
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताएका छन् । बीमा समितिले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबिन गरी टुंगोमा पु¥याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए ।
बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले भने, ‘बीमा समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानूनविपरीतका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोसिस गरिरहेको छ । करोडौंको बीमा लेखमा अवैध लगानी भई वित्तीय अपराधसमेत हुनसक्ने आशंका भएकाले त्यसमा पनि समितिले निगरानी गरिरहेको छ ।’
व्यवसायको विस्तारसँगै बढ्ने अपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न नसक्ने सिलवालले बताए । ‘अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा पठाउनुपर्ने बेला आएको छ । प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिबद्ध छ’, उनले भने ।
बीमा व्यवसाय अब एकाङ्कीरूपमा चल्न नसक्ने अध्यक्ष सिलवालको भनाइ छ । उनले फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्ने बताए । ‘जोखिमाङ्कनमा समस्या छ । फाइदाका लागि नीति, नियम र निर्देशिकालाई तोडमोड गर्ने गरिएको पाइन्छ’, अध्यक्ष सिलवालले भने, ‘जीवन तथा निर्जीवन बीमामा कहाँ–कहाँ कमी कमजोेरी छन्, बीमा समितिले बुझेको छ र सोहीअनुसार अनुसन्धान र कारबाही अगाडि बढाएको छ । यसमा प्रहरीको पनि सहयोग आवश्यक छ । बीमा व्यवसायमा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि नवीनतम औजार एवं उपकरणको विकास तथा प्रयोगमा बीमा कम्पनीहरूले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ ।’
बीमा समितिका निर्देशक दिनेशकुमार लालले बीमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिँदै गएको र दाबी भुक्तानीमा समस्या देखिएको बताए । उनले जालसाजी तथा ठगीका घटनाहरूसमेत देखिन थालेकाले यस्ता समस्याहरूका बारेमा छलफल गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बीमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताइन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिनेश आचार्यले बीमामा हुने अपराध तथा ठगीलगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बीमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता औँल्याए ।