मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
प्रदीप गिरी अर्थात् समकालीन बौद्धिक शिखर हाम्रो माझ रहुनभएन । इतिहासमा यदाकदा केही त्यस्ता अद्भुत र बेजोड चरित्रहरू पैदा हुन्छन् जसको समकक्षी वा तुलनायोग्य पात्र फेला पार्न गाह्रो हुन्छ ।
उसका आनीबानी, क्षमता, जीवनशैली र सम्पूर्ण जीवनचरित्र लोकजीवनको औसत चरित्रसँग मेल खाँदैन । जीवनका प्रथमिकता र कार्यसूची बिल्कुल भिन्न र अनौठा हुन्छन् । सामान्य गृहस्थले उसलाई फकिर या जोगी ठान्छन् भने वास्तविक जोगीले लौकिक मान्छे भन्छन् । घरपरिवार भएर पनि बेघर जस्तो र सन्यासीजस्तो देखिए पनि पूर्ण सामाजिक हुन्छन् ।
प्रदीप गिरी नेपाली समाजमा पैदा भएको त्यस्तो दुर्लभ पात्र हो, जसको समकक्षता समकालीन नेपाली राजनीतिमा पाइँदैन । यस्तो पहिचान र उचाइ उहाँ स्वयंले लामो साधनाबाट बनाउनुभएको थियो । उहाँको अथक र अविश्रान्त यात्राको निष्कर्षमा एउटा त्यस्तो मानक खडा भयो, जसलाई निर्माण गर्न जोकोहीलाई निकै हम्मेहम्मे पर्छ, या त सम्भव नै हुँदैन । एउटा प्राज्ञिक उचाइ र बौद्धिक क्षमता जसलाई नाप्न, जोख्न र आँक्न असाध्य मुश्किल हुन्छ ।
सम्भवतः उहाँको जन्मयता अर्थात् विक्रम सम्बत २००२ पछि जन्मिएका कुनै पनि नेपालीले उहाँको जस्तो सादगी र बौद्धिक उचाइ भेटाउन सक्दैनन् । सबैभन्दा बढी त उहाँमा भएको ज्ञान र चिन्तनलाई अभिव्यक्त गर्नसक्ने कलात्मक कौशल प्रमुख हो । उहाँले जानेजति जान्ने अरू पनि हुन सक्लान् तर त्यसलाई सुरुचिपूर्ण रूपमा पस्कने कला भएका अरू भेटिएनन् ।
उहाँको जादुमय आवाजमा मिसिएको सम्मोहनकारी शक्ति र विलक्षण क्षमता जो कसैमा पाइँदैन ।
कहिलेकाहीँ सुन्नु नपरे हुन्थ्यो भन्ने समाचार बाध्य भएर सुन्न पर्दा असाध्य दिक्क लाग्छ । अझै केही वर्ष संगत गर्न पाए हुन्थ्यो भन्ने लाग्दा लाग्दै वियोग सहनुपर्छ । घटनाले यति उद्वेलित बनाउँछ कि सम्मुख पुग्न समेत आँट आउँदैन । अचानक मुटुको धड्कन बढ्छ, आँखा रसाउँछन् । धर्ती भासिएजस्तो, आकाश खसेजस्तो लाग्छ । गत भाद्र ४ गते नेपाली समाजका यस्ता अमूल्य निधि प्रदीप गिरीले हामी सबैलाई छाडेर जानुभयो । राणा शासनको उत्तरार्द्धमा नेपाली धर्तीमा पैदा भएको एउटा ओजस्वी र मेधावी प्रतिभाको देह भौतिक रूपमा भस्मिभूत भयो ।
यस्तो आँखै अगाडिको सत्यलाई पनि पत्याउन निकै गाह्रो पर्ने रहेछ । प्रदीप दाइले यति चाँडै छाडेर जानुहोला भन्ने लागेकै थिएन । सानेपा कार्यालयको प्राङ्गण पुगेर उहाँको पार्थिव शरीरमा फूल चढाउनु पर्ला र शोक पुस्तिकामा श्रद्धाञ्जली लेख्नुपर्ला भन्ने सोचिएकै थिएन । सुरक्षाकर्मीले धेरैबेर उभिन दिएन, अन्तिम दर्शन गर्ने धित नमरी फर्कनुपर्यो ।
भारतीय राजनीतिको साङ्गोपाङ्गो जानकारी उहाँमा थियो । उहाँको भाषणमा गान्धी र मार्क्स हम्मेसी छुट्दैनथे । तर उहाँको मार्क्स बारेको दृष्टिकोणसँग पंक्तिकार कहिल्यै सहमत भएन । आचार्य कृपलानी, नरेन्द्र देव, विनोवा भावे, नेहरुजी, रोजा, लेनिन, ट्राटस्की उहाँका अभिव्यक्तिहरूमा बारम्बार आइरहने नाम हुन् । लेनिनबारे त पुस्तक नै लेख्नुभयो । यति मात्र होइन, उहाँमा विश्व राजनीतिको विशद ज्ञान थियो ।
