१० असार २०८३, बुधबार

नेविसंघको ‘सेभ त्रिचन्द्र’ अभियान जारी, शुक्रवार सडक प्रदर्शन

नेविसंघको ‘सेभ त्रिचन्द्र’ अभियान जारी, शुक्रवार सडक प्रदर्शन

सत्तारुढ दलनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवन पुनर्निर्माणका लागि ‘सेभ त्रिचन्द्र’ अभियान शुरू गरेको छ । अभियानका क्रममा शुक्रवार नेविसंघले त्रिचन्द्र अगाडि सडक प्रदर्शन गरेको छ । 

नेविसंघले मातृ पार्टी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लक्षित विभिन्न नारा तथा प्लेकार्ड प्रदर्शन गरेका छन् । उनीहरुले ‘प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू तपाईंले पढेको कलेज कहिले बन्ने?’ भन्दै प्रश्न गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर, नो इफ बट’, ‘भ्यू टावर बन्ने, त्रिचन्द्र नबन्ने, हामीलाई कक्षा कोठा देऊ,’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवन पुनर्निर्माणमा दबाब दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान चलाएको नेविसंघले जनाएको छ । यसअघि नेविसंघले गत मंगलबार त्रिचन्द्र क्याम्पसका जीर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगेको थियो । 

२०७२ को भूकम्पमा त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा क्षति पुगेको थियो । उक्त भवनमा अति जोखिमको संकेत स्वरुप ‘रातो स्टिकर’ लगाइएको थियो । शुरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् पुनर्निर्माण गर्ने भनिए पनि हालसम्म पुनर्निर्माणको काम थालिएको छैन । प्राधिकरणको म्याद सकिएपछि उक्त कामको जिम्मा शिक्षा मन्त्रालयलाई लगाइएको थियो । तर, शिक्षा मन्त्रालयले भवन पुनर्निर्माणको काममा चासो नदिएको भन्दै नेविसंघले आन्दोलन थालेको हो । 

salt training

कमेन्ट गर्नुहोस्