
लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालमा आइतवारदेखि ओपिडी टिकट, इमरजेन्सी र जनरल बेड निःशुल्क गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा अब बिरामीले टिकटको ३० रुपैयाँ र साधारण शैयाको ३० रुपैयाँ शुल्क तिनुपर्ने छैन ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रादेशिक अस्पतालका बिरामीलाई ओपिडी, आकस्मिक र टिकट र साधारण शैयाको नलिने घोषणा गरेको थियो ।
लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकालले साउन १ गतेदेखि अस्पतालमा अब टिकटको पैसा तिर्नुनपर्ने बताए । तर, काउन्टरबाट टिकट भने लिनुपर्ने उनले जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १ हजार बिरामी सेवामा लागि आउने गर्दछन् । प्रादेशिक अस्पताललाई सरकारले गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ । आइतबारदेखि नै सरकारी अस्पतालमा सेवा लिने बिरामीको लागि अब रगत सम्बन्धी सबै सेवा पनि निःशुल्क गरिएको छ । यस अगाडि रगतको लागि आवश्यक पर्ने कभर, ग्रुपिङ, स्टोर म्यापिङलगायत गरी ८०० रुपैयाँ शुल्क तिनुपर्ने अवस्था थियो ।
निःशुल्क सेवाको शुरूवात गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षामा आमूल परिवर्त गर्न चाहेको बताए । मुख्यमन्त्री केसीले प्रदेशिक अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गरी प्रदेशलाई आवश्यक चिकित्सकको आफैँ उत्पादन गर्ने सोचमा प्रदेश सरकारको रहेको बताए । अस्पतालको सेवामा क्रमशः सुधार आएको उनको दाबी छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिरामीलाई सन्तुष्ट हुने गरी सेवा दिन चिकित्सक र अस्पतालका कर्मचारीहरूलाई आग्रह गरे । अस्पतालको सेवाप्रति बिरामी र उनका आफन्तहरू खुशी नभएको बताउँदै जनतालाई प्रत्यक्ष राहत दिने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।
मुख्यमन्त्री कार्यालयका सचिव नरेन्द्र रानाले केही सरकारी अस्पतालहरू बिरामीलाई सेवा दिनुपर्नेमा आफै बिरामी रहेको भन्दै सुधारको खाँचो औंल्याए ।