१३ असार २०८३, शनिबार

‘झमझम झम्काना’ करोड क्लबमा

गायक भागिरथ भन्छन्– टिकटक युट्युबसम्म पुर्‍याउने माध्यम बन्याे
‘झमझम झम्काना’ करोड क्लबमा

तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत एक महिनाअघि सार्वजनिक गरिएको थियो । गीतले सार्वजनिक भएको महिना दिनमै मंगलवार दिउँसो युट्युबमा करोड भ्युज पाएको हो । यो यसवर्ष सार्वजनिकमध्ये करोड क्लबमा पुग्ने एकमात्र तीजलक्षित गीत हो । 

युट्युबमा गीतलाई ८ हजार भन्दा बढी प्रतिक्रियाहरू आएका छन् । १ लाख १५ हजार बढीले लाइक गरेका छन् । यो गीत सार्वजनिक भएको केही दिनपछि एक साताभन्दा लामो समयसम्म युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा स्थान जमाएको थियो । 

गीत यतिबेला टिकटकमा पनि उत्तिकै हिट छ । लाखौं स्रोताले गीतका टुक्कामा टिकटक बनाएका छन् । बोमबहादुर गाहा मगरको शब्द, गायक भागिरथकै संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज छ । प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा गायक भागिरथसँगै ‘ओए काजल’ गीतबाट उदाएर भिडियोमा जमिरहेकी मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य छ । 

गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहेका भागिरथ ‘झमझम झम्काना’लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको बताउँछन् । 

उनले गीत सार्वजनिक गर्दै गर्दा एक किसिमको आशा रहेको तर यति धेरै ‘हिट’ हुने अपेक्षा नभएको सुनाए । उनले भने, ‘गत वर्षको तीज गीतभन्दा बढी गइदेओस् भन्ने थियो तर त्योभन्दा धेरै नै बढी चर्चित बन्यो ।’ 

गीत सार्वजनिक भएको एक/दुई दिन ‘स्लो’ रहेको भ्युजको गति तेस्रो/चौँथो दिनबाट बढेको थियो । उनी आफ्नो गीत स्रोता दर्शकसम्म पुर्‍याउनुमा टिकटकको विशेष भूमिका रहेको बताउँछन् । भन्छन्, ‘टिकटकमा चल्न थालेपछि चौँथौ/पाँचौं दिनबाट बल्ल भ्युजको गति बढेको हो ।’ ७५ भन्दा बढी गीतमा स्वर दिएको भागिरथको ‘झमझम झम्काना’ करोड क्लवमा पुग्ने दोस्रो गीत हो । 

एक दशकअघि विष्णु माझीसँगको स्वरमा सार्वजनिक प्रेम विरहको ‘कस्लाई सोध्ने होला ?’ बोलको गीतले यसअघि युट्युबमा करोड भ्युज पाइसकेको छ । अहिले तीज गीतलाई यति धेरै रुचाइदिएकोमा भागिरथ खुशी छन् । यसको मुख्य श्रेय स्रोता/दर्शक भएको भन्दै उनी सम्पूर्ण स्रोता एवं दर्शकलाई धन्यवाद व्यक्त गर्छन् । 

सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’लाई राजेश घिमिरेले छायांकन एवं विष्णु घिमिरेले सम्पादन गरेका हुन् । आउँदा दिनमा पनि स्रोता/दर्शकले रुचाउने खालका गीत ल्याउने प्रयास रहने भागिरथले बताए ।


कमेन्ट गर्नुहोस्