![दाँतको उपचारमा माइक्रोस्कोप प्रविधि : बुढेसकालसम्मै मज्जाले खाना चपाउन मिल्ने [भिडियोे]](https://lktcdn2.prixacdn.net/media/294228261_7843457852393500_3733161029940496128_n_siJDjF2piA.jpg)
लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो ।
एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको साथमा थिए डा. सुमन गौतम, जसले दूरबिन जस्तो देखिने प्रविधिबाट ती व्यक्तिको दाँतलाई मोनिटरमा हेर्दै उपचार गरिरहेका थिए ।
दाँतमा टर्च लगाएर हेर्ने र उपचार गर्ने विधि प्रयोगमा आइरहेको सन्दर्भमा मोनिटरमा हेरेर उपचार गर्ने विधि नविन थियो ।
‘दाँतको उपचारमा सानो चिजलाई ठूलो बनाएर हेर्ने प्रविधि हो यो । यसलाई डेन्टल अपरेटिङ माइक्रोस्कोप भनिन्छ,’ उनले भने, ‘आँखाले देख्न नसक्ने, सानोभन्दा सानो जीवाणुलाई यो प्रविधिको मद्दतले ठूलो देखाएर उपचार गर्न गरिन्छ ।’
नेपालभन्दा बाहिर धेरै पहिलेदेखि प्रचलित प्रविधि नेपालमा भने सन् २०१६ मा डा. सुमन गौतमले पहिलोपटक भित्र्याएका हुन् । बिस्तारै अरु स्थानमा पनि डेन्टल अपरेटिङ माइक्रोस्कोप प्रविधि विस्तार हुने क्रम बढ्दो छ ।
दाँतलाई निकाल्नेभन्दा पनि बचाउनेतर्फ लाग्नुपर्ने उनको तर्क छ, जुन रुट केनल उपचार विधिबाट गरिन्छ । डेन्टल अपरेटिङ माइक्रोस्कोपले दाँतको उपचारलाई थप सजिलो बनाएको डा. गौतमले लोकान्तरसँगको कुराकानीमा बताए ।
‘दाँतको थोरैभन्दा थोरै भागलाई मात्र क्षति पुर्याएर सकभर सबै दाँत बचाएर पहिलाकै अवस्थामा फर्काउन यो प्रविधिले ठूलो भूमिका खेल्ने गर्छ,’ उनले भने । यसले गर्दा वृद्ध मानिसले पनि खाना चपाएर खान सक्ने उनको तर्क छ ।
‘यो प्रविधि अपनाएर मैले ९० वर्षका वृद्ध बुवाको समेत दाँत नउखेलिकन जस्ताको तस्तै राखेर उपचार गरेको छु,’ उनले खुशी हुँदै भने ।
हेर्नुहोस् भिडियो –