०५ साउन २०८३, मंगलबार
युक्रेन युद्ध

युक्रेन युद्ध लम्ब्याउने रोचक तत्त्व– धमाधम थोत्रा हतियार तह लगाउँदै रुस र पश्चिम !

असार १६, २०७९
युक्रेन युद्ध लम्ब्याउने रोचक तत्त्व– धमाधम थोत्रा हतियार तह लगाउँदै रुस र पश्चिम !

गत फेब्रुअरी २४ बाट शुरू भएको रुस–युक्रेन द्वन्द्व दुवै पक्षको थोत्रो हतियार तह लगाउने माध्यम बनेको छ । 

युद्धमा युक्रेनले सोभियतकालीन पुराना हतियारहरू पूर्ण रूपमा उपयोग गरिसकेकाले ऊ अब आफ्ना पश्चिमी साझेदारहरूबाट आउने हतियारको प्रतीक्षामा छ अमेरिका तथा अन्य पश्चिमी साझेदार सहयोगीहरूले पठाएको सीमित संख्याको हतियार युक्रेनी सैनिकहरूले चलाइरहेका छन् । त्यसैले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले जुन पनि फोरममा हतियार पठाउन पश्चिमाहरूलाई आग्रह गर्ने गरेका छन् ।

तर पश्चिमले युक्रेनलाई खुलेर आफ्ना हतियारहरू दिन सकेको छैन । यसमा तीनवटा कारण देखिन्छन् । पहिलो, अत्याधुनिक तथा लामो दूरीमा मार हान्ने हतियार दिएमा युक्रेनले रुसी भूमिमा आक्रमण गरिदेला अनि नेटो र रुसको सिधै भिडन्त भइदेला भन्ने पीर । 

दोस्रो, पश्चिमी मुलुकहरूसँग जगेडा रहेको हतियार सकिँदै गएको स्थिति । आफ्नो सुरक्षाका लागि राखेका हतियार समेत युक्रेनलाई दिनुपर्ने स्थिति आउन थालेपछि पश्चिमाहरू सैन्य सहयोग गर्न हिचकिचाउन थालेका हुन् । अमेरिकालाई समेत आफ्नो हतियार भण्डार भरिपूर्ण राख्न हम्मेहम्मे पर्न थालेको छ ।

तेस्रो, आफूले युक्रेनलाई दिएको अत्याधुनिक हतियार रुसी हातमा पर्ला भन्ने चिन्ता । ती हतियारको प्रारूप पत्ता लगाएमा त्यसभन्दा आधुुनिक र घातक हतियार बनाउने क्षमता रुससँग छ । अनि रुसका रक्षामन्त्री सर्गे शोइगुले नियन्त्रणमा लिइएका पश्चिमी हतियार डोनेत्स्क र लुगान्स्कलाई दिइने बताएर पश्चिमाहरूको मुटुमा ढ्यांग्रो ठोकेका छन् ।

उसै पनि युक्रेनलाई अमेरिकी तथा युरोपेली साझेदारहरूले दिएका हतियारका विभिन्न भण्डारलाई रुसले कि क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त पारेको छ कि नियन्त्रणमा लिएको छ । 

कुनै बेलामा सोभियत संघको अंगका रूपमा रहेको युक्रेनको सेना र रक्षा उद्योगमा सोभियत तथा रुसी मापदण्ड उपयोग गरिएको छ । रुसले पूर्वी युरोपमा व्यापक हतियार निर्यात गर्ने गरेको थियो । अमेरिकी हतियार भन्दा सस्तो र प्रयोग गर्न पनि सजिलो हुनाले युक्रेन लगायत पूर्वी युरोपेली मुलुकहरू सोभियत र रुसी हतियार प्रयोग गर्ने गर्छन् । 

सोभियत रुसले उपलब्ध गराएका हतियार नै युक्रेनले अहिले रुसविरुद्ध उपयोग गरिरहेको हो । अनि युक्रेनलाई पूर्वी युरोपका अन्य मुलुकहरूले गरिरहेको हतियार सहयोग पनि त्यही सोभियतकालीन हतियार हो । 

