१० असार २०८३, बुधबार

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले पढाउने

अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले पढाउने

पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई पढाउने भएको छ । गाउँपालिकाले बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको हो । 

अभिभावकविहीन कतिपय बालबालिकाले माध्यमिक तहसम्म पनि पढाइ पूरा गर्न सकेका छैनन् । शिक्षा आर्जनबाट वञ्चित ती बालबालिकाका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभाउन लागेको जनाएको छ । शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगतरुपमा व्यवस्था गर्न लागेको गाउँपालिकाका अध्यक्ष नारायण कार्कीले बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालका अनुसार अभिभावकविहीन बालबालिकाको तथ्यांक संकलन गर्न थालिएको छ । तथ्यांक संकलन भएपछि थप प्रक्रिया अघि बढाइने छ । 

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा गाउँपालिकास्तरीय एक नमूना विद्यालय निर्माण गर्ने उल्लेख गरेको छ । हाल नेपाली माध्यममा मात्र पठनपाठन हुँदै आएकामा विद्यालय शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउन अंग्रेजी र मातृभाषामा शिक्षा दिने बहुभाषिक नीति अवलम्बन गरिने अध्यक्ष कार्कीले बताए । गाउँपालिकाले पालिकाभित्र उत्कृष्ट हुने शिक्षकलाई सम्मानसमेत गर्ने बताएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्