
पछिल्लो पुस्तामाझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् ।
सिर्जना र असार समूह साहित्य शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्तामाझ पु¥याउनुपर्नेमा जोड दिइयो । पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताए । उक्त अवसरमा उनले असारे भाकाका गीत प्रस्तुत गरेका थिए ।
सिर्जना र असार समूह साहित्य शृङ्खला पोखराका संयोजक स्ट्रगल रानाले असारे भाकाको संरक्षणका लागि प्रयास गरिएको बताए। कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, बसन्धरी भुवाइको समूह, सङ्गम सांस्कृतिक समूह, शिव अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाटलगायतका स्रष्टाले रचना वाचन गर्दै आ–आफ्ना प्रस्तुति राखेका थिए ।