३१ असार २०८३, बुधबार

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरू गरेर सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए ।

सीईओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा उनले चाल आ.व. फाल्कन इयर २०७९/८० र कम्पनीको कर्पोरेट भिडियोहरूको अनावरण गरेका थिए ।

कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्‍याएका दुई जना अभिकर्तालाई जनही एक लाख रुपैयाँसहित विशेष सम्मान गरेको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको बोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको हो ।

कोभिड १९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरूको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरूलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरूलाई शिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । 

सम्मानितहरूमध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरूलाई नगदसहित सम्मान गरिएको थियो । प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे । 

कार्यक्रमको उद्घाटन सत्रलगत्तै बैंकर तथा मोटिभेसन स्पीकर अनिलकेशरी शाहले कार्यक्रममा उपस्थित सबैलाई मोटिभेसन स्पीच प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो कामप्रति उत्साहित बनाएका थिए ।

कार्यक्रममा सहभागीहरूमध्ये मदन भट्ट, देवीप्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा, सहभागीहरूमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा कम्पनीका नेशनल सेल्स हेड उमापति पोखरेल, वरिष्ठ सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनी, स्ट्राटेजी हेड अमित कयाल, कम्पनी सचिव विनोद भुजेल, प्रबन्धक सुनिता पोखरेल, जोन प्रमुखहरू र रिजनल प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्