१३ असार २०८३, शनिबार
युक्रेन युद्ध

रुसको 'ह्युमिन्ट' जासुसी जसका कारण अत्यन्त निकट व्यक्ति बर्खास्त गर्न पुगे जेलेन्स्की

साउन ३, २०७९
रुसको 'ह्युमिन्ट' जासुसी जसका कारण अत्यन्त निकट व्यक्ति बर्खास्त गर्न पुगे जेलेन्स्की
Photo : Valentyn Ogirenko/Reuters

आइतवार (१७ जुलाईमा) युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले महान्यायाधिवक्ता इरिना भेनेडित्कोभा र गुप्तचर निकाय एसबीयूका प्रमुख इभान बाकानोभलाई बर्खास्त गरेका छन् । 

उनीहरूका विरुद्ध देशद्रोहको गम्भीर आरोप छ । रुससँग युद्ध चलिरहेको बेलामा कानून कार्यान्वयन तथा सुरक्षा निकायका ६० कर्मचारी रुसले ओगटेको भूभागमा बसिरहेको र युक्रेनविरुद्ध काम गरिरहेको दाबी जेलेन्स्कीले गरेका छन् । 

यत्तिका धेरै कर्मचारीले देशद्रोह जस्तो गम्भीर अपराध गरेको र रुसी समकक्षीहरूसँग सम्बन्ध राखेकाले ती निकायका प्रमुखहरू देशद्रोहका लागि स्वतः जिम्मेवार हुने जेलेन्स्कीको भनाइ छ । उनीहरूलाई बर्खास्त गर्नका यही ‘कमान्ड रेस्पोन्सिबिलिटी’ लाई जेलेन्स्कीले कारण बनाएका छन् ।   

बर्खास्त गरिएका यी दुवै अधिकारीहरू जेलेन्स्कीका भित्रिया मानिन्छन् । अझ बाकानोभ त जेलेन्स्कीका बाल्यकालदेखिका साथी हुन् । उनीहरू एउटै भवनको बेग्लै अपार्टमेन्टमा बस्थे, एउटै विद्यालय जान्थे र उही विश्वविद्यालयमा दुवैले पढाइ सकेका हुन् । 

राष्ट्रपति बन्नुअघि जेलेन्स्की हास्यकलाकार थिए अनि उनको टीमको नाम क्वार्ताल–९५ थियो । बाकानोभ उक्त टीमका एक सदस्य थिए । 

जेलेन्स्कीले राजनीतिमा प्रवेश गरी सर्भेन्ट अफ द पिपुल नामक दल खोलेपछि बाकानोभ पनि उक्त दलमा प्रवेश गरेका थिए । सन् २०१९ मा भएको राष्ट्रपति निर्वाचनमा जेलेन्स्कीको निर्वाचन अभियानको नेतृत्व नै बाकानोभले गरेका थिए । 

आफूप्रति बफादार बाकानोभलाई जेलन्स्कीले सिधै एसबीयू जस्तो महत्त्वपूर्ण निकायको प्रमुख बनाए र लेफ्टिनेन्ट उपाधि समेत दिए जबकि बाकानोभसँग सैन्य अनुभव नै छैन । 

त्यस्तो नजिकको विश्वासपात्रप्रति जेलेन्स्की किन अनुदार बन्न पुगे भनी विभिन्न किसिमका अनुमान गरिएका छन् । बाकानोभकी पत्नी ओक्साना लाजारेन्को रुसको नागरिक भएकाले पनि कतिपयले उनीप्रति शंका व्यक्त गरेका छन् ।

युक्रेनी सुरक्षाफौजले नियमितरूपमा रुसी समकक्षीहरूसँग कुराकानी गरिरहेको भनी जेलेन्स्कीले खुलासा गर्नु आफैंमा निकै महत्त्वपूर्ण छ । युक्रेन पहिलेदेखि नै चरम भ्रष्टाचार हुने ठाउँका रूपमा कुख्यात छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२१ को करप्सन पर्सेप्सन्स इन्डेक्समा कुल १८० देशमध्ये युक्रेन १२२औं स्थानमा थियो र युरोपको दोस्रो सबभन्दा भ्रष्ट देश भनी चित्रित भएको थियो ।

