
दाङका लागि १८ ‘डायलायसिस मशिन’ आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि ८ मशिन पठाएको हो ।
यसअघि प्रतिष्ठानमा ५ डायलायसिस मशिन मात्रै थिए भने प्रादेशिक अस्पतालमा पनि ५ वटा मात्रै थिए ।
सीमित मशिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो । लामो समय कुनुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो । अब भने त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहले बताए ।
‘यसअघि २३ जना मात्रै बिरामीलाई सेवा दिन सकिएको थियो,’ उनले भने, ‘अब भने ६० जनासम्म बिरामीलाई सेवा दिन सकिन्छ ।’
प्रतिष्ठानबाट पनि अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मशिन थपिएसँगै यस क्षेत्रका सबै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान भट्टराईले बताए । उनका अनुसार अहिले २ सिफ्टमा मात्रै सेवा दिने गरिएको भए पनि अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । आएका डायलायसिस मशिन सञ्चालनमा आउन करीब ३ महिना लाग्ने मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिंहले बताए ।
मन्त्रालयले प्रतिष्ठानका लागि एक्सरे मशिन पनि उपलब्ध गराएको छ । हाडजोर्नीको शल्यक्रियाका लागि मशिन उपलब्ध गराएको हो । प्रतिष्ठानका डिन डा. सागर पन्थीका अनुसार मशिन आएपछि हाडजोर्नी बिरामीका लागि उपयोगी हुनेछ ।