
काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि आज खानेपानीमन्त्री उमाकान्त चौधरीले सो स्थलको स्थलगत अध्ययन गरे । स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइपलाइन बिच्छ्याएपछि दैनिक छ करोड लिटर पानी राजधानी लैजान सकिने बताए ।
मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिए । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ ।
यो आयोजना सम्पन्न गर्न रु २६ अर्ब लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०÷०८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालय लिएको पनि मन्त्री चौधरीले बताए ।