
नेपालका पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल नवीकरण विना नै अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ ।
पर्यटन ऐन, ३०३५ तथा पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० अनुसार होटल व्यवसाय अनिवार्य दर्ता र नवीकरण गरेर मात्रै सञ्चालन हुनुपर्छ ।
उक्त व्यवस्थाविपरीत पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटल नवीकरणविनै सञ्चालन भइरहेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार ५ वटा पाँचतारे होटलले नवीकरण गरेका छैनन् । यसमध्ये पोखराको फूलबारी रिसोर्ट वर्षौंदेखि बन्द छ ।
फूलबारी रिसोर्ट १९ कात्तिक २०५६ मा पाँचतारे होटलमा वर्गीकरण भए पनि त्यसपछि एकपटक पनि नवीकरण भएको देखिएको छैन । यो होटल बन्द भएकाले नवीकरण नभएको हुनसक्ने पर्यटन विभागको भनाइ छ ।
त्यसो त ०५६ पछि एकपटक सञ्चालनमा आउँदा पनि नवीकरण भएन ।
कोरोना महामारीपछि दरबारमार्गको होटल अन्नपूर्ण पनि बन्द छ । यो होटल बन्द भएको औपचारिक जानकारी भने विभागलाई छैन । विभागले सञ्चालनमै रहेको भन्ने सूचीमा राखेको छ ।
अन्य तीनवटा पाँचतारे होटल विनानवीकरण अवैधरूपमा निर्बाध सञ्चालन भइरहेको विभागकै तथ्यांकले देखाएको छ ।
पर्यटन मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको एक तथ्यांकअनुसार द होटल एभरेष्ट इन्टरनेसनल १२ मंसिर २०७० पछि नवीकरण भएको छैन ।
केही वर्ष बन्द भएर पुनः सञ्चालन आएको यो होटल नवीकरण नगरी सञ्चालनमा रहेको हो ।
राजधानीको लाजिम्पाटमा रहेको ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) पनि २५ असार २०७४ पछि नवीकरण भएको छैन । उसको नवीकरणको म्याद गएको असार मसान्तमा सकिएको हो ।
नवीकरण नगरी सञ्चालन गर्ने पाँचतारे होटलमा याक एण्ड यति पनि छ ।
यो होटल २२ फागुन २०७० देखि नवीकरण भएको छैन । २४७ कोठा संख्या रहेको होटल निरन्तर सञ्चालनमा रहेपनि ९ वर्षदेखि नवीकरण नभएको पर्यटन विभागको तथ्यांकले देखाएको छ ।
पब्लिक कम्पनीका रूपमा रहेका र सर्वसाधारणको समेत लगानी रहेका यस्ता होटल नेप्सेमा समेत सूचीकृत भएपनि नवीकरणविना नै सञ्चालन भइरहेको पाइएको छ ।
नवीकरण नभएका होटलले विदेशी मुद्रा विनिमय कारोवारको अनुमति पाउँदैनन् । पर्यटन विभागको सिफारिशमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोवारको अनुमति दिने हो ।
पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद उपाध्यायका अनुसार सेवा सञ्चालन गर्दा पर्यटक स्तरदेखि पाँचतारे डिलक्सम्मका सबै होटलले नवीकरण गर्नुपर्छ ।
बर्सेनि करोडौंको कारोवार गर्ने होटलहरूले हरेक ५ वर्षमा सामान्य शुल्क (बढीमा १ हजार रुपैयाँ) तिरेर नवीकरण गर्न सक्छन् । तर पनि होटलहरू नवीकरण नगरी अवैध रूपमा सञ्चालन भइरहेका छन् ।
नवीकरण नगरेका होटललाई पर्यटन विभागले विदेशी मुद्रा कारोवार, हरियो नम्बर प्लेटको पर्यटकीय सवारी साधनको प्रयोग र प्राथमिकता प्राप्त उद्योगअन्तर्गत भन्सार सहुलियतको सिफारिश गर्न मिल्दैन । तर, त्यसविपरीत नवीकरण नगरेका होटलले पनि यी सुविधा लिएर पर्यटकलाई सेवा दिइरहेका छन् ।
विभागको तथ्यांकअनुसार दरबारमार्गमा रहेको होटल डेला अन्नपूर्ण पनि २७ कात्तिक २०७३ देखि नवीकरण भएको छैन । कोरोना महामारीपछि यो होटल सञ्चालमा नरहेकाले पनि होटल नवीकरण नगराई बसेको हुन सक्ने पर्यटन विभागकै अधिकारीको भनाइ छ ।
पर्यटन विभागका अनुसार होटल नवीकरण विना सञ्चालन गर्न पाइँदैन । नवीकरण नभएका होटललाई विभागले अनुगमन गरी कारवाही गर्न सक्छ भने पर्यटकीय सेवा सुविधा र डलर सटहीको सिफारिश पनि गर्न मिल्दैन ।
विभागका सूचना अधिकारी उपाध्यायका अनुसार डलर सटहीको सुविधा लिन पनि हरेक होटलले ६/६ महिनामा विवरण अनिवार्य बुझाउनु पर्छ ।
अनुगमन गरेर कारवाही गर्ने जिम्मेवारी विभागले समेत पूरा गरेको देखिँदैन । नवीकरण नगर्ने होटलहरूलाई कारवाहीका लागि विभागले कुनै पहलकदमी लिएको देखिँदैन ।
नवीकरण नगरेका होटलले कसरी डलर सहटी सुविधा लिएका छन् र किन नवीकरण गरेनन् भन्ने विषयमा बुझेर मात्रै भन्न सकिने उपाध्यायले लोकान्तरलाई बताए ।
होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले पर्यटन विभागमा दर्ता नभएका होटलको अनुगमन गरेर अनिवार्य दर्ता गराउने र दर्ता भएकालाई नियमित नवीकरण पनि गराउनुपर्ने बताए ।
व्यवस्थामा केही परिवर्तन भएकाले पनि नवीकरण नभएको हुनसक्ने उनको भनाइ छ ।
‘पर्यटकस्तरीयका ५० बेडसम्मका होटलले प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइईई)गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था पछिल्लो समय २५ बेडसम्मकाले नै गर्नुपर्ने गरी अनिवार्य गरेकोले त्यसको प्रक्रिया पूरा नभएर रोकिएको हुनसक्छ ।’
अन्यथा सबै होटलको नवीकरण अनिवार्य हुनैपर्ने बुझाइ शाक्यको छ । कुनै होटल प्रक्रिया भएका र कुनै समस्या भएर रोकिएको हुनसक्ने बाहेक सबै कानूनी दायरा र प्रक्रियामा नै आउनुपर्ने शाक्यले बताए ।
नेपालमा विदेशी पर्यटक भित्र्याउने र सेवा दिने पर्यटन क्षेत्रको प्रमुख उद्योग होटल नै नवीकरणविना अवैध सञ्चालन हुनुले नकारात्मक सन्देश गइरहेको छ । होटल नवीकरण हुन होटलले सेयर संरचनाको विवरण बुझाउनेदेखि आवश्यक तोकिएको प्रक्रियासमेत पूरा गर्नुपर्ने पर्यटन विभागको भनाइ छ ।
यो व्यवस्थालाई लत्याएर होटलहरू अवैधानिक रूपमा सञ्चालन भइरहेका छन् ।
हेर्नुहोस्, पर्यटनस्तर र त्यसमाथिका होटलहरूको सूची :