'मेरो यो बच्चा बलात्कारबाट जन्मेको हो। मैले मेरो शिर निहुर्याएर होइन, शिर ठाडो पारेर जन्माएकी हुँ। यसले पनि पनि शिर ठाडो पारेर यो समाजमा बाँच्न पाओस्,' काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा पुग्दा एक युवती मानव अधिकारकर्मीहरूसँग आफ्नो कुरा राखिरहेकी थिइन् ।
काखमा २१ महिनाको बच्चा लिएर गुनासो पोखिरहेकी ती महिला हुन्, जलेश्वर नगरपालिका वडा नम्बर ७ महोत्तरीकी निहारिका राजपुत ।
२१ वर्षीया निहारिका कुमारी आमा हुन्, जो १७ वर्षको नाबालिग उमेरदेखि नै निरन्तर बलात्कारको शिकार भइन् ।
बलात्कारबाटै गर्भ रह्यो र बच्चालाई जन्म दिइन् । अहिले उनी त्यही दूधेबालकलाई च्यापेर अनशनमा बसेकी छिन् ।
आफूलाई साथीको दाइले नशालु पदार्थ मिश्रित पानी पिलाएर बेहोश बनाई बलात्कार गरेको उनको आरोप छ। त्यसपछि पटकपटक बलात्कारको शिकार भएको उनले बताएकी छन् ।

'मलाई मेरो केटी साथीले घरमा बोलाउँदा म उसको घरमा गएको हो। खानेकुरामा नशालु पदार्थ हालेर मलाई बेहोश बनाएर बलात्कार गर्यो, यसमा मेरो के गल्ती ?' उनले महिला अधिकारकर्मीसँग प्रश्न गरिन् ।
विगत ३ वर्षदेखि न्यायका लागि राज्यको ढोका ढक्ढक्याउँदै आए पनि न्याय पाउन नसकेको उनको गुनासो छ।
न्यायको लडाईंमा निहारिकालाई साथ दिँदै आएका देव शर्माले भने, 'अब तिम्रो अगाडि यो राज्य झुक्छ बहिनी । देशको प्रधानमन्त्री यहाँ आउनुपर्छ। तिमी सत्यका लागि लडिरहेकी छौ ।'
उनले अनशन बस्दाबस्दै आफ्नो मृत्यु भएमा बच्चाको रेखदेख गरिदिन आग्रह गरिन् ।
उनले मानव अधिकारकर्मीहरूसँग पनि आक्रोश पोखिन् ।
'जबसम्म एउटा छोरी मान्छे बलात्कार भएर मर्दैन, जबसम्म कोही सडकमा आउदैन, तबसम्म यो सरकारले सुन्दैन, यो कानूनले सुन्दैन,' आक्रोशित मुद्रामा उनले थपिन्, 'मलाई आश्वासन नदिनुस् । आश्वासन दिने धेरै आए । बरु ती कानून बनाउनेहरूकोमा जानुस्, जसले हामी बलात्कृतलाई पीडा दिएको छ ।'

निहारिकाले ५ वटा बुँदामा आफ्नो माग राखेकी छिन् । यस्ता छन्, उनका मागहरू :
– मेरो बच्चाको डीएनए टेस्ट गरिनुपर्यो । काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्यो ।
– उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरेपनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो ।
– बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्यो ।
– घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः शुरूदेखि नै अनुसन्धान गर्नुपर्यो । हिजो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलबै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्यो । उनीहरूमाथि पनि छानबिन हुनुपर्यो ।
– मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्यो ।
जबसम्म मेरा यी मागहरू पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन, तबसम्म म यो अनशन तोड्ने छैन ।
हेर्नुहोस्,थप भिडियोमा: