
२०७० सालमा पनि मंसिर ४ गतेका लागि नै संविधान सभाको दोस्रो चुनावको मिति तोकिएको थियो । अहिले एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपाल त्यतिबेला एमालेबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । उनले काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए ।
कात्तिक महिनाको अन्तिम सातातिरको कुरा हो । उनी काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारमा थिए । प्रचारकै क्रममा एक दिन साँझ नेपाललाई चुनाव परिचालन टीमले कोटेश्वरनजिकै तर, पहिले तय भएको भन्दा भिन्नै कार्यक्रममा सहभागी गरायो ।
कार्यक्रम लम्बियो । कार्यक्रममा सहभागीमध्ये केहीले नेता नेपालमाथि चर्को टिप्पणी गरेका थिए । त्यसबाट नेपाल बिच्किए । निर्वाचन परिचालनको कमाण्डर थिए, गगांलाल तुलाधार ।
त्यसैदिन साँझ ७ बजेतिर नेपालले आफ्नै निवासमा चुनावी प्रचारबारे समीक्षा गर्ने र नयाँ योजना बनाउने कार्यक्रम राखेका थिए । चुनावी समीक्षा शुरू नहुँदै नेपाल तुलाधारसँग कड्किए । शेड्युलमा नभएको कार्यक्रममा जबर्जस्ती सहभागी गराएको र अनावश्यक आलोचना सुन्नुपरेको भन्दै तुलाधरमाथि आक्रोश पोखे ।
त्यसबेला झोक्किँदै नेपालले भनेका थिए, ‘यहाँको चुनाव जेसुकै गुर्नहोस्, म भोलि नै रौतहट जाने हो । अब भोट हाल्ने बेला मात्रै फर्कन्छु ।’ त्यसबेला कसैले प्रतिवाद गरेन । निर्वाचन परिचालन टीमका सबै सदस्य निरीह बनेर सुनिरहे ।
उनको यो अभिव्यक्तिले पनि उनी रौतहटमा कति सहज महसूस गर्छन् भन्ने बुझाउँथ्यो । २०६४ को निर्वाचनमा एमालेले नराम्ररी हार ब्यहोरेका कारण नेपाल पार्टी नेतृत्वबाट पन्छिनुपरेको थियो । नेपाल आफैँले पनि दुई ठाउँबाटै चुनाव हारेका थिए । उनलाई २०७० मा जसरी पनि चुनाव जित्नु परेको थियो र दुई ठाउँबाटै उम्मेदवारी दिएका थिए । अन्तिममा उनले दुवैतिर जिते । पछि नेपालले रौतहट रोजेर काठमाडौं छाडे । काठमाडौं २ मा भएको उपनिर्वाचनमा कांग्रेसका दीपक कुइँकेल विजयी भए ।
२०७२ मा संविधान जारी भएपछि कुनै पनि उम्मेदवारले एउटा निर्वाचन क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था भयो । त्यसपछिको २०७४ को चुनावमा नेपालले रौतहट छाडे र काठमाडौं रोजे । २०७४ मंसिरको चुनावमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । काठमाडौं क्षेत्र नम्बर– २ बाट माधव नेपालले सहज जीत निकाले ।
एमाले अध्यक्ष केपी ओलीसँग माधव नेपाल समूहको ‘केमेस्ट्री’ मिलेन । गत साल भदौमा पार्टी फुट्यो । माधव नेपाल एकीकृत समाजवादीको अध्यक्ष भए । अहिले चुनावमा उनलाई जसरी पनि जित्नुपर्ने छ । त्यसैले उनी सहज निर्वाचन क्षेत्रको खोजीमा छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल आगामी दिनमा पनि प्रधानमन्त्रीका दाबेदार हुन् । अर्कातर्फ, एमालेबाट विभाजित भएर नयाँ पार्टीको अध्यक्ष भएका कारण पनि उनलाई चुनाव जितेर पार्टी विभाजनको औचित्य पुष्टि गर्नुपर्ने दबाब छ ।
यिनै दबाब र जीतहारको हिसाब गरेर यसपटक फेरि माधव नेपाल चुनावमा तराई झर्ने योजनामा देखिएको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् । भलै, नेपालले भने औपचारिकरूपमा कहाँबाट चुनाव लड्ने भन्ने उद्घोष गरिसकेका छैनन् । उनका निकटस्थहरूका अनुसार, नेपालले काठमाडौं २ मा चुनाव जित्नका लागि त्यति सहज देखेका छैनन् ।
माधव नेपालका लागि निर्वाचन क्षेत्र छाड्न सत्तारूढ गठबन्धनमा रहेका सबै दल तयार नै देखिन्छन् । एकीकृत समाजवादीका लागि काठमाडौं उपत्यकामा– ३ वटा निर्वाचन क्षेत्र दिने पूर्व सहमति गठबन्धनमा रहेको उक्त दलका एक नेताले बताए ।
गत वैशाखमा भएको स्थानीय तहको सिट बाँडफाँटकै क्रममा काठमाडौंमा ३ सिट दिने सहमति भएको पदाधिकारी तहका एक नेताले बताए । तर, एकीकृत समाजवादीले कुन–कुन निर्वाचन क्षेत्र पाउने भन्ने खुलेको छैन ।
माधव नेपाल उम्मेदवार हुँदै आएको काठमाडौं क्षेत्र नम्बर २ र जीवनराम श्रेष्ठ उम्मेदवार हुँदै आएको क्षेत्र नम्बर ८ एकीकृत समाजवादीले पाउने देखिन्छ । तर, अर्को एउटा कुन निर्वाचन क्षेत्र एकीकृत समाजवादीले पाउने हो भन्नेमा गठबन्धन छलफलकै क्रममा छ ।
