा गत वर्षको सोही अवधिमा अर्थतन्त्र झन् खराब अवस्थामा पुगेको देखिएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव, निक्षेपको तुलनामा कर्जा प्रवाह अधिक छ ।

सरकारको खर्च क्षमतामा ह्रास, आयात बढी हुँदा डलर सञ्चिति रित्तिँदै जानु, निर्यातको योगदान न्यून हुनु, निर्यात कम हुँदा शोधनान्तर घाटा बढ्नुसहितका कारण अर्थतन्त्र दबाबमा परेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । यसले अर्थतन्त्रका लागि सकारात्मक सन्देश भने देखाएको छैन ।

गत वर्षको तुलनामा यो वर्षको वैशाखसम्ममा रेमिट्यान्स आय एक अर्ब ९० करोड रूपैयाँले बढेको छ । रेमिट्यान्स बढेको भए पनि आयात बढेका कारण विदेशी मुद्राको सञ्चिति कम हुँदै जाँदा अर्थतन्त्रमा दबाब भने कायमै छ ।

गत वर्षको १० महिनासम्ममा १३ खर्ब ९० अर्ब ८४ करोड रूपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति यो वर्षको सोही अवधिमा आइपुग्दा दुई खर्ब ४३ अर्ब ९६ करोड रूपैयाँले घटेको छ । विदेशी मुद्रा सञ्चिति घटेकै कारण अघिल्लो वर्ष यो अवधिमा १०.३ महिनालाई धान्न पुग्ने वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमतामा कमी आएर ६.६ महिनामा मात्रै सीमित भएको छ ।

गत वर्ष देशबाट बाहिरिने भन्दा भित्रने रकम बढी हुँदा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रूपैयाँले बचतमा थियो । तर, यो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोड रूपैयाँले घाटामा छ । 

यो वर्ष बैंकहरूले जम्मा दुई खर्ब आठ अर्ब रूपैयाँ मात्रैको निक्षेप संकलन गरेर पाँच खर्ब ५२ अर्ब रूपैयाँको कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको यो अवधिमा यस्तो निक्षेप पाँच खर्ब ४२ अर्ब रूपैयाँ संकलन गर्दा गरेको कर्जा प्रवाह पनि सात खर्ब ९५ अर्ब रूपैयाँ थियो । 

कमेन्ट गर्नुहोस्