२५ जेठ २०८३, सोमबार

क्वाँटी किन खाने ? कसरी बनाउँने क्वाँटी ?

साउन २६, २०७९
काठमाडौं
क्वाँटी किन खाने ? कसरी बनाउँने क्वाँटी ?

नेपालमा वर्षभरि कैयौं चाडबाड मनाइन्छ । हाम्रो देशको विशेषता भनेको नै यहाँको धर्म, संस्कृति र मौलिक खानपान हो । हरेक चाडबाडमा आ–आफ्नै भोजनको विशेषता छ ।

जनैपूर्णिमाको दिन क्वाँटी खाने हाम्रो परम्परागत मौलिक परिकार हो । ४ दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक छन्, टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो ।

विभिन्न थरिका ९ गेडागुडीको टुसा उमारी पूर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।

भारी वर्षात्को समयमा आउने जनैपूर्णिमा अधिराज्यभर नै मनाउने प्रचलन छ । क्वाँटी शब्द नेपाल भाषाको क्वाँती शब्दबाट बनेको हो, जसअनुसार क्वाँको अर्थ तातो र तीको अर्थ झोल वा सुप हो । तसर्थ क्वाँती वा क्वाँटीको अर्थ तातो सुप भन्ने बुझिन्छ । जनैपूर्णिमाको समयमा अधिकांशको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खाने चलन छ । यस्ता गेडागुडीको मिश्रण खानुअघि यसलाई टुसा उम्रिने गरी पानीमा भिजाउने चलन छ ।

कसरी बनाउने क्वाँटी ?

क्वाँटी बनाउने तरिका समुदाय अनुसार फरक–फरक हुन्छ तर पनि काठमाण्डौंका स्थानीय रैथाने नेवारहरूले बनाउने क्वाँटी धेरैको जिब्रोमा झुन्डिन्छ । कत्तिले खसीको मासु मिसाएर बनाउँछन् भने कत्तिले राँगाको मासु हालेर पनि पकाउँछन् तर सादा रूपमा बनाउँदा पनि यो निकै स्वादिष्ट र पोषिलो पनि छ । क्वाँटी अन्तर्राष्ट्रिय रूपमा चिनिएको नेपाली मौलिक र लोक सुप पनि हो ।

क्वाँटी बनाउन चाहिने सामग्रीः

९ थरि मिसाएको गेडागुडी १ किलो, तोरीको तेल ४० एमएल, मिसेको अदुवा–लसुन ३ चिया चम्चा, ज्वानो १ र आधा चिया चम्चा, हरियो खुर्सानी ३ पिस, ताजा गोल्भेडा २ पिस, बेसार १ र आधा चिया चम्चा, खुर्सानीको धुलो १ चिया चम्चा, नून स्वाद अनुसार, मिक्स होल गरम मसला ५ ग्राम, गरम मसला पाउडर आधा चिया चम्चा, प्याज २ पिस, हरियो धनियाँ सानो १ मुठा, ताजा कुटेको जिरा धनियाँको पेस्ट १ चिया चम्चा, हिङ्ग पिन्च, पानी या स्टक १ र आधा लिटर (आवश्यकताअनुसार थप्न सकिन्छ) ।

क्वाँटी बनाउने विधिः 

गेडागुडीलाई २४ घण्टा भिजाएर राख्ने र छानेर फेरि ३ दिनसम्म जालीमा राखी उमार्ने । बिन्स स्प्राउट जस्तो राम्ररी टुसा देखिन थालेपछि क्वाँटीका लागि उत्तम हुन्छ । प्रेसर तताएर तेल हाल्ने र ज्वानो फुराएलगत्तै होल गरम मसला, चप ग्रिन चिल्ली, अदुवा–लसुन, काटेको प्याज हाली भुट्ने ।

ब्राउन कलर देखिनासाथ बेसार, हिङ्ग, जिराधनियाँ, खुर्सानी पाउडर, गरम मसला पाउडर हाली चलाउने र काटेको गोलभेडा हाली सानो आँचमा पकाउने । उम्रेको गेडागुडी हाली राम्ररी चलाइ स्टक या पानी आवश्यकताअनुसार हाली उमाल्ने र स्वादअनुसार नून हाली ४ या ५ सिट्टी मद्यम आँचमा पकाउने । पाक्नासाथ काटेको धनियाँ हाली भुजासँग या सुपको रूपमा पनि पिउन सकिन्छ ।

कसैकसैले नून बेसार हालेर उसिनेर पछि ज्वानो र मसलाले झानेर खाने चलन पनि छ । कसैकसैले झान्ने क्रममा पन्चफरम हाल्ने पनि गर्छन् । जसरी पकाए तापनि वर्षामा गाडिएको सर्दी निकाल्नका लागि गरम मसला मरिच हालेर क्वाँटी खाने प्राचीन संस्कार चलिआएको छ ।

salt training

कमेन्ट गर्नुहोस्