
रणस्मृति पुरस्कार संस्था बागलुङले विक्रम संवत् २०७८ सालको ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गरेको छ ।
८ हजार राशिको पुरस्कार शुक्रवार आयोजित संस्थाको ३०औं वार्षिकोत्सव समारोहमा साहित्यकार विकल्पलाई समर्पण गरिएको हो । नेपाली भाषा, साहित्यको उन्नयनमा पुर्याएको योगदानबापत उनलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताए ।
समारोहमा साहित्यकार विकल्पले पुरस्कारले सिर्जनाकर्ममा अझ सक्रिय हुन उत्प्रेरणा थपेको उल्लेख गरेका छन् ।
पर्वत साहित्य संगमका संस्थापक अध्यक्ष समेत रहेका विकल्पका कविता संग्रह ‘सम्झनाका डोबहरू’, मुक्तक संग्रह ‘भुल्काहरू’, लघुकथा संग्रह ‘सर्वदलीय घर’, गजल संग्रह ‘लालीगुराँस फूल्ने मन’ लगायत कृति प्रकाशित छन् ।
उनले साहित्यिक पत्रिका ‘कालीको सुसेली’को सम्पादन पनि गर्दै आएका छन् । यसअघि पुरस्कारबाट पोखराका साहित्यकार तीर्थ श्रेष्ठ, तनहुँका अनिल श्रेष्ठ, भैरहवाका बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसकेका छन् ।
विक्रम संवत् २०५० सालमा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुबा रणबहादुरको स्मृतिमा पुरस्कार संस्था स्थापना गरेका थिए । संस्थाले विक्रम संवत् २०७४ सालदेखि साहित्यतर्फ पुरस्कार दिन थालेको हो ।
सोही समारोहमा बालमन्दिर आधारभूत र रुद्रेपिपल माध्यमिक विद्यालयका उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको संस्थाले जनाएको छ । पुरस्कार पाउनेमा बालमन्दिर आविमा ५ कक्षामा पढ्ने अमृत परियार, अस्मिता आले र रुद्रेपिपल मावि ८ कक्षामा अध्ययनरत नन्दनी शाह, किस्मत सुवेदी र नारायण पौडेल छन् ।
विक्रम संवत् २०५० सालमा स्थापित संस्थाले बर्सेनि साहित्यकर्मी र विद्यार्थीलाई पुरस्कृत गर्दै आएको छ ।