२९ असार २०८३, सोमबार

अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

दिवसका अवसरमा सरकारी एवं गैरसकारीस्तरबाट विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा योग अभ्याससमेत गराइएको थियो । पतञ्जलि योग समिति, भारतीय दूतावासलगायत संस्थाले कार्यक्रम आयोजना गरेको जनाइएको छ । ती कार्यक्रममा योगको महत्वका विषयमा जानकारी गराइनुका साथै योग अभ्याससमेत गराइएको थियो ।

कार्यक्रमका अवसरमा औषधीय गुणले युक्त गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । चिया र गुर्जोको धुलोमा ६० वटा वनस्पति मिलाइएको उनले सुनाए। सो अवसरमा कार्यक्रमका सहभागीलाई गुर्जोलगायत जडीबुटीबाट बनेको चिया निःशुल्क सेवन गराइएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । 

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।

 सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्