१० साउन २०८३, आइतबार

नेपाल पे क्यूआर मार्फत मासिक डेढ करोडको भुक्तानी कारोबार

नेपाल पे क्यूआर मार्फत मासिक डेढ करोडको भुक्तानी कारोबार

गत असार तथा साउन महिनामा नेपाल पे क्यूआरको प्रतिमहिना कारोबार लगभग रु. १ करोड ५० लाख पुगेको छ । विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरूमार्फत नेपाल पे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरूलाई इन्रोल गर्ने कार्यको पनि थालनी भइसकेको छ ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एपमार्फत नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । उक्त सुविधा हाल एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनआईसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलकोम प्रालि गरी ११ वटा मोबाइल बैंकिङ एप, एक वालेट तथा कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ । नेशनल पेमेन्ट स्वीचअन्तर्गत उक्त सेवा सुचारु गर्न ५२ बैंक, वित्तीय संस्था र १३ भुक्तानी सेवाप्रदायकले सम्झौता गरिसकेका छन् ।

साथै नेपाल पे क्यूआरको पूर्वाधारमा विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले आफ्नो विभिन्न व्यावसायिक संस्थाहरूलाई मर्चेन्टको रूपमा आबद्ध गरी क्यूआर मार्फत भुक्तानी प्राप्त गर्ने सेवाको पनि थालनी गरिसकेको छ । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडेर अथवा एण्ड्रोइड पीओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा उपलब्ध गरिएको छ । 

व्यावसायिक संस्थाहरूले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्न एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, समृद्धि फाइनान्स लगायत फोकसवान सोलुसन्सलाई सम्पर्क गर्न सक्दछन् भने अन्य बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवाप्रदायक पनि थपिने क्रममा रहेका छन् । 

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । 

नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपाल पे क्यूआर थप गरिएको छ । जसअन्तर्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्