सोभियत रुसले उपलब्ध गराएका हतियार नै युक्रेनले अहिले रुसविरुद्ध उपयोग गरिरहेको हो । अनि युक्रेनलाई पूर्वी युरोपका अन्य मुलुकहरूले गरिरहेको हतियार सहयोग पनि त्यही सोभियतकालीन हतियार हो । 

यस युद्धमा युक्रेनले सन् १९१० मा बनेको म्याक्सिम एम१९१० नामक मशिनगन समेत उपयोग गरेको थियो । त्यस्तै पहिलो विश्वयुद्धताकाको राइफल अनि दोस्रो विश्वयुद्धताकाको सब मशिनगन पनि २१औं शताब्दीको युद्धमा उपयोग गरिएको छ । 

युक्रेनसँग भएको सैन्य उपकरण, साना हातहतियार, ट्यांक, हावित्जर तोप र अन्य हतियारहरू पश्चिमा साझेदारका हतियार अनुकूल छैनन् । यसको परिणामस्वरूप युक्रेनी सैनिकहरूलाई नेटो मापदण्डको हतियार चलाउने ज्ञान छैन र उनीहरूले पर्याप्त मात्रामा ती हतियार पाएका पनि छैनन् । हतियार चलाउन नजानेकाले युक्रेनी सैनिकहरू रुसी सैनिकको सहज तारो बनेको र रुसीहरूले पश्चिमी हतियार नियन्त्रणमा लिन सकेको बताइन्छ ।

युक्रेनी सैनिकहरू सोभियत र रुसी हतियारमा निर्भर रहेकाले अमेरिका तथा नेटो साझेदारहरूले उनीहरूलाई हतियार उपलब्ध गराउन चुनौतीपूर्ण रहेको द वाशिङटन पोस्टमा एलेक्स होर्टन, क्लेयर पार्कर र डाल्टन बेनेट लेख्छन् । उदाहरणका लागि, अमेरिकाले युक्रेनलाई दिएको आर्टिलरीमा १५५ एमएम राउन्ड उपयोग हुन्छ तर त्यो युक्रेनी हावित्जर अनुकूल छैन । त्यसैले अमेरिकाले युक्रेनलाई एक राश गोलीगट्ठा मात्र नपठाएर बन्दूक पनि पठाउनुपर्ने र युक्रेनी आर्टिलरी सैनिकलाई अर्को देशमा लगेर तालिम पनि दिनुपर्ने आवश्यकता छ ।

त्यसो त युक्रेनी सैनिकहरूलाई आधुनिक हतियार प्रणाली चलाउनका लागि पश्चिमाहरूले तालिम दिइरहेका छन् । सयौं युक्रेनी सैनिकहरूले बेलायतमा हालै सैन्य तालिम पूरा गरेको खबर रोयटर्स समाचार संस्थाले दिएको छ । उनीहरूलाई बेलायत सरकारले उपलब्ध गराएको मल्टिपल लोन्च रकेट सिस्टम चलाउने तालिम सेलिस्बेरी नामक स्थानमा दिइएको हो । 

उता रुसले पनि आफ्ना पुराना हतियारहरू यस युद्धमा तह लगाएको छ । दशकौं पुराना टी–६२ ट्यांकहरू रुसले युद्धमैदानमा ल्याएको छ । अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको जेभलिन एन्टी ट्यांक क्षेप्यास्त्र तथा टर्कीको बेराक्तार ड्रोनका कारण रुसले यस युद्धमा ठूलो संख्यामा ट्यांक र सशस्त्र वाहनहरू गुमाएको छ । 

एसिया टाइम्समा स्टिफन ब्रायनले तयार पारेको सामग्रीमा उल्लेख गरिएअनुसार, युक्रेनी युद्धभूमिमा रुसले तैनाथ गरेको ट्यांक पुरानो र म्याद गुज्रिएका छन् । विज्ञहरूले रुसका पुराना ट्यांकको आलोचना गरेका छन् किनकि ती ट्यांकहरू खुला सडकका जाममा फस्दा तिनका सञ्चालकहरू युक्रेनी एम्बुशको शिकार बनिरहेका छन् । कतिपय ट्यांकहरू रुसी सैनिकले बाटैमा परित्याग गरेको खबर पनि आइरहेका छन् जसबाट उनीहरू पुरानो हतियार थन्क्याउन आतुर रहेको संकेत पाइन्छ ।

