२५ असार २०८३, बिहीबार

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले प्रतिवेदन विमोचन गरेका थिए ।

प्रतिवेदनमा आगामी दिनमा सबै निकायले नीतिगत र व्यवहारिक रूपमै कृषिलाई प्राथमिकता दिनुपर्ने, बजेटलाई प्राथमिकताको आधारमा एकद्वार प्रणालीबाट परिचालन गरिनुपर्ने र कृषि कर्जा तथा अनुदान जस्ता कार्यक्रमलाई वैज्ञानिक, सहज सरल, व्यावहारिक र परिणाममुखी बनाउन सरकारदेखि किसानसम्मको लक्ष्य एउटै हुनुपर्ने निष्कर्ष रहेको छ ।

यसका साथै समग्र कृषि रुपान्तरणका लागि कृषिमा राज्यले दिने सेवा सुविधा सर्वसाधरणलाई स्थलमै जानकारी गराउन स्थानीय सरकारमार्फत जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, अनुसन्धानमा कृषकलाई पनि सहभागी गराउँदा राम्रो हुने, विषयगत सहकारीको क्षमता विकास गरिनुपर्ने प्रत्येक स्थानीय तहमा भण्डारण, यान्त्रिकरण, उपजको सहज खपत व्यवस्थापन समेत अत्यावश्यक रहेको निष्कर्ष पनि प्रतिवेदनको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. शर्माले कृषि कर्जाको कुरा गर्दा त्यसको एउटा मात्रै नभई बहुआयामिक पाटो हेर्नुपर्ने बताए । कृषिमा गरिने श्रम, पुँजी र त्यसले ओगट्ने जमिनको प्रतिफल अन्य क्षेत्रको तुलनामा कम रहेको धारणा उनको थियो । उनले साधारण कृषकसम्म कृषि कर्जाको पहुँच पु¥याउन कृषिलगानी मैत्री नीति र कृषि लगानीको लागि दीर्घकालीन स्रोतको व्यवस्था अत्यावश्यक रहेकोे औंल्याएका थिए । 

‘कृषि र बैंक दुबैको दिगोपन र सकेसम्म सहुलितपूर्ण कर्जा प्रवाह गर्ने नीति राष्ट्र बैंकले लिएको छ । तर त्यसमा जाने पैसा निक्षेपकर्ताको हो भन्ने कुरालाई वित्तिय संस्थाले होस पुर्‍याउनु पर्छ’, कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उप निर्देशक आश बहादुर थापाले भने । उनका अनुसार अहिले कृषिमा दश खर्ब रुपैयाँको माग रहेको र पुग नपुग एक खर्ब मात्र प्रवाह भएको छ ।

कृषि तथा सहकारी मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले विगतको तुलनामा कृषि कर्जाको प्रभावकारिता बढेर आएको बताए । कार्यक्रमका सभापति सुनिता न्हेमाफूकीले बैंकले विगतमा अन्य क्षेत्रका व्यवसायीलाई प्रेरित गरे जस्तै अब कृषि क्षेत्रमा उत्प्रेरकको भूमिका खेल्ने समय आएको बताए । 

कार्यक्रममा कृषि कर्जाबारे विज्ञहरुबीचको छलफलमा बोल्दै नबिल बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजित शाक्यले आधारभूत तहमा बैंक नपुगेको स्थिति महसुस गरेपछि नबिल बैंकले तल्लो तहमा बैंक लैजाने गरी दिगो बैंकिङ शुरु गरेको जानकारी दिए । यस अन्तर्गत देशका दुर्गम स्थानमा शाखा विस्तार, कृषि उद्यमशीलता तालिम चलाइरहेको समेत उनले जानकारी दिए । 

नबिल बैंकको प्रायोजनमा आर एण्ड डी. इनोभेटिभ सोलुसनले कृषि कर्जा मेला कार्यशाला सम्बन्धी प्रतिवेदन विमोचन तथा कृषि कर्जा प्रवाहमा आगामी कार्यदिशा विषयक छलफल कार्यक्रम आयोजना गरेको थियो । गत वर्षको चैतमा चितवनमा आयोजकले कृषि कर्जा मेला आयोजना गरेको थियो ।  

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन ‘नबिल दिगो बैंकिङ’ शुरुवात गरेको हो । १७ वटा शाखाबाट शुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्