
नेपाली समाजमा घरज्वाइँ बस्नुलाई राम्रो मानिँदैन । अधिकांशले घर ज्वाइँ बस्नुलाई स्वाभिमानसँग जोडेर हेर्ने गरेका छन् । तर, भारतको यस्तो एउटा गाउँ छ, जहाँ ससुराली बनाउनेहरू उक्त गाउँ छाडेर जानै नसकेपछि छुट्टै बस्ती बसालिएको छ ।
भारतको उत्तरप्रदेशस्थित कानपुरको एउटा गाउँको पहिचान नै बदलिएको छ । ज्वाइँहरूका कारण उक्त गाउँको नाम नै फेरिएको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कानपुरको देहात जिल्लाको अकबरपुर सरियापुर क्षेत्रको एउटा गाउँलाई ज्वाइँहरूप्रति समर्पण गर्दै ‘ज्वाइँ गाउँ’ (दमादनपुरवा) नामाकरण गरिएको छ । यो कानपुर मुख्यालयबाट १० किलोमिटरको दूरीमा पर्दछ । गाउँबासीका अनुसार उक्त गाउँमा अधिकांश घरज्वाइँ छन् । उक्त गाउँमा सन् २००५ मा रहेका जम्मा ७० घरमध्ये ४० घर ज्वाइँहरूको रहेको थियो । त्यहीबखत उक्त गाउँको नयाँ नामाकरण गरिएको थियो ।
उक्त गाउँका चेलीबेटी बिहे गरेका एकपछि अर्कोले घर बनाउन थालेपछि गाउँको नाम नै ज्वाइँ गाउँ राखिएको बताइएको छ । सरकारी दस्तावेजमा समेत उक्त गाउँको नाम ज्वाइँ गाउँ (दमादनपुरवा) लेख्न थालिएको छ ।
बुद्धिजिवीहरूका अनुसार सन् १९७० मा सरियापुर गाउँकी राजकुमारीको विवाह जगम्मनपुर गाउँका सावरे कथेरियासँग भएको थियो । सावरे ससुरालीमै बस्न थाले । उनलाई सरियापुरभन्दा केही माथि जमीन दिइयो । उनी यो संसारमा छैनन् । तर, उनले शुरु गरेको ससुराली बस्ने सिलसिला भने आजसम्म जारी छ ।
उनीपछि जुरै घाटमपुरका विश्वनाथ, झबैया अकबरपुरका भरोसे, अण्डवा बरौरका रामप्रसादले सरियापुरकी चेलीसँग विवाह गरेर त्यही ठाउँमा घर बनाए । सन् २००५ सम्म आउँदा ४० ज्वाइँहरूले घर बनाइसकेका थिए । त्यसपछि सन् २००५ मै उक्त गाउँलाई ‘ज्वाइँहरूको गाउँ’का रूपमा नामाकरण गरिएको थियो ।
स्थानीयवासीले २००५ देखि नै ज्वाइँ गाउँ नामकरण गरे पनि सरकारी कागजातमा उक्त कुरा उल्लेख गरिएको थिएन । तर, जब सन् २००७ मा त्यहाँ विद्यालय स्थापना गरियो, विद्यालयको नामकरणका बेलामा सरकारी कागजमा समेत ‘ज्वाइँहरू गाउँ’कै रूपमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घरज्वाइँ परम्परा तेस्रो पुस्तामा पनि
गाउँका सबैभन्दा वृद्ध ज्वाइँ रामप्रसादको उमेर ७८ वर्ष पुगेको छ । उनी ४५ वर्ष पहिले ससुराली आएर बसेका थिए । हाल उनीका नयाँ ज्वाई अवधेश पनि आफ्नी पत्नीका साथ यही बसिरहेका छन् । घरज्वाइँ बस्ने क्रम तेस्रो पुस्तामा शुरू भएको छ । जसवापुर गजनेरबाट ससुराली आएर बसेका अंगनू यो दुनियाँमा छैनन् । तर, उनका छोरा रामदासका ज्वाइँ अवधेश तीन वर्षदेखि ससुरालीमा बसिरहेका छन् ।