रुसले युक्रेन युद्धमा ठूलो संख्यामा अधिकृत स्तरका सैनिक सहित ठूलो सैन्य जनशक्ति गुमाउनुको एउटा कारण यस्तै पुरानो हतियारको उपयोग हुनसक्छ । अनि द्रुत गतिमा रुसले विजय प्राप्त गर्न नसक्नुलाई पनि यसबाट व्याख्या गर्न सकिन्छ । 

कतिपय सैन्य विश्लेषकहरूले रुसका पुराना ट्यांकको आधारभूत डिजाइन नै त्रुटिपूर्ण भएको वा कमसल सामग्री त्यसमा उपयोग भएको बताएका छन् । ती ट्यांकहरू आफूलाई कत्तिको उपयोगी हुन्छन् भनी परीक्षण गर्ने उद्देश्य पनि रुसले लिएको हुनसक्छ ।

अहिलेको मितिसम्म रुसले लगभग एक हजार ट्यांक, कम्तीमा ५० वटा हेलिकप्टर, ३६ वटा लडाकू तथा बमवर्षक विमान र ३५० वटा आर्टिलरी पीस युद्धमा गुमाइसकेको बिजनेस इन्साइडर पत्रिकाले खबर दिएको छ । रुसले आफ्नो रक्षा उद्योगको आधुनिकीकरण गर्न खोजिरहेको बेलामा पुरानो हतियार तह लगाउन युक्रेन युद्धको पूर्ण उपयोग गरिरहेको देखिन्छ ।

कतिपय विश्लेषकहरू युक्रेन युद्ध परीक्षण (ट्रायल) मात्र भएको र रुसले नेटोसँग भिडन्तको स्थिति आउनसक्ने आकलन गरी राम्रा र घातक हतियार साँचेर राखेको पनि भन्ने गरेका छन् । विशेषगरी रुसको इस्कन्दर ब्यालिस्टिक क्षेप्यास्त्र, केएच–२२ क्षेप्यास्त्र, अकुला क्लास पनडुब्बी, किन्जाल हाइपरसोनिक क्षेप्यास्त्रको सानोतिनो झलक रुसले युक्रेनमा देखाएको भए पनि त्यसको पूर्ण सदुपयोग उसले नेटोसँगको सम्भावित भिडन्तमा गर्न सक्ने बताइन्छ । 

उता युक्रेनलाई सोभियतकालीन हतियारबाट मोहभंग गराएर अमेरिकी हतियार उपयोगको बानी लगाउने पनि अमेरिकाको उद्देश्य देखिन्छ । त्यस्तो बानी विकसित गर्नका लागि वर्षौं लाग्ने भए पनि त्यसको प्रक्रिया अमेरिका र नेटोले थालिसकेका छन् । त्यसैले उनीहरू पनि युक्रेनका सोभियतकालीन हतियारहरू नष्ट भएकोमा खुशी नै छन् । पूर्वी युरोपेली साझेदारहरूले युक्रेनलाई दिएका सोभियतकालीन हतियार पनि धमाधम नष्ट हुँदा तिनलाई आफ्नो हतियार बेच्न पाइने भयो भनी अमेरिका गदगद भएको छ । 

हुन पनि युक्रेन युद्धले अमेरिकाको हतियार उद्योगलाई व्यापक फाइदा गराइरहेको छ । विश्व हतियार बजारमा अमेरिकी हतियार निर्माताको बोलबाला छ र युक्रेन युद्धपछि केही समयसम्म त्यही स्थिति कायम रहने द कन्भर्सेसन पत्रिकामा टेरेन्स ग्वे लेख्छन् । 

