२८ जेठ २०८३, बिहीबार

स्रोतलाई सार्वजनिक गर्ने कि सूचना ?

साउन २१, २०७९
स्रोतलाई सार्वजनिक गर्ने कि सूचना ?
  • सवितुः

पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ दिइएको सूचना सकभर प्रयोग गर्नु हुँदैन तर समाचारमा सञ्चारकर्मीले स्रोतको संरक्षण गर्न नजान्दा सूचनादातालाई नै संकट आइलाग्छ । 

हालै दार्चुलामा एउटा यस्तै प्रकृतिको घटना भएको छ, पत्रकारले समाचारमा प्रयोग गरिएको सूचनाको स्रोतको गोपनीयता कायम राख्न नसक्दा १ जना सुरक्षाकर्मीलाई जेल चलान गरिएको छ ।

दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई जेल पठाइएको छ । गणमा कार्यरत जनशक्तिमध्ये आधाजसोलाई बिदामा छाडेर प्रमुखले राशनमा घोटाला गरेको सूचना सञ्चारमाध्यमलाई उपलब्ध गराएपछि उनीविरुद्ध ‘गणको हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरण समेत खुल्ने गरी गोपनीयता भंग गरेको’ फर्जी मुद्दा लगाएर सशस्त्र प्रहरीको आन्तरिक न्यायिक संयन्त्रमा असार २२ गते मुद्दा दायर गरिएको थियो ।

तर सूचनाको हकसम्बन्धी ऐनको दफा २९(३) मा लेखिएको छ, ‘सूचना दिएका कारणले त्यस्तो सूचनादातालाई पदबाट मुक्त गर्न वा कुनै पनि किसिमको कानूनी दायित्व बहन गराउने गरी सजाय गरिने वा हानि नोक्सानी पुर्‍याउन पाइने छैन ।’ 

अमेरिकी पत्रिका ‘न्यूयोर्क टाईम्स’मा आचारसंहिता एवं स्तरसम्बन्धी फाँट हेर्ने सम्पादक फील कोर्बेटले ३० जुनमा एउटा लेख लेख्दै समाचारमा प्रयोग गरिने सूचनाका स्रोतहरूबारे उल्लेख गरेका छन् ।

परिचय खुलाउन नमान्ने स्रोतहरूले दिएका सूचना भरपर्दा नहुने हुँदा जोखिम यथावत् रहने अवस्थालाई उनले औंल्याएका छन् । समाचारमा परेका सूचनाका स्रोतहरू सार्वजनिक रूपमा चिनिन नचाहने, कसैलाई चर्चामा आउन मन नलाग्ने, कसैलाई जागिर जाने डर, कसैलाई सामाजिक रूपमा बहिष्कारमा परिन्छ कि भन्ने भय, कसैलाई व्यक्तिगत असुरक्षा हुने त्रास आदिलाई उनले लेखमा खुलाएका छन् ।

समाचारमा प्रयोग गरिने सूचनाका स्रोतहरूबारे जयप्रकाश आनन्दले लेखेको ‘मिडियाका अनेक रंगः पेशागत मर्यादा भुल्ने, स्वार्थ बोक्ने’ शीर्षकको लेखमा सूचनादाता र सञ्चारकर्मीको पेशागत मर्यादाबारे उल्लेख गरिएको छ ।

सूचना दिएबापत नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएका साहुलाई सूचनाको हकसम्बन्धी ऐन, राष्ट्रिय सूचना आयोग, नेपाल पत्रकार महासंघ, सूचनाको हकका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गर्ने अपेक्षा गरिँदैछ । 

हालसम्म समाचारमा बेनामी स्रोतहरू उदृत गरिँदा समाचारको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको थियो तर स्रोतले दिएको गोप्य सूचनालाई समाचारमा उल्लेख गर्दा त्यसबारे सञ्चारकर्मीले सावधानी अपनाउनुपर्नेमा असावधानीपूर्वक स्रोतको प्रयोग गरिदिँदा त्यसले स्रोतलाई पुर्‍याएको क्षतिबारे पनि लेखाजोखा गर्नुपर्छ । पत्रकारले सूत्रहरूको उल्लेख गरेर समाचार सामग्री तयार पार्दा संवेदनशील हुँदै सूचना सम्प्रेषणतर्फ विशेष ध्यान दिन जरुरी देखिन्छ ।

तोकिएका प्रवक्ता र सूचना अधिकारीहरू आमनागरिकको जानकारी र सरोकारका लागि सूचना दिनेभन्दा सूचना लुकाएर कार्यालयको अनियमितता ढाकछोप गर्नुपर्छ भन्ने मानसिकताबाट अभिप्रेरित भएर काम गरिरहेका अवस्थामा संगठनभित्र भएको खराब पक्षलाई साहुले सार्वजनिक गर्ने आँट गर्नु प्रशंसनीय छ ।

यस घटनाबारे गम्भीर अनुसन्धान गरी प्रमुखलाई कारवाही हुनुपर्ने हो । सँगसँगै साहुले पनि न्याय पाउनुपर्छ ।

(लेखक कञ्चनपुर निवासी हुन् ।)

salt training

कमेन्ट गर्नुहोस्