अब्राहम लिंकन हुन् या चर्चिल अथवा माओत्सेतुङ, बेलाबेलामा चर्चा गरिरहनुहुन्थ्यो । एकपटक उहाँले बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको प्रसंग ल्याउँदै भन्नुभएको थियो- साथीहरू, थ्याचरलाई युरोपेली राजनीतिले महान बनाइदिएको हो, नत्र उनी सामान्य प्रधानमन्त्री हुन् । त्यसपछि उहाँ युरोपका राजनीतिक उतारचढावबारे चर्चा गर्न लाग्नुभयो । घटना, पात्र, तिथि मिति र परिणामलाई कथात्मक र कलात्मक शैलीमा बताउनसक्ने उहाँको क्षमता बेजोड थियो । सुन्न बस्दा समय बितेको पत्तै नहुने । त्यस्तै, अर्को कार्यक्रममा रोनाल्ड रेगनका किस्सा सुनाउनुभएको थियो ।
उहाँको कुरा सुन्दा लाग्थ्यो, सबैसँग उहाँको अन्तरंग सम्बन्ध थियो । यता भारतका प्रसंगहरूको त उहाँ प्राधिकार नै हुनुहुन्थ्यो । हुन पनि भौगोलिक, सांस्कृतिक, सामाजिक र धार्मिक रूपमा अन्योन्याश्रित नेपाल/भारत सम्बन्धको ऐतिहासिक आयाम नबुझी नेपालमा राजनीति गर्न कठिन छ, भनिन्छ । प्रदीप दाइले नेपाली समाजमा यसको महत्त्व दर्शाइरहनुहुन्थ्यो । उहाँ कसैको कारिन्दा बन्नुभएन, कसैको आज्ञाकारी होइन । बाँचुञ्जेल आफ्नै मर्जीको मालिक हुनुभयो । उहाँले अक्सर उद्धृत गर्ने लोहिया, जयप्रकाश जोसँग उहाँको प्रगाढ सम्बन्ध थियो । त्यस्ता नेताहरूका बारेमा थप जान्ने उत्सुकता समेत जगाउनुभएको हो ।
कतिपय पात्र बाँचुञ्जेल यतिसम्म कि ऊ सम्बद्ध संस्था समेतका आँखाका कसिंगर जस्ता हुन्छन् तर मरणोपरान्त अनमोल मणिका रूपमा महिमा मण्डित गरिन्छन् । प्रदीप दाइ समेत यस्तो नियमित आकस्मिकताको अपवाद हुनुभएन, सधैंभरी शिकार हुनुभयो । उहाँमा अनगिन्ती कमजोरी नभएका होइनन् । बीपीका बारेमा समेत उहाँका आलोचनात्मक टिप्पणी स्वयं हामीले सुनेका छौं ।
कोइराला परिवारको आलोचकको रुपमा उहाँको छवि निर्माण भयो । तर गिरी स्वयं पनि आलोचनामुक्त हुनुहुन्थेन । उहाँ जत्तिको गतिलो मान्छेका बारेमा धेरैथरी टिकाटिप्पणी नआएका होइनन् । तथापि उहाँको योगदानले नेपालको लोकतान्त्रिक आन्दोलन प्रज्ज्वलित छ । किन्तु नेपाली समाजका सचेत जमातलाई एउटै आग्रह छ, बाँचुञ्जेल यथोचित सम्मान नगरेर मरेपछि गोहीको आँशु नबगाउनु उत्तम हुन्छ । यो कुरा सबैको हकमा लागू हुन्छ । पंक्तिकार स्वयं चाहन्छ, मरेपछि दशथरी पदावलीबाट सुशोभित नगरियोस् ।
हामी सबैले बुझ्नुपर्छ, व्यवस्थापन र मार्गचित्र समाज विकासको सूत्र हो । दुःखका साथ भन्नुपर्छ, प्रदीप दाइले समाजवाद भट्याए पनि सूत्र दिएनन् । पंक्तिकारको उहाँसँग यसै विषयमा मतभेद थियो र बारम्बार भइरह्यो । उहाँलाई अबको बाटोबारे बोल्न र लेख्न भन्ने यही पंक्तिकार थियो । उहाँले शास्त्र फलाक्न छाड्नुभएन, न सूत्र न मार्गचित्र बताउनुभयो । तथापि उहाँ प्रेरणा पुञ्ज हुनुहुन्थ्यो, जसलाई समातेर अघि बढ्न सकिन्थ्यो ।
यसको अर्थ उहाँ आफू मोक्षप्राप्तिको दिशामा अघि बढ्नु भयो । सारा दुनियाँको मोक्ष प्राप्तिलाई अठोटको रूपमा ध्यान दिनुभएन । उहाँले बुद्ध धर्मका दुई सम्प्रदायमध्ये आफ्नो मोक्ष चाहने एउटाको पक्षधरता लिएझैं भयो । जेसुकै भएपनि उहाँ लोकतन्त्रको एउटा अभेद्य स्तम्भ हुनुहुन्थ्यो, जसलाई ढाल्न कसैले आँट गरेन ।
बहुदल आएपछि नै उहाँको व्यक्तित्व चम्किएको हो । ०४८ मा उहाँले संसदको टिकट पाउनुभएन । ०५१ सालको मध्यावधि निर्वाचन जितेर सांसद बन्नुभयो । त्यसबेलाको एउटा रमाइलो प्रसंग छ, स्वयं उहाँले बताउनुभएको । ०५१ सालमा कांग्रेसभित्र ठूलो झगडा थियो । मध्यावधि निर्वाचनमा गणेशमानजीको जनजागरण अभियानको नाममा देशैभरी उम्मेदवार उठेका थिए । यही क्रममा मोरङ क्षेत्र नं १ मा दुर्गा सुवेदी उठ्नुभएको थियो, गिरिजा बाबुका विरुद्ध । प्रदीप दाइलाई नोना आमाले दुई लाख चुनाव खर्च दिनुभएको रहेछ । उहाँले त्यही पैसा दुर्गा सुवेदीलाई पठाइदिनु भएछ, गिरिजाबाबु हराउन ।
मोरङ क्याम्पसको स्ववियु सभापति भएपछि उहाँले पंक्तिकारलाई राम्रोसँग चिन्न थाल्नुभयो र कहिले घिमिरेजी, कहिले सभापतिजी र कहिले गुरुजी भनेर बोलाउनुहुन्थ्यो ।
उहाँसँग फोनमा कुरा गरिरहन सम्भव थिएन । भेटघाटमा संक्षिप्त कुरा हुन्थे । उहाँ बोल्ने कार्यक्रम भरसक छुटाउन मन नलाग्ने । मोरङको एउटा कार्यक्रममा हाम्रो आग्रहमा उपस्थित भएर हाम्रा नेता हामीसँग रिसाउने गरी बोल्नुभयो । हामीले पर्वाह गरेनौं, हामी त उहाँका विचारको गहिरो प्रभावमा थियौं, फिदा र दिवाना थियौं ।
सामान्यतया लोकजीवनमा दिवाना बन्न के-के चाहिन्छ थाहा छैन तर हामी उहाँलाई चिनेदेखि दिवाना थियौं । नेपालमा प्रदीप दाइको पुस्ताका अरू कसैले पनि पार्टीका साथीहरूलाई यति साह्रो सम्मोहित गर्न सकेनन् । यसको तात्पर्य उहाँ कांग्रेस र लोकतन्त्रका लागि 'म्याग्नेट' र अमूल्य रत्न हुनुहुन्थ्यो । कांग्रेसले उहाँलाई भरपुर सदुपयोग गर्न सकेन या चाहेन । यो कुरा चीरकालसम्म खट्किरहने छ ।
कांग्रेसभित्र हामी वर्तमान प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पाउने योग्यता राख्दैनौं । उहाँको प्राथमिकता सूचीमा पर्ने सुयोग्य पात्रहरू अरु नै छन् । केही सुझाव दिन मन लाग्दा सार्वजनिक रुपमा भन्नुबाहेक विकल्प छैन । तसर्थ पंक्तिकार एउटा सुझाव राख्न चाहन्छ । प्रदीप गिरी स्वयं एक पाठशाला, विराट पुस्तकालय र ज्ञान केन्द्र हुनुहुन्थ्यो । उहाँको नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान छ ।
प्रश्न उठ्छ, अब के गरी उहाँको योगदानलाई चीर स्मरणीय बनाउने त? मेरो सुझाव छ, सरकारले प्रदीप गिरी अध्ययन केन्द्र खोलोस्, जहाँ नयाँ पुस्ताका तरुणहरूलाई लोकतन्त्र पढाइयोस् । यसका विश्वव्यापी आयामहरू र एउटा सच्चा लोकतन्त्रवादी हुन आवश्यक सद्गुण, त्यसका आचार र व्यवहारको शिक्षा दिइयोस् ।
एउटा त्यस्तो एकेडेमी जहाँको कोर्स पूरा गरेपछि सच्चा लोकतान्त्रिक चरित्र निर्माण होस् । समाजवाद बुझ्न चाहनेहरूको एउटा त्यस्तो प्रतिष्ठान, जसले आफ्नो ज्ञानको अधुरोपनलाई पूर्णता दिन सकोस् । यसले संसारको ध्यान खिचोस् र "योग्यतन्त्र" अर्थात् मेरिटोक्रेसीलाई प्रबर्द्धन गरोस् । यसको विस्तृत परियोजना प्रस्ताव मागिएमा तयार गर्न सकिन्छ । भारी मनले भावपूर्ण श्रद्धाञ्जली प्रदीप दाइ !
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...