उनका अनुसार, विश्वका सबभन्दा ठूला पाँच हतियार कम्पनीहरू लकहीड मार्टिन, रेथ्योन, बोइङ, नोरथ्रोप ग्रुमान र जनरल डाइनामिक्स सबै अमेरिकी हुन् । अमेरिकाले युक्रेनलाई व्यापक संख्यामा हातहतियार उपलब्ध गराइरहेकाले यी हतियार कम्पनीहरू केही समयका लागि चरम व्यस्त रहनेछन् । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई सहायता गर्नका लागि छुट्ट्याएको ४० अर्ब डलरको प्याकेजमा ८.७ अर्ब डलर त अमेरिकी हतियार भण्डारलाई नवीकरण गर्नका लागि मात्र हो । 

यस्तो अवस्थामा हतियार कम्पनीहरूको स्टक मूल्य ह्वात्तै बढिरहेको छ । लगानीकर्ताहरू आगामी दिनमा थप नाफा कमाउन सकिने आशामा दंग छन् । युक्रेन युद्ध शुरू भएयता लकहीड मार्टिनको स्टक मूल्य १२ प्रतिशत तथा नोरथ्रोप ग्रुमानको मूल्य २० प्रतिशतले बढ्नु त्यसैको संकेत हो । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की युद्धबाट थाकिसकेको भए पनि अमेरिकाले युद्धलाई लम्ब्याउन चाहनुको यो प्रमुख कारण हो ।

युक्रेन युद्ध पुराना हतियार तह लगाउने र नयाँ हतियार परीक्षण गर्ने थलो बनेको छ । युद्धले हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान लिएको भए पनि हतियार उद्योगका लागि नाफा कमाउने राम्रो स्रोत बनेकाले उनीहरू यो युद्ध लम्ब्याइरहन चाहन्छन् । 

युक्रेनमाथि आक्रमण गर्न रुसलाई उक्साउनुका पछाडि पनि हतियार उद्योगको पैरवीले काम गरेको संकेत पाइन्छ । इनदिजटाइम्स डट्कम नामक वेबसाइटमा साराह लाजारले लेखेअनुसार, कोभिड महामारी शुरू भएपछि बन्दाबन्दी तथा आपूर्ति शृंखलामा अवरोधका कारण रक्षा उद्योग जोखिममा परेको भनी हतियार कम्पनीले गुनासो गरेका थिए । 

यसबाट अमेरिकाको राष्ट्रिय सुरक्षा तथा सैन्य तयारी समस्यामा परेको उनीहरूको भनाइ थियो । अनि अफगानिस्तान युद्ध अन्त्य भएकाले पनि हतियार उद्योगीहरू चिन्तित थिए ।

हतियार कम्पनीको छाता संगठन अमेरिकाको नेसनल डिफेन्स इन्डस्ट्रियल एसोसिएसनले युक्रेन संकटको बहाना देखाएर हतियार निर्माणमा जोड दिएको छ । कसरी हतियार कम्पनीहरूले विभिन्न संकटलाई उपयोग गरी वर्तमान र भविष्यमा नाफा कमाउन चाहन्छन् भन्ने बलियो उदाहरण यसबाट प्रस्तुत भएको छ ।

हतियार उद्योगलाई नाफा दिलाउनका लागि अमेरिकी राष्ट्रपतिले मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा नयाँ घोषणा गरेका छन् । अमेरिकाले पूर्वी युरोपमा सैन्य उपस्थिति बढाउने उनको भनाइ छ । रोमानियामा ५ हजार अमेरिकी सैनिक राख्ने कुरा पनि उनले गरे । यससँगै युरोपमा रहने अमेरिकी सैनिकहरूको संख्या एक लाख पुग्नेछ । तिनका लागि आवश्यक हतियार बनाउने ठेक्का तिनै हतियार कम्पनीहरूले पाउने हुन् । 

त्यसैले युक्रेन युद्ध पुराना हतियार तह लगाउने र नयाँ हतियार परीक्षण गर्ने थलो बनेको छ । युद्धले हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान लिएको भए पनि हतियार उद्योगका लागि नाफा कमाउने राम्रो स्रोत बनेकाले उनीहरू यो युद्ध लम्ब्याइरहन चाहन्छन् । 


salt training

कमेन्ट गर्नुहोस्