
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा धर्ना दिएको छ । अखिल क्रान्तिकारीले त्रिवि बचाउँ आन्दोलन घोषणा गर्दै बिहीवार उपकुलपतिको कार्यालय किर्तिपुरमा धर्ना दिएको हो ।
केन्द्रीय समितिको निर्देशनअनुसार क्याम्पस समितिको अगुवाइमा त्रिवि बचाउँ एवं धर्ना कार्यक्रम गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीले त्रिविमा राजनैतिक भागबण्डाका आधारमा हुने नियुक्ति खारेज गर्नुपर्ने, शैक्षिक क्यालेण्डर सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, प्रश्नपत्रमा देखिएको लापरबाही अन्त्य गर्नुपर्ने लगायतका माग राखेको छ ।
अर्को सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले लामो समयदेखि त्रिविमा तालाबन्दी गरिरहेको छ । यता एमालेनिकट अनेरास्ववियुले पनि विश्वविद्यालय सुधारको माग राख्दै आन्दोलन गरिरहेको छ ।
राजनीतिक हस्तक्षेप र खिचातानीका कारण देशकै सबैभन्दा पुरानो विश्वविद्यालयको अवस्था दयनीय बनेको सरोकारवालाहरूले बताउने गरेका छन् ।