१२ असार २०८३, शुक्रबार

‘व्यास नगर समता’ विद्यालय साउनदेखि सञ्चालन हुने

‘व्यास नगर समता’ विद्यालय साउनदेखि सञ्चालन हुने

तनहुँको व्यास नगरपालिकाले ‘व्यास नगर समता’ आवासीय विद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालन गर्न लागिएको हो । 

उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिका लागि विज्ञापन गरी आवश्यकता माग गरिसकेको नगरपालिकाले जनाएको छ ।

विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका, सुरक्षाकर्मी लगायतका जनशक्ति माग गरिएको नगरपालिकाका सूचना अधिकारी कुमारकञ्चन जिसीले जानकारी दिए । व्यास–७ शेशमटारमा रहेको क्यामिन कोट प्राथमिक विद्यालयमा ‘व्यास  नगर समता’ विद्यालय २०७९ सञ्चालन ल्याउन लागिएको हो । 

एक मात्र सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसलाई मानक विश्वविद्यालय निर्माण गर्न, विज्ञान तथा प्रविधिको पढाइ सञ्चालन गर्न अध्ययन गरी पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिका भित्रका प्रावि, आधारभूत र माध्यमिक विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरिने जनाइएको छ । व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधारका योजना कार्यान्वयन गर्ने लक्ष्य रहेको छ । 

६ कक्षासम्म सामुदायिक विद्यालयमा पढ्ने प्रारम्भिक बाल विकास केन्द्रका विद्यार्थीलाई संघीय सरकारको सहभागितामा दिवाखाजाको प्रबन्धलाई प्रभावकारी रूपमा निरन्तरतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

नगरपालिका भित्रका धार्मिक विद्यालय, मातृभाषामा शिक्षा प्रदान गर्ने विद्यालय तथा सामुदायिक सिकाइ केन्द्र सञ्चालनार्थ प्रोत्साहन गर्ने नीति रहेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय पाठ्यक्रम र वेदव्यास सम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्