भेनेडित्कोभाको कुरा गर्दा उनी सम्भ्रान्त परिवारकी सदस्य हुन् । उनका पिता प्रहरीका मेजर जनरल रहिसकेका छन् र उनले कानूनमा विद्यावारिधि गरेका छन् । आमा कानूनको प्राध्यापक रहिसकेकी छन् । 

भेनेडित्कोभा आफैं पनि खार्किभ विश्वविद्यालयबाट कानूनको स्नातकोत्तर गरेकी महिला हुन् । काराजिन खार्किभ राष्ट्रिय विश्वविद्यालयमा उनले लामो समयसम्म कानून विषय प्राध्यापन गरेकी थिइन् । 

सन् २०१९ मा जेलेन्स्की राष्ट्रपति पदको उम्मेदवार बन्नुअघि उनी जेलेन्स्कीकी कानूनी सल्लाहकार थिइन् । निर्वाचन अभियानको केन्द्रीय टीममा उनी पनि सदस्य थिइन् । 

जेलेन्स्की राष्ट्रपति बनेपछि भेनेडित्कोभालाई पहिला अनुसन्धान ब्युरोको प्रमुख बनाए भने पछि महान्यायाधिवक्तामा नियुक्त गरे । रुसले फेब्रुअरी महिनामा युक्रेनमाथि आक्रमण गरेपछि भेनेडित्कोभाले रुसबाट भएको भनिएका विभिन्न युद्ध अपराधका घटनाहरूको संकलन गर्ने एउटा कार्यदल गठन गरेकी थिइन् । 

विभिन्न टेलिग्राम च्यानलहरूमा आएका खबरअनुसार, बाकानोभ र भेनेडित्कोभालाई पक्राउ गरिएको छैन । तर उनीहरू कठोर नजरबन्दमा छन् । जेलेन्स्कीले उनीहरू दुवैको संस्थामा जासूस र देशद्रोहीहरू भरिएको आरोप लगाएका छन् । 

त्यो सत्य हुन सक्ने कतिपय रुसविशेषज्ञहरू बताउँछन् किनकि रुसीहरू मानवमार्फत सूचना संकलन (ह्युमिन्ट) मा विश्वास गर्छन् भने युक्रेन र उसका पश्चिमी समर्थकहरू प्रविधिमार्फत सूचना संकलन (सिगिन्ट) मा विश्वास गर्छन् । 

आफ्नो संस्थामा बग्रेल्ती रुसी गुप्तचरहरू रहेको थाहा नपाएर अक्षमता देखाएको भन्दै जेलेन्स्कीले बाकानोभ र भेनेडित्कोभालाई बर्खास्त गरेका हुन् । उनीहरूका विरुद्ध देशद्रोहको भन्दा पनि फौजदारी अपराध ठहर हुने लापरवाहीको अभियोग लगाइने सम्भावना रहेको बताइन्छ । 

बर्खास्तगीको घोषणाका क्रममा जेलेन्स्कीले भनेअनुसार, महान्यायाधिवक्ता अन्तर्गतका कार्यालय र फौजदारी न्याय प्रणालीमा रहेका कर्मचारीहरूका विरुद्ध देशद्रोह तथा शत्रुसँग सहकार्य आरोपमा ६५१ वटा फौजदारी मुद्दा दर्ता गरिएको छ । 

त्यस्तै गुप्तचर निकाय एसबीयूका शाखाहरूमा काम गर्ने ६० भन्दा बढी कर्मचारी अहिले पनि रुसको नियन्त्रणमा रहेको भूभागमा बसिरहेका छन् र युक्रेन सरकारविरुद्ध काम गरिरहेका छन् । 