काठमाडौंमा जुनसुकै निर्वाचन क्षेत्र पाए पनि माधव नेपालको मन भने रौतहट पुगिसकेको देखिन्छ । रौतहटमा उनको आउजाउ, त्यहाँ नेता कार्यकर्तासँगको भेटघाट र आफू उम्मेदवार हुने निर्वाचन क्षेत्रको पूर्वाधार विकासमा पछिल्लो समय देखाएको चासो हेर्दा उनी आगामी संसदीय चुनाव रौतहटबाटै लड्दैछन् भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।
गत साउन १६ मा रौतहटको सदरमुकाम गौर पुगेर नेपालले ४२ करोड लागतका विभिन्न आयोजनाको शिलान्यास गरेका छन् ।
नेपाल सरकारको शहरी विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा सबगढा, टिकुलिया र सिर्सियामा सडक निर्माण आयोजनाको उनले शिलान्यास गरेका छन् ।
ती आयोजनाका लागि मन्त्रालयले बजेट छुट्ट्याएको थिएन, तर उनकै पार्टीबाट मन्त्री भएका मेटमणि चौधरीलाई ‘बोर्डर टाउन’ आयोजनाको पैसा हाल्न सहमत गराएर नेपालले ती आयोजनाको शिलान्यास गरेका थिए । त्यस दिन नेपालले रौतहटको विकासमा आफूले निरन्तर योगदान गर्दै आएको दाबी समेत गर्न भ्याएका थिए ।
किन छाड्दैछन् काठमाडौं ?
माधव नेपालले काठमाडौंको निर्वाचन क्षेत्र छाड्नुको एउटै कारण हो, स्थानीय तह निर्वाचनमा उनको पार्टीले पाएको मत ।
नेपालको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहमा एकीकृत समाजवादीले एउटा वडाध्यक्ष मात्रै जित्न सकेको छ ।
उनको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ र ३२ पर्छन् भने धेरैजसो चाहिँ कागेश्वरी मनोहरा नगरपालिकाको क्षेत्र पर्छ ।
गत चुनावमा एकीकृत समाजवादीले कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्ष मात्रै जितेको छ ।
अर्कातर्फ, काठमाडौंका निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको दबदबा देखिन थालेको छ । मतदाताको मनस्थिति पनि फेरिएको अहिलेको अवस्थामा काठमाडौंको निर्वाचन क्षेत्र नेपाललाई निको नलागिरहेको उनी निकट नेताहरू बताउँछन् ।
माधव नेपालले काठमाडौं क्षेत्र नम्बर २ छाड्न खोज्नुको अर्को कारण हो, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच हुन सक्ने सम्भावित चुनावी तालमेल । ती दुई पार्टी मिलेको अवस्थामा कांग्रेस र माओवादी केन्द्रले नेपाललाई सहयोग गर्दा पनि जित्न असाध्यै मुश्किल पर्ने विश्लेषण नेपालनिकट नेताहरूको छ ।
काठमाडौं क्षेत्र नम्बर २ मा सिनामंगल, तीनकुने, कोटेश्वर, जडिबुटी जस्ता घना शहरदेखि काठमाडौंको पूर्वी भेगमा रहेका जरसिंहपौवा, नाङ्लेभारे जस्ता गाउँहरू पर्छन् । धेरैजसो काँठ क्षेत्र उनको निर्वाचन क्षेत्रमा पर्छ । ती क्षेत्रमा स्वतन्त्रको प्रभाव कम हुने भए पनि राप्रपा र एमालेले गर्नसक्ने सहकार्यलाई नेपालले प्रमुख चुनौतीकोरूपमा लिएका छन् ।
एकीकृत समाजवादीले तयार पारेको तथ्यांक अनुसार, एमाले र राप्रपा मिल्दाको मत नै करीब २४ हजारभन्दा माथि हुन आउँछ ।
काठमाडौं क्षेत्र नम्बर– २ मा गठबन्धनको मत जित्नलाई पूर्णरूपमा भर पर्न सकिने खालको छैन । एमाले र राप्रपाको मत एक ठाउँमा हुँदा २४ हजार ५२८ छ । गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा २५ हजार १७० हुन्छ । एमाले र राप्रपाको मतको योगभन्दा गठबन्धनमा रहेका दलको मत ६४२ ले मात्रै अघि छ ।
नेपाल काठमाडौंबाटै लड्दा पनि गठबन्धनका दलहरू चुनावमा सघाउन तयार छन् । काठमाडौं– २ मा कांग्रेस र माओवादी केन्द्रका पनि हेभी वेट उम्मेदवार छैनन् ।
माधव नेपालले काठमाडौं– २ छाडेको अवस्थामा उम्मेदवार बन्न सकिने भन्दै एकीकृत समाजवादीकै नेतृ रामकुमारी झाँक्रीले पनि त्यहाँको राजनीतिलाई नजिकबाट नियालिरहेकी छिन् । तर, उनले गुल्मी– २ रोज्ने कि काठमाडौं– २ भन्नेमा अझै निर्क्यौल गरिसकेकी छैनन् ।
चुनावी खर्च र खटनको हिसाबले काठमाडौं सजिलो हुने तर, भावना र आत्मीयताको हिसाबले गुल्मी नै उपयुक्त हुने विश्लेषण उनले सुनाउने गरेको रामकुमारी निकटका नेताहरू बताउँछन् ।
गुल्मीको चुनाव सहज नदेखेको अवस्थामा काठमाडौं– २ बाट रामकुमारी उम्मेदवार बन्न सक्ने सम्भावना पनि उत्तिकै रहेको समाजवादीका नेताहरू बताउँछन् ।
शहरी विकास मन्त्री हुँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग गरेको सहकार्यका कारण पनि स्वतन्त्रहरूले समेत उनलाई सघाउने आश्वासन दिएको चर्चा हुने गरेको छ ।
रौतहटमा के छ अवस्था ?
