आइतवार (१७ जुलाईमा) युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले महान्यायाधिवक्ता इरिना भेनेडित्कोभा र गुप्तचर निकाय एसबीयूका प्रमुख इभान बाकानोभलाई बर्खास्त गरेका छन् ।
उनीहरूका विरुद्ध देशद्रोहको गम्भीर आरोप छ । रुससँग युद्ध चलिरहेको बेलामा कानून कार्यान्वयन तथा सुरक्षा निकायका ६० कर्मचारी रुसले ओगटेको भूभागमा बसिरहेको र युक्रेनविरुद्ध काम गरिरहेको दाबी जेलेन्स्कीले गरेका छन् ।
यत्तिका धेरै कर्मचारीले देशद्रोह जस्तो गम्भीर अपराध गरेको र रुसी समकक्षीहरूसँग सम्बन्ध राखेकाले ती निकायका प्रमुखहरू देशद्रोहका लागि स्वतः जिम्मेवार हुने जेलेन्स्कीको भनाइ छ । उनीहरूलाई बर्खास्त गर्नका यही ‘कमान्ड रेस्पोन्सिबिलिटी’ लाई जेलेन्स्कीले कारण बनाएका छन् ।
बर्खास्त गरिएका यी दुवै अधिकारीहरू जेलेन्स्कीका भित्रिया मानिन्छन् । अझ बाकानोभ त जेलेन्स्कीका बाल्यकालदेखिका साथी हुन् । उनीहरू एउटै भवनको बेग्लै अपार्टमेन्टमा बस्थे, एउटै विद्यालय जान्थे र उही विश्वविद्यालयमा दुवैले पढाइ सकेका हुन् ।
राष्ट्रपति बन्नुअघि जेलेन्स्की हास्यकलाकार थिए अनि उनको टीमको नाम क्वार्ताल–९५ थियो । बाकानोभ उक्त टीमका एक सदस्य थिए ।
जेलेन्स्कीले राजनीतिमा प्रवेश गरी सर्भेन्ट अफ द पिपुल नामक दल खोलेपछि बाकानोभ पनि उक्त दलमा प्रवेश गरेका थिए । सन् २०१९ मा भएको राष्ट्रपति निर्वाचनमा जेलेन्स्कीको निर्वाचन अभियानको नेतृत्व नै बाकानोभले गरेका थिए ।
आफूप्रति बफादार बाकानोभलाई जेलन्स्कीले सिधै एसबीयू जस्तो महत्त्वपूर्ण निकायको प्रमुख बनाए र लेफ्टिनेन्ट उपाधि समेत दिए जबकि बाकानोभसँग सैन्य अनुभव नै छैन ।
त्यस्तो नजिकको विश्वासपात्रप्रति जेलेन्स्की किन अनुदार बन्न पुगे भनी विभिन्न किसिमका अनुमान गरिएका छन् । बाकानोभकी पत्नी ओक्साना लाजारेन्को रुसको नागरिक भएकाले पनि कतिपयले उनीप्रति शंका व्यक्त गरेका छन् ।
भेनेडित्कोभाको कुरा गर्दा उनी सम्भ्रान्त परिवारकी सदस्य हुन् । उनका पिता प्रहरीका मेजर जनरल रहिसकेका छन् र उनले कानूनमा विद्यावारिधि गरेका छन् । आमा कानूनको प्राध्यापक रहिसकेकी छन् ।
भेनेडित्कोभा आफैं पनि खार्किभ विश्वविद्यालयबाट कानूनको स्नातकोत्तर गरेकी महिला हुन् । काराजिन खार्किभ राष्ट्रिय विश्वविद्यालयमा उनले लामो समयसम्म कानून विषय प्राध्यापन गरेकी थिइन् ।
सन् २०१९ मा जेलेन्स्की राष्ट्रपति पदको उम्मेदवार बन्नुअघि उनी जेलेन्स्कीकी कानूनी सल्लाहकार थिइन् । निर्वाचन अभियानको केन्द्रीय टीममा उनी पनि सदस्य थिइन् ।
जेलेन्स्की राष्ट्रपति बनेपछि भेनेडित्कोभालाई पहिला अनुसन्धान ब्युरोको प्रमुख बनाए भने पछि महान्यायाधिवक्तामा नियुक्त गरे । रुसले फेब्रुअरी महिनामा युक्रेनमाथि आक्रमण गरेपछि भेनेडित्कोभाले रुसबाट भएको भनिएका विभिन्न युद्ध अपराधका घटनाहरूको संकलन गर्ने एउटा कार्यदल गठन गरेकी थिइन् ।
विभिन्न टेलिग्राम च्यानलहरूमा आएका खबरअनुसार, बाकानोभ र भेनेडित्कोभालाई पक्राउ गरिएको छैन । तर उनीहरू कठोर नजरबन्दमा छन् । जेलेन्स्कीले उनीहरू दुवैको संस्थामा जासूस र देशद्रोहीहरू भरिएको आरोप लगाएका छन् ।
