०९ साउन २०८३, शनिबार

वसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

वसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

कवि तथा चर्चित गीतकार वसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । 

असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा गीत रचना विधातर्फको पुरस्कार तथा सम्मान चौधरीलाई प्रदान गरिएको हो । 

प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । 

गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्ने स्रष्टा हुन् । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले आठवटा एल्बम ल्याइसकेका छन् । 

कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा शहरमा गीत तथा कविताका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेका छन् । उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्त्वपूर्ण सम्मान तथा पुरस्कारहरू प्राप्त भइसकेका छन् । 

नेपाली गीतसंगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित रहेका चौधरीको गीतकारिताको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ । 

सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनौट भएका स्रष्टा तथा सर्जकहरूलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू पनि प्रदान गरेको थियो । 

२०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ । 

यसै गरी २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छन् ।

२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएकी गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्