
वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा तरलता अभाव र संकुचनकारी कर्जा विस्तारको नीतिका कारण पनि २३.१४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । सञ्चालनमा रहेको २६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षमा ७४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तो नाफा अघिल्लो वर्ष ६० अर्ब ६० करोड रुपैयाँ मात्रै थियो ।
यो अवधिसम्ममा वाणिज्य बैंकहरूले ४४ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४० खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तो कर्जा विस्तार गर्दा बैंकहरूको खुद ब्याज आम्दानी १ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरूको यस्तो ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २१.३५ प्रतिशतले बढेको देखिएको छ । ब्याज आम्दानी बढेकै कारण बैंकहरूको नाफा पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष १४ अर्ब १० करोड रुपैयाँले बढेको सम्बन्धित बैंकहरूले जारी गरेको गत आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरणबाट देखिएको छ ।
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा बढाउन भने सिभिल बैंक सफल भएको छ । यो बैंकको नाफा १६५ प्रतिशतले बढेको छ ।
हिमालयन बैंकसँग विलय हुनेगरी सम्झौता गरेको यो बैंकले अरू सबै वाणिज्य बैंकलाई नाफाको वृद्धिदरमा पछाडि पारेको छ । नाफाको अंक ठूला बैंकसँगको तुलनामा थोरै भए पनि आक्रामक बजार विस्तारसहितको नीतिले नाफा बढाउनमा भने यो बैंक अब्बल ठहरिएको छ । सिभिलले नाफा ५२ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भइसकेको भए पनि एकीकृत कारोवार भने भएको छैन । नाफा बढाउनमा अब्बल बनेको सिभिलको तुलनामा हिमालयन बैंकले नाफाको वृद्धिदर भने निराशाजनक छ ।
हिमालयनको नाफा अघिल्लो आवको तुलनामा गत आव २०७८/७९ मा १७ प्रतिशतले घटेको छ ।
गत आवमा नाफा घट्नेमा ३ वटा वाणिज्य बैंक छन् । त्यसमा कृषि विकसपछि सबैभन्दा बढी नाफा घटेको बैंकमा छ भने त्यसपछि हिमालयन नै छ । हिमालयको नाफा २ अर्ब ९९ कारोडबाट घटेर २ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।
बैंकले एक वर्षमा साढे दुई अर्ब रुपैयाँ नाफा कमाएको भएपनि यस्तो नाफा अघिल्लो वर्षको तुलनामा अरू बैंकहरूको न्यूनतम ५.२ प्रतिशतदेखि १६५ प्रतिशतले बढ्दा हिमालयनको भने दोहोरो अंकले घटेको छ ।
नाफा घटेको अन्य दुई बैंकमा कृषि विकासको २३.६ प्रतिशत र सानिमा बैंकको ०.९ प्रतिशत रहेको छ ।
लाभांश क्षमता एभरेष्ट सबैभन्दा अब्बल
गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता एभरेष्ट बैंकले बनाएको छ । यो बैंकको वितरण योग्य नाफा गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ८९ करोड रुपैयाँ छ ।
यसको शेयर ९ अर्ब ४६ करोड रुपैयाँको छ । यो बैंकले आफ्ना शेयरधनीलाई दिन सक्ने लाभांशको क्षमता ४१.१५ प्रतिशत हुन आउँछ । यो लाभांश क्षमता अन्य सबै वाणिज्य बैंकको तुलनामा धेरै हो । ईपीएस करीब २७ को हाराहारीमा भए पनि रिजर्भ र ऋणपत्रको कमाइका कारण लाभांश क्षमता बढेको हो ।
शेयरधनीलाई लाभांश बाँड्ने क्षमता बढाउनेमा नबिल बैंक समेत अब्बलकै सूचीमा छ । यो बैंकले गत वर्षको नाफाबाट ३९.९४ प्रतिशत लाभांश बाँड्न सक्छ । नबिल बैंक शेयरधनीलाई नाफा बाँड्ने अब्बल बैंककै सूचीमा पर्छ । यो बैंकले गत वर्ष पनि अघिल्लो वर्षको नाफाबाट ३५.२६ प्रतिशत लाभांश दिएको थियो । एभरेष्टको जस्तै नबिलको पनि रिजर्भ र ऋणपत्रको आम्दानीले लाभांश क्षमता बढाउन सहयोग पुगेको हो ।
यो वर्ष लाभांश कम दिनेमा सनराइज बैंक हुने भएको छ । यसको लाभांश क्षमता जम्मा २.५३ प्रतिशत रहेको छ । सनराइजले गत वर्ष जम्मा २५ करोड ५६ लाख रुपैयाँ मात्रै वितरणयोग्य नाफा कमाएको छ । यस्तो नाफामा यसका १० अर्ब १ करोड रुपैयाँको चुक्तापुँजी रहेकाले लगानीकर्तालाई दिन सक्ने लाभांश साढे २ प्रतिशत मात्रै हो ।
यस्तो लाभांश अन्य सबै बैंकहरूको तुलनामा कम हो । गत वर्ष जम्मा साढे ५ प्रतिशत लाभांश दिएको सिभिल बैंकले भने पहिलोपटक लाभांश क्षमता दोहोरो अंकमा पुर्याएको छ । यो बैंकले ११.०९ प्रतिशत लाभांश दिनसक्ने छ । हिमालयनसँग मर्जरको सम्झौता गरिसकेको भएपनि एकीकृत कारोवार नगरेकाले यो वर्षको लाभांश सिभिलले नै दिने छ ।
लाभांश बढी दिने क्षमता भएकाले प्रति शेयर आम्दानीमा एभरेष्ट नै अगाडि छ । यसको प्रतिशेयर आम्दानी झण्डै २७ रुपैयाँ पुगेको छ । यस्तो आम्दानी गत वर्ष १९ रुपैयाँ मात्रै थियो ।
हेर्नुहोस्, कसको नाफा कति ?
राष्ट्रिय स्तरका विकास बैंकको नाफा ६ अर्ब ६२ करोड पुग्यो
गत आवमा राष्ट्रिय स्तरका विकास बैंकहरूले पनि करीब २६ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । विकास बैंकहरूको नाफा ५ अर्ब २६ करोड रुपैयाँबाट ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
यस्तो नाफा कमाउनमा सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक छ । यो बैंकले गत आवमा १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यसले गत वर्ष नै १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाइसकेको थियो । विकास बैंकहरूमा दुईवटा बैंकको नाफा १ अर्ब नाघेको छ ।
एक अर्बभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक पनि रहेको छ । यसले गत आवमा १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । यसको नाफा अघिल्लो वर्ष जम्मा ८३ करोड रुपैयाँ मात्रै थियो ।
हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरू सञ्चालनमा छन् । यी विकास बैंकमध्ये सबैभन्दा कम नाफा भने सांग्रिला विकास बैंकको ५९ करोड रुपैयाँ मात्रै छ । अरू विकास बैंकहरूमा महालक्ष्मीको ९५ करोड, ज्योतिको ७० करोड, लुम्बिनीको ६७ करोड, साइन रेसुङ्गाको ६४ करोड, कामना सेवाको ६३ करोड रुपैयाँ खुद नाफा रहेको छ ।