यति धेरै आपराधिक घटनाहरू हुँदा राज्यको सुरक्षा आधारशिला नै हल्लिएको जेलेन्स्कीको भनाइ छ । अझ युक्रेनी सुरक्षाबल र रुसका विशेष सुरक्षाबलबीच संवाद भएका प्रमाण पनि रहेको उनले बताए । यस्तो अवस्थामा तत्तत् निकायका प्रमुखका विषयमा गम्भीर प्रश्न उठ्नु स्वाभाविक भएको जेलेन्स्की बताउँछन् । 

युक्रेनी सुरक्षाफौजले नियमितरूपमा रुसी समकक्षीहरूसँग कुराकानी गरिरहेको भनी जेलेन्स्कीले खुलासा गर्नु आफैंमा निकै महत्त्वपूर्ण छ । पैसामा बिकेर युक्रेनी अधिकारीहरूले यस्तो देशद्रोह गरेको हुन सक्छन् । 

युक्रेन पहिलेदेखि नै चरम भ्रष्टाचार हुने ठाउँका रूपमा कुख्यात छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२१ को करप्सन पर्सेप्सन्स इन्डेक्समा कुल १८० देशमध्ये युक्रेन १२२औं स्थानमा थियो र युरोपको दोस्रो सबभन्दा भ्रष्ट देश भनी चित्रित भएको थियो ।

युक्रेनी अधिकारीहरू पैसाका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने गरेको आरोप छ । पश्चिमले दिएको सबै हातहितयार अग्रमोर्चामा रहेका सैनिकहरूकहाँ नपुगेर कालो बजारीमार्फत अतिवादीहरूकहाँ गएको समाचार त पश्चिमका मूलधारे सञ्चारमाध्यमहरूले नै दिएका छन् । त्यसैले रुससँग पैसा लिएर युक्रेनी सुरक्षा अधिकारीहरूले युक्रेनको गोप्य सूचना दिएनन् होला भन्न सकिन्न । 

कतिपय टिप्पणीकारहरूले जेलेन्स्कीलाई जोसेफ स्टालिनसँग तुलना गर्दै उनमा उन्माद (प्यारानोइया) देखिन थालेकाले आफ्नै निकटवर्तीहरूमाथि शंका गरेको समेत भनेका छन् । विशेषगरी डोनबास क्षेत्रमा लगातार युद्ध हार्दै गएपछि आफ्नो राजनीतिक भविष्य र जीवन समेत खतरामा पर्न थालेकाले जेलेन्स्कीमा प्यारानोइया आएको हुनसक्ने उनीहरू बताउँछन् । 

तर ताजा बर्खास्तगीमा जेलेन्स्कीको प्यारानोइयासँगै युक्रेनी निकायहरूमा साँच्चिकै रुसी जासूसहरूको वर्चस्व रहेको हुन सक्ने सम्भावना कारणका रूपमा रहेको तथ्यलाई नकार्न मिल्दैन । 

त्यसो त डोनबास क्षेत्र र खेर्सन/जापोरिझझियामा बेहोरेको पराजयका लागि जेलेन्स्कीले कसै न कसैलाई जिम्मेवार ठहर गर्नुपर्ने भएकाले आफ्नै साथी बाकानोभलाई बलिको बोको बनाएका हुन सक्छन् । हुन पनि डोनबास क्षेत्रको लुगान्स्क गुमाइसकेको युक्रेनले डोनेत्स्कका दुई प्रमुख शहर स्लाभयान्स्क र क्रामातोर्स्क पनि गुमाउने स्थिति आउन लागेको छ । त्यसको बहुआयामिक असर युक्रेनलाई पर्नेछ । 

रुसी समाचार वेबसाइट भीजेड डट् रुमा पत्रकार ओल्गा इभानोव्नाले जापोरिझझियामा रुसी प्रशासन चलाउने व्यक्ति भ्लादिमिर रोगोभको विस्फोटक सूचना छापेकी छन् । रोगोभको भनाइलाई गूगल ट्रान्सलेसन गर्दा प्राप्त जानकारीअनुसार, युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षासम्बन्धी एक बैठकमा युक्रेनीहरूले अमेरिकी तथा बेलायतीहरूबाट चेतावनी पाएका छन् । स्लाभयान्स्क पनि युक्रेनको हातबाट फुत्किएमा अमेरिका र बेलायतले सहयोगका रकम पठाउन बन्द गरिदिने धम्की दिएको रोगोभ दाबी गर्छन् । 

