
दोस्रो विश्व युद्धका एक पाइलटले हालै १०२ औँ जन्मोत्सव मनाएका छन् । स्कटल्याण्ड निवासी ह्यारी ग्याम्पर नामक ति वृद्धले धुमधामका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । त्यसक्रममा उनले आफ्नो लामो आयुको राज पनि बताएका छन् । तीनवटा वस्तुको नियमित सेवनले आफू लामो समयसम्म बाँचेको उनको दाबी छ । उनले आफू हालसम्म पूर्णरूपमा स्वस्थ रहेको पनि बताएका छन् ।
‘द मिरर’का अनुसार १०२ वर्षका ह्यारी ग्याम्पर दोस्रो विश्व युद्धमा सामेल थिए । उनी रिटायर्ड पाइलट हुन् । दोस्रो विश्व युद्धका बेला उनी आरएएफ पाइलट थिए । उनको जन्म सन् १९२० मा भएको थियो । २०२० मा शुरू भएको कोरोना महामारीका बेला उनी १००औँ जन्मदिन मनाइरहेका थिए । तर, कोरोना महामारीका कारण जन्मदिन खास ढंगले बनाउने उनको चाहना भने अधूरो भयो ।
उनी फ्रान्स र जर्मनीमा सेवा पदकबाट सम्मानित भइसकेका छन् । उनले एटलान्टिक लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले आरएएफ पाइलट रहँदा १ हजार घण्टासम्म उडान भरेका थिए ।
उनले सन् १९८३ मा विवाह गरेका थिए । उनका दुई छोरा छन् । उनी रिटायर्डपछि आयरशायर (स्कटल्याण्ड)मा बसिरहेका छन् ।
लामो उमेरकाे राज
ह्यारी ग्याम्परले आफ्नो लामो आयुको राज बताएका छन् । उनका अनुसार राम्रो गुणस्तरको मदिरा, स्वच्छ भोजन र संगीत आफ्नो लामो आयुको राज रहेको उनको दाबी छ । उनले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो जीवन धेरै सुन्दर छ, मैले सधैं राम्रै जिन्दगी जीएको छु । मलाई कला, संगीत, राम्रो स्वच्छ खानपान र उच्च गुणस्तरको मदिरा मन पर्छ । यसका साथै तपाईंको वरिपरि कस्ता मानिसहरू बस्छन् भन्ने कुराले पनि अर्थ राख्छ । यही मेरो लामो आयुको राज हो ।’
वैज्ञानिकहरूद्वारा खोज जारी
बेलायतस्थित सीबीडी कम्पनी ईडन गेटले संसारका सबैभन्दा पाका मान्छेहरूको बारेमा अध्ययन गरेको थियो । उनीहरूले लामो समयसम्म बाँचेका मान्छेहरूको आयुको राज पत्ता लगाउने कोसिस गरेका थिए । अध्ययनका क्रममा १ सय वर्षभन्दा धेरै समय बाँचेका ६ जनालाई सामेल गराइएको थियो । उनीहरूले अध्ययनका क्रममा लामो आयुको पछाडि मुख्य चार कारण पत्ता लगाएका थिए ।
अध्ययनको निष्कर्षअनुसार उनीहरूको रहसहन, सामाजिक तथा आर्थिक हैसियत, चिन्ताको तह र भोजनलाई राज मानिएको थियो । अध्ययनका क्रममा १२२ वर्षका जीन लुइसलाई पनि सहभागी गराइएको थियो । उनी हालसम्म संसारमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति हुन् । यद्यपि उनको मृत्यु भइसकेको छ ।
अध्ययनमा संलग्न वैज्ञानिकहरूले ओलिभ तेल, रेड वाइन र चकलेटको सेवन पनि कारणका रूपमा स्वीकार गरेका थिए ।