त्यो सत्य हुन सक्ने कतिपय रुसविशेषज्ञहरू बताउँछन् किनकि रुसीहरू मानवमार्फत सूचना संकलन (ह्युमिन्ट) मा विश्वास गर्छन् भने युक्रेन र उसका पश्चिमी समर्थकहरू प्रविधिमार्फत सूचना संकलन (सिगिन्ट) मा विश्वास गर्छन् ।
आफ्नो संस्थामा बग्रेल्ती रुसी गुप्तचरहरू रहेको थाहा नपाएर अक्षमता देखाएको भन्दै जेलेन्स्कीले बाकानोभ र भेनेडित्कोभालाई बर्खास्त गरेका हुन् । उनीहरूका विरुद्ध देशद्रोहको भन्दा पनि फौजदारी अपराध ठहर हुने लापरवाहीको अभियोग लगाइने सम्भावना रहेको बताइन्छ ।
बर्खास्तगीको घोषणाका क्रममा जेलेन्स्कीले भनेअनुसार, महान्यायाधिवक्ता अन्तर्गतका कार्यालय र फौजदारी न्याय प्रणालीमा रहेका कर्मचारीहरूका विरुद्ध देशद्रोह तथा शत्रुसँग सहकार्य आरोपमा ६५१ वटा फौजदारी मुद्दा दर्ता गरिएको छ ।
त्यस्तै गुप्तचर निकाय एसबीयूका शाखाहरूमा काम गर्ने ६० भन्दा बढी कर्मचारी अहिले पनि रुसको नियन्त्रणमा रहेको भूभागमा बसिरहेका छन् र युक्रेन सरकारविरुद्ध काम गरिरहेका छन् ।
यति धेरै आपराधिक घटनाहरू हुँदा राज्यको सुरक्षा आधारशिला नै हल्लिएको जेलेन्स्कीको भनाइ छ । अझ युक्रेनी सुरक्षाबल र रुसका विशेष सुरक्षाबलबीच संवाद भएका प्रमाण पनि रहेको उनले बताए । यस्तो अवस्थामा तत्तत् निकायका प्रमुखका विषयमा गम्भीर प्रश्न उठ्नु स्वाभाविक भएको जेलेन्स्की बताउँछन् ।
युक्रेनी सुरक्षाफौजले नियमितरूपमा रुसी समकक्षीहरूसँग कुराकानी गरिरहेको भनी जेलेन्स्कीले खुलासा गर्नु आफैंमा निकै महत्त्वपूर्ण छ । पैसामा बिकेर युक्रेनी अधिकारीहरूले यस्तो देशद्रोह गरेको हुन सक्छन् ।
युक्रेन पहिलेदेखि नै चरम भ्रष्टाचार हुने ठाउँका रूपमा कुख्यात छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२१ को करप्सन पर्सेप्सन्स इन्डेक्समा कुल १८० देशमध्ये युक्रेन १२२औं स्थानमा थियो र युरोपको दोस्रो सबभन्दा भ्रष्ट देश भनी चित्रित भएको थियो ।
युक्रेनी अधिकारीहरू पैसाका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने गरेको आरोप छ । पश्चिमले दिएको सबै हातहितयार अग्रमोर्चामा रहेका सैनिकहरूकहाँ नपुगेर कालो बजारीमार्फत अतिवादीहरूकहाँ गएको समाचार त पश्चिमका मूलधारे सञ्चारमाध्यमहरूले नै दिएका छन् । त्यसैले रुससँग पैसा लिएर युक्रेनी सुरक्षा अधिकारीहरूले युक्रेनको गोप्य सूचना दिएनन् होला भन्न सकिन्न ।
कतिपय टिप्पणीकारहरूले जेलेन्स्कीलाई जोसेफ स्टालिनसँग तुलना गर्दै उनमा उन्माद (प्यारानोइया) देखिन थालेकाले आफ्नै निकटवर्तीहरूमाथि शंका गरेको समेत भनेका छन् । विशेषगरी डोनबास क्षेत्रमा लगातार युद्ध हार्दै गएपछि आफ्नो राजनीतिक भविष्य र जीवन समेत खतरामा पर्न थालेकाले जेलेन्स्कीमा प्यारानोइया आएको हुनसक्ने उनीहरू बताउँछन् ।
तर ताजा बर्खास्तगीमा जेलेन्स्कीको प्यारानोइयासँगै युक्रेनी निकायहरूमा साँच्चिकै रुसी जासूसहरूको वर्चस्व रहेको हुन सक्ने सम्भावना कारणका रूपमा रहेको तथ्यलाई नकार्न मिल्दैन ।