रौतहट माधव नेपालको गृहजिल्ला हो ।
उनले २०५१ को मध्यावधि र २०५६ को आम चुनावमा रौतहटबाटै चुनाव जितेका थिए । २०६४ मा भने देशभर माओवादी केन्द्रको हावी थियो । त्यसबेला माधव नेपालले रौतहट र काठमाडौं दुवै ठाउँबाट चुनाव हारेका थिए ।
तर, अहिले परिस्थिति बदलिएको छ । काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय तहमा असाध्यै कमजोर नतिजा पाएको एकीकृत समाजवादीले रौतहटको क्षेत्र नम्बर १ मा भने शानदार मत ल्याएको छ ।
प्रतिनिधि सभाको क्षेत्र नम्बर १ मा पर्ने गौर र राजदेवी नगरपालिकामा एकीकृत समाजवादीले कार्यपालिकामा बहुमत हुने गरी चुनाव जितेको छ । जुन संसदीय चुनावमा माधव नेपालका लागि सहजताको विषय हो ।
त्यसबाहेक, यमुनामाई र दुर्गा भगवती गाउँपालिका तथा माधव नारायण नगरपालिका रौतहटको क्षेत्र नम्बर–१ म पर्छ । दुर्गा भगवतीमा माओवादी केन्द्रले जितेको छ ।
यमुनामाईमा लोकतान्त्रिक समाजवादी पार्टीले चुनाव जितेको छ ।
पाँचदलीय गठबन्धनमा रहेर चुनाव लड्ने तयारी गरेको माधव नेपालका लागि सहयात्री दलका मतदाताले पनि भोट दिन्छन् ।
त्यसो हुँदा उनलाई चुनाव जित्न सजिलो हुने गौर नगरपालिकाका मेयर शम्भु साह बताउँछन् । उनी एकीकृत समाजवादीका नेता पनि हुन् ।
आगामी चुनावमा रौतहटको क्षेत्र नम्बर १ बाट माधव नेपाल उम्मेदवार हुने उनी बताउँछन् ।
‘हामी माधव नेपाललाई उम्मेदवार बनाउन तयार छौं । अबको चुनावमा यहाँबाट उहाँले नै चुनाव लड्नुपर्छ । हामी जिताएर पठाउँछौं’, साहले भने ।
रौटहटको क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनविरूद्ध एमाले र अन्य दलको मत असाध्यै कम छ ।
एकीकृत समाजवादीको १९ हजार ६९८, कांग्रेसको १६ हजार ९२८, जसपाको ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ ।
यी सबैको योग ५३ हजार ५८ हुन्छ । एमालेको मत भने ७ हजार ३८५ मात्रै छ । यो मतको हिसाबले पनि माधव नेपाललाई रौतहटबाट चुनाव जित्न सहज देखिन्छ ।
चुनाव लड्नका लागि माधव नेपाल आउने भएपछि अन्य स्थानीय नेता कसैले पनि दाबी नगरेको उनले बताए ।
‘माधव नेपाल नै उम्मेदवार हुन आउने सम्भावना देखिएपछि हाम्रो पार्टीमा यहाँका अरू कसैले पनि दावी गरेका छैनन्’, साहले भने ।
रौतहटको क्षेत्र नम्बर १ मा एमालेले भने अजय गुप्तालाई उम्मेदवार बनाउने तयारी गरेको छ । उनी गत स्थानीय चुनावमा एकीकृत समाजवादीका शम्भु साहसँग पराजित भएका हुन् ।
अघिल्लोपटक उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार थिए । अहिले उनै गुप्ता संघीय चुनावमा टिकटको वाचासहित एमाले प्रवेश गरेको स्थानीय नेताहरू दाबी गर्छन् ।