०५ साउन २०८३, मंगलबार

हैजा सम्बन्धी गुनासो सुन्न काठमाडौँ महानगरमा २४ घण्टे हटलाइन

हैजा सम्बन्धी गुनासो सुन्न काठमाडौँ महानगरमा २४ घण्टे हटलाइन
फाइल तस्‍वीर

काठमाडौँ महानगरपालिकाले सोमवारदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ ।

यस अघि कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको ११८० नम्बरलाई राष्ट्रिय सभा गृहको कल सेन्टरमा स्थानान्तरण गरेर सेवा थालिएको महानगरले जनाएको छ । 

जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ ।

जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै प्रमुख शाहले नगरबासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल गरेका छन् ।  

‘हैजा रोकथाम गर्न नागरिकका सचेतनाका लागि सबै वडामा वातावरण व्यवस्थापन विभागमार्फत एक हप्ता माइकिङ् हुँदैछ । विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमुलक कार्यक्रम हुँदैछ,’ स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले भने, ‘हामीले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेका छौँ । विरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएका छौँ ।’  

हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने महानगरले निर्णय गरेको छ । 

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । 

होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ ।

यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । 
 

कमेन्ट गर्नुहोस्