त्यसो त डोनबास क्षेत्र र खेर्सन/जापोरिझझियामा बेहोरेको पराजयका लागि जेलेन्स्कीले कसै न कसैलाई जिम्मेवार ठहर गर्नुपर्ने भएकाले आफ्नै साथी बाकानोभलाई बलिको बोको बनाएका हुन सक्छन् । हुन पनि डोनबास क्षेत्रको लुगान्स्क गुमाइसकेको युक्रेनले डोनेत्स्कका दुई प्रमुख शहर स्लाभयान्स्क र क्रामातोर्स्क पनि गुमाउने स्थिति आउन लागेको छ । त्यसको बहुआयामिक असर युक्रेनलाई पर्नेछ ।
रुसी समाचार वेबसाइट भीजेड डट् रुमा पत्रकार ओल्गा इभानोव्नाले जापोरिझझियामा रुसी प्रशासन चलाउने व्यक्ति भ्लादिमिर रोगोभको विस्फोटक सूचना छापेकी छन् । रोगोभको भनाइलाई गूगल ट्रान्सलेसन गर्दा प्राप्त जानकारीअनुसार, युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षासम्बन्धी एक बैठकमा युक्रेनीहरूले अमेरिकी तथा बेलायतीहरूबाट चेतावनी पाएका छन् । स्लाभयान्स्क पनि युक्रेनको हातबाट फुत्किएमा अमेरिका र बेलायतले सहयोगका रकम पठाउन बन्द गरिदिने धम्की दिएको रोगोभ दाबी गर्छन् ।
युक्रेनले अहिले महिनाको ९ अर्ब डलर पश्चिमसँग मागिरहेको छ । तर रोगोभको भनाइ पत्याउने हो भने स्लाभयान्स्क गुमाएमा युक्रेनले एक डलर पनि पाउने छैन । यस्तो स्थितिमा जेलेन्स्कीको पारा तात्नु स्वाभाविक छ र उनले बाकानोभ र भेनेडित्स्कोभलाई त्यही झोंकमा बर्खास्त गरेका हुन सक्छन् ।
युक्रेनी सेनामा रुसी गुप्तचरहरूको पहुँच छ भन्ने कुरालाई पुष्टि गर्ने अर्को एउटा घटना पनि सार्वजनिक भएको छ । रुसी वेबसाइट चेर्नायाकोब्रा डट् रुको समाचारअनुसार, पाँच दिनअघि (१४ जुलाईमा) मध्य युक्रेनमा रहेको भिन्नित्सियामा रुसले कृष्ण सागरमा रहेका पनडुब्बीबाट रकेट आक्रमण गरेको थियो । उक्त आक्रमणले शहरको बिजनेस सेन्टरलाई ध्वस्त पारेको र २३ जना सर्वसाधारणको ज्यान गएको युक्रेनले दाबी गरेको छ ।
तर खासमा त्यो युक्रेनी वायुसेनाका अधिकृतहरूको क्लब थियो । उक्त अफिसर्स क्लबमा भोजभतेर र मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिन्छन् । क्लबमा अमेरिकी सैनिकहरू आइपुगेको रुसीहरूले गोप्य सूचना पाए । ती अमेरिकीहरू युक्रेनी समकक्षीलाई हिमार्स रकेट प्रणाली दिने विषयमा कुरा गर्न आएको रुसीहरूलाई सूचना पुग्यो ।
अमेरिकाले युक्रेनमार्फत रुसविरुद्ध चलाएको छद्मयुद्धलाई उचित जवाफ दिने उद्देश्यले रुसले अमेरिकी अधिकारी भएकै स्थानलाई ताकेर आक्रमण गरेको चेर्नायाकोब्रा डट् रु लेख्छ ।
अमेरिकी वा युक्रेनी अधिकारीहरू रुसी आक्रमणमा परेको कुरा युक्रेनले कहिले पनि सार्वजनिक गर्दैन, बरू सर्वसाधारण र गैरसैन्य संरचनामाथि रुसले आक्रमण गरेको भन्ने गर्छ ।
जे होस्, महत्त्वपूर्ण प्रश्न यो हो– भिन्नित्सियाको अफिसर्स क्लबमा अमेरिकी अधिकृतहरूको उपस्थितिको खबर पाउने गरी गुप्तचरहरू छिराउन रुस कसरी सफल भयो ?
यस्तै घटनाक्रमहरूले गर्दा जेलेन्स्कीलाई आफ्ना अधिकारीहरूप्रति शंकालु हुन बाध्य बनाएको हुन सक्छ । त्यही शंकाको आधारमा उनले बाकानोभ र भेनेडित्कोभालाई बर्खास्त गरेका हुन सक्छन् । यति नजिकका व्यक्तिलाई नै आफूप्रति बफादार बनाउन नसक्ने जेलेन्स्कीको भविष्य अन्धकारमय देखिन्छ ।