१६ असार २०८३, मंगलबार

योगमाया विश्वविद्यालयलाई ४८ रोपनी जग्गा

योगमाया विश्वविद्यालयलाई ४८ रोपनी जग्गा

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जग्गा  उपलब्ध गराइएको छ । नगरपालिका–९ ढुंगे बिसौनामा विश्वविद्यालय पूर्वाधार समितिको नाममा ४८.६७ रोपनी जग्गा  रजिस्ट्रेसन पास भएको समितिका सदस्य खड्गबहादुर राईले जानकारी दिए । 

स्थानीय मानबहादुर तामाङको १९.९२, तिलकबहादुर तामाङको ४.४८, ग्यामबहादुर सुब्बाको ४, धनमाया श्रेष्ठको २.२, केशरबहादुर श्रेष्ठको १.५४ र सफलमाया श्रेष्ठको १६.७१ रोपनी जग्गा पूर्वाधार समितिको नाममा रजिस्ट्रेसन पास भएको राईले जानकारी दिए । जग्गा खरिद गर्न सरकारले समितिको नाममा सात करोड रुपैयाँ विनियोजन गरिसकेको छ ।  

प्रतिनिधिसभाको गत साउन १० गते बसेको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको थियो । तुम्लिङटारमा योगमाया आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माण समितिको फिल्ड कार्यालय स्थापना भइसकेको छ । अरुण उपत्यकामा स्थापना हुने भएसँगै स्थानीय उत्साहित भएका छन् ।

विश्वविद्यालयका लागि संखुवासभाको खाँदबारी नगरपालिका क्षेत्रको ३७२ रोपनी र भोजपुरको षडानन्द नगरपालिकामा २३३ रोपनी जग्गा खरिद प्रक्रिया थालिएको छ । वि.स.१९२४ सालमा भोजपुरको नेपालेडाँडामा जन्मिएकी सामाजिक आन्दोलनकर्ता योगमाया न्यौपानेले १९९८ असार २२ गते एकादशीका दिन आफ्ना ६७ सहयोगीसहित अरुण नदीमा जलसमाधि गरेकी थिइन । उनलाई प्रथम विद्रोही नारीका रुपमा पनि चिनिन्छ । उनको वास्तविक नाम मायादेवी न्यौपाने हो । आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न विश्व विद्यालय स्थापना भएको हो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्