०५ असार २०८३, शुक्रबार

हेटौंडामा पनि अनधिकृत संरचनामा डोजर चल्ने, ३५ दिने सूचना निकाल्ने तयारी

भदौ १५, २०७९
हेटौंडामा पनि अनधिकृत संरचनामा डोजर चल्ने, ३५ दिने सूचना निकाल्ने तयारी

हेटौंडा उपमहानगरपालिका  क्षेत्रमा अतिक्रमण र मापदण्डविपरीत बनेका संरचना हटाउन कार्यदल गठन भएको छ ।

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्पूर्ण वडामा नियमविपरीत निर्माण भएका संरचना मूल्यांकन र अनुगमनका लागि हेटौंडा– १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो ।

बैठकले संरचनाहरू हटाउनका लागि ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने जनाएको छ ।

कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेका अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगरप्रमुख लामाले बताइन् । राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्डविपरीत निर्माण भएका संरचनाको मूल्यांकन गर्ने र हटाउने उनले जानकारी दिइन् ।

नगर क्षेत्रमा नक्सा पास नभई बनेका सानाठूला टहराहरू स्वस्फूर्त रूपमा हटाउन ३५ दिने सूचना प्रकाशन गरेसँगै कार्यदलले काम शुरू गर्ने महानगरले जनाएको छ ।

नगर प्रमुख लामाका अनुसार सूचना प्रकाशनपछि त्यस्ता संरचना नहटाएमा उपमहानगरले उपकरण प्रयोग गरी हटाउने तयारी छ ।

'हामी सुन्दर शहर निर्माणको अभियानमा छौं । अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजारको सुन्दरतामा कमी ल्याएको र कानूनविपरीत रहेकाले हटाउने तयारी थालेका हौं,' उनले भनिन् ।

कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा-१ बाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य ईश्वरी रसाइली, हेटौंडा- २ का  सुरज बर्तौला, हेटौंडा- ४ का जेएन श्रेष्ठ र सरोकारवाला निकाय मकवानपुर उद्योग वाणिज्य संघका एक सदस्य रहनेछन् ।

बैठकले हेटौंडा-१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा– १ मा सार्ने निर्णय पनि गरेको छ ।

बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनल निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा- १ को राप्ती कोरिडोर क्षेत्रमा तरकारी बजार सार्ने निणर्य गरेको नगरप्रमुख लामाले जानकारी दिइन् ।

यस्तै  उपमहानगरको कार्यपालिका बैठकले गत साउनमा  हेटौंडामा भएको नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको खर्च स्वरूप १० लाख रुपैयाँ सहयोग रकम दिने निर्णय पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्