युक्रेनले अहिले महिनाको ९ अर्ब डलर पश्चिमसँग मागिरहेको छ । तर रोगोभको भनाइ पत्याउने हो भने स्लाभयान्स्क गुमाएमा युक्रेनले एक डलर पनि पाउने छैन । यस्तो स्थितिमा जेलेन्स्कीको पारा तात्नु स्वाभाविक छ र उनले बाकानोभ र भेनेडित्स्कोभलाई त्यही झोंकमा बर्खास्त गरेका हुन सक्छन् ।

महत्त्वपूर्ण प्रश्न यो हो– भिन्नित्सियाको अफिसर्स क्लबमा अमेरिकी अधिकृतहरूको उपस्थितिको खबर पाउने गरी गुप्तचरहरू छिराउन रुस कसरी सफल भयो ? 

 युक्रेनी सेनामा रुसी गुप्तचरहरूको पहुँच छ भन्ने कुरालाई पुष्टि गर्ने अर्को एउटा घटना पनि सार्वजनिक भएको छ । रुसी वेबसाइट चेर्नायाकोब्रा डट् रुको समाचारअनुसार, पाँच दिनअघि (१४ जुलाईमा) मध्य युक्रेनमा रहेको भिन्नित्सियामा रुसले कृष्ण सागरमा रहेका पनडुब्बीबाट रकेट आक्रमण गरेको थियो । उक्त आक्रमणले शहरको बिजनेस सेन्टरलाई ध्वस्त पारेको र २३ जना सर्वसाधारणको ज्यान गएको युक्रेनले दाबी गरेको छ । 

तर खासमा त्यो युक्रेनी वायुसेनाका अधिकृतहरूको क्लब थियो । उक्त अफिसर्स क्लबमा भोजभतेर र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिन्छन् । क्लबमा अमेरिकी सैनिकहरू आइपुगेको रुसीहरूले गोप्य सूचना पाए । ती अमेरिकीहरू युक्रेनी समकक्षीलाई हिमार्स रकेट प्रणाली दिने विषयमा कुरा गर्न आएको रुसीहरूलाई सूचना पुग्यो । 

अमेरिकाले युक्रेनमार्फत रुसविरुद्ध चलाएको छद्मयुद्धलाई उचित जवाफ दिने उद्देश्यले रुसले अमेरिकी अधिकारी भएकै स्थानलाई ताकेर आक्रमण गरेको चेर्नायाकोब्रा डट् रु लेख्छ । 

अमेरिकी वा युक्रेनी अधिकारीहरू रुसी आक्रमणमा परेको कुरा युक्रेनले कहिले पनि सार्वजनिक गर्दैन, बरू सर्वसाधारण र गैरसैन्य संरचनामाथि रुसले आक्रमण गरेको भन्ने गर्छ । 

जे होस्, महत्त्वपूर्ण प्रश्न यो हो– भिन्नित्सियाको अफिसर्स क्लबमा अमेरिकी अधिकृतहरूको उपस्थितिको खबर पाउने गरी गुप्तचरहरू छिराउन रुस कसरी सफल भयो ? 

यस्तै घटनाक्रमहरूले गर्दा जेलेन्स्कीलाई आफ्ना अधिकारीहरूप्रति शंकालु हुन बाध्य बनाएको हुन सक्छ । त्यही शंकाको आधारमा उनले बाकानोभ र भेनेडित्कोभालाई बर्खास्त गरेका हुन सक्छन् । यति नजिकका व्यक्तिलाई नै आफूप्रति बफादार बनाउन नसक्ने जेलेन्स्कीको भविष्य अन्धकारमय देखिन्छ ।


salt training

कमेन्ट गर्नुहोस्