

पुष्पलाल बामपन्थी र लोकतान्त्रिक नेता । श्रमिक जनताको मुक्तिका लागि पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको घोषणा गर्नु भएको हो । नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँको ठूलो योगदान छ । कम्युनिष्ट घोषणा पत्र नै पुष्पलालले नेपालीमा अनुवाद गर्नु भएको हो । मार्क्सको सिद्धान्त, कम्युनिष्ट आन्दोलनसम्बन्धी अन्य धेरै डकुमेण्ट पनि उहाँले लेख्नु भयो ।
पुष्पलालले सँधै श्रमिक जनताको मुक्तिको निम्ती, देशको लोकतान्त्रिक आन्दोलनको निम्ति र गणतन्त्रको निम्ति मुख्य भूमिका खेल्नु भएको छ । कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनमा संवैधानिक राजतन्त्रको अन्त्य र गणतन्त्रको प्रस्ताव पारित गर्नुमा उहाँकै मुख्य भूमिका थियो ।
२०१७ सालमा निर्वासित भएर काम गर्दापनि निरंकुश राजतन्त्रको अन्त्यका लागि भूमिका खेल्नु भयो । राष्ट्रिय स्वतन्त्रताका लागि पनि सशक्त आवाज उठाउनु भएको छ । भारतमा बस्दापनि राष्ट्रिय एकता र स्वतन्त्रताका लागि उहाँको निरन्तर सक्रियता थियो । गणतन्त्र स्थापनामा पुष्पलालको योगदान ठूलो छ ।
पुष्पलालसँग मेरो लामो संगत भयो, मैले उहाँ सँधै आदर गरे । त्यो दौरानमा जहिले पनि उहाँले भन्नु हुन्थ्यो–देशमा प्रजातन्त्र र गणतन्त्र ल्याउने हो भने कांग्रेस र कम्युनिष्टको एउटै मोर्चा बन्नु पर्छ । नेपाली काग्रेसमा गणेशमानजीले पनि कम्युनिष्टसंग एकता नभई न देशमा गणतन्त्र आउन सक्छ न लोकतन्त्र आउन सक्छ भन्ने मान्यता राख्नु हुन्थ्यो ।
पुष्पलालको योगदान अविश्मरणीय छ, सबैले स्मरण गर्नुपर्छ । उहाँसँग मेरो पहिलो भेट कम्युनिष्ट पार्टी प्रतिबन्धीत भएको बेला सन् २००८ सालमा ललितपुरको च्यासल नजिकै खपिस टोलमा भएको थियो । कम्युनिष्ट पार्टीको सम्मेलनमा भेटेँ, त्यसपछि अन्तिमसम्म सँगै रहे ।
पुष्पलालको आग्रहमा मैले २००९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । म जिल्ला, अञ्चल कमिटी हुँदै पुष्पलाल इन्चार्ज हुँदा सचिवालयको सदस्य थिए । उहाँको प्रेरणाले म कम्युनिष्ट आन्दोलनमा आए ।
दुर्भाग्यको कुरा कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । कम्युनिष्ट आन्दोलन एकीकरण भएको भए ठूलो भूमिका निभाउँथ्याे । पुष्पलाल सँधै कम्युनिष्ट एकताको पक्षमा हुनुहुन्थो। उग्रवामपन्थी वा दक्षिणपन्थी धारले कम्युनिष्ट आन्दोलन गिराउन सक्छ भन्ने पुष्पलालको विश्लेषण थियो । देशको ठोस परिस्थितीको ठोस विश्लेषण गरेर मार्क्सवाद कार्यान्वयन गर्नुपर्छ भन्ने पुष्पलालको विश्लेषण थियो ।
कम्युनिष्ट एकता गर्ने कुरा विचारधारा र सिद्धान्तामा निर्भर छ । पुष्पलालको जीवनमा कठिनाई थियो । म यहाँबाट हिन्दुस्तान जाँदा संकट ठूलो थियो । पढ्न गएको मैले पुष्पलाललाई पैसा दिन खोजे, तर उहाँले तिमी विद्यार्थी पैसाको खाँचो पर्छ आफैं राख भन्नु भयो । कम्युनिष्ट नेताको संकट नै हुन्छ ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएदेखि नै पुष्पलालले गणतन्त्रको कुरा गर्नु भएको हो, जतिबेला गणतन्त्र उच्चारण गर्नुपनि अपराध मानिथ्यो । भूमिगत रुपमा पहिलो महाधिवेशनमा पनि उहाँले गणतन्त्रको कुरा उच्चारण गर्नु भएको हो । म सदस्य थिइन, त्यो बेला म विद्यार्थी थिए ।
देशमा समाजवादी र जनवादी बिचार ल्याउने कुरामा उहाँको मुख्य योगदान थियो । पहिला जनवादी क्रान्ति, त्यसपछि समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने पुष्पलालको विचार थियो । सामान्तवादलाई पूर्ण निर्मुल गर्ने, प्रजातन्त्र स्थापना गर्ने र राष्ट्रिय पूँजीको विकासमार्फत समाजवादमा जाने पुष्पलालको रोडम्याप थियो । माक्सवादको सिद्धान्त पनि यही हो ।
निश्चय पनि पुष्पलाल नेपालको महान कम्युनिष्ट नेताको, अर्को जोडा नै छैन । पुष्पलालपछि मनमोहन, त्यसपछि मदन भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनका महान नेता हुन् । पुष्पलालको संगतले मैले पनि राजनीतिमा पारिवारिक सम्पत्ति खर्च गरे । यसमा मलाई कुनै पश्चताप छैन, कम्युनिष्ट बनेर कसैले देशको लागि ज्यान फाले, मेरो त सम्पत्ति मात्र गएको हो, ज्यान छ नि !
(नेकपा एमालेका नेता सिद्धिलाल सिंहसंग लोकान्तरका लागि सुशील पन्तले गरेको कुराकानीमा आधारित)