२६ असार २०८३, शुक्रबार

डायलायसिस मशिन आयो तर आएनन् जडान गर्ने प्राविधिक, ८ उपकरण प्रयोगविहीन

डायलायसिस मशिन आयो तर आएनन् जडान गर्ने प्राविधिक, ८ उपकरण प्रयोगविहीन
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ डायलायसिस मशिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि ८ मशिन दाङ आइसकेका छन् ।

साउन १३ गते डायलायसिस मशिन आएकोमा जडानको काम अगाडि बढेको छैन ।

जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताए ।

मशिन आए पनि अन्य सामग्री नआएको उनले बताए ।  रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो ।

‘मशिन त आए तर अन्य सामग्री आउनुपर्छ,’ उनले भने, ‘प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन ।’

अहिले राप्ती प्रादेशिक अस्पतालमा ५ डायलायसिस मशिन छन्, जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप ८ मशिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ मशिन छन् । ५ मशिनबाट हालसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मशिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए ।

उनका अनुसार अहिले २ चरणमा मात्रै सेवा दिने गरिएको छ । अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । अहिले करीब ४० बिरामी उपचारको प्रतिक्षामा छन् । उनीहरूलाई पनि सेवा दिन सकिन्छ । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्