
पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँट आइतवार सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६०८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५०४ बाहेक बाँकी रहेका योग्य आवेदनहरू १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ लाख २९ हजार ४६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार ६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२ लाख ९४ हजार ६८२ कित्ता शेयर बाँडफाँट गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म सार्वजनिक निस्कासन खुला गरिएको थियो । निस्कासन गरिएको कूल शेयर २४ लाख ६७ हजार ४०० कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख २३ हजार ३७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३४८ कित्त छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो । त्यसमध्ये निस्कासनको करिब ७.३